



काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।

चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।

सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।
आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्र कहिले रिलिज गर्ने त्यो पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन् ।
केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।



