स्वकीय सचिवमा आफ्नै छोरा भर्ना गर्ने रामजी घिमिरे
अर्घाखाँची – अर्घाखाँची प्रदेश निर्वाचन क्षेत्र नं. १(२)बाट निर्वाचित रामजी घिमिरे प्रसाद घिमिरेले भाषणमा जति सुशासन र पारदर्शीताका कुरा गरेपनि व्यवहारमा ठिक उल्टो भेटिएका छन् । निर्वाचन जित्न जनता, पार्टीका नेता तथा कार्यकर्ताको साथ चाहिने तर, जितिसकेपछी आफ्नै सन्तान प्यारो लाग्ने गरेको भेटिएको छ । लाभको पदमा उनले कुनै पार्टीका कार्यकर्ता होइन, आफ्नै सन्तानलाई अगाडी सार्ने गरेको प्रदेश सभाको एक दस्तावेजले छर्लङ्ग पारेको छ ।
कुरा हो घिमिरेको स्वकीय सचिवको । लुम्बिनी प्रदेशसभाको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ अनुसार सांसदका स्वकीय सचिवले नायब सुब्बाको बराबरको ३४ हजार ७७० रुपैयाँ तलब पाउँछन् । स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेको सूचीमा घिमिरेको नाम अगाडी छ । अघिल्लो कार्यकालमा पनि घिमिरेले आफ्नी छोरी रुसमा घिमिरेलाई स्वकीय सचिव बनाएका थिए ।
सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । निर्वाचनका बेला कार्यकर्ताको विश्वास राख्ने नेताहरुले नै यति महत्वपूर्ण जिम्मेवारीका लागि सांसदले परिवारका सदस्यलाई मात्र उपयुक्त मानेर नियुक्ति दिएका छन् ।
लुम्बिनी प्रदेशका सांसदले श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज, काका , बहिनीलाई स्वकीय सचिव बनाएर नायब शुब्बास्तरको तलब राज्य कोषबाट खुवाइसकेका छन् । उनै रामजीप्रसाद घिमिरेले स्वकीय सचिवको रुपमा आफ्ना छोरा शिसिर घिमिरेलाई नियुक्त गरेका छन् ।
यति मात्र होइन, उनि भौतिक पूर्वाधार तथा विकास समितिको सभापती हुन । घिमिरे चढ्ने बि एए १३०६ नम्बरको गाडी मर्मत गर्दा गत आर्थिक बर्षमा ५ लाख ३७ हजार ६३२ रुपैयाँ खर्च भएको छ ।