



काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा बलरले गुग्ली फ्याँक्दैछन् । त्यही मैदान बाहिर खुद्रा व्यापारीहरूले कमाइको छक्का हानिरहेका छन् । मंसिर १ गतेबाट शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले स्टेडियम वरपरको सडकलाई सानो बजारमा परिणत गरिदिएको छ ।

एकातिर दर्शकको हुटिङ, अर्कोतिर चिया–चाउचाउ, मःम, क्लवका स्टिकर र जर्सीको होटमा व्यापारीहरू रमाइरहेका छन् । यस वर्ष आफूले मःम बेचिरहेको बताउँदै व्यापारी सापकोटाले दिनमा ४० प्लेटसम्म विक्री हुने गरेको बताउनु भयो । आफू सन्दीप लामिछानेको फ्यान भएकाले मःम स्टलको नाम नै गुग्ली मःम राखेको सुनाउनु भयो ।

“दिनमा ३०–४० प्लेट मःम बिक्छ, सन्दीप लामिछानेको फ्यान भएकाले स्टलको नाम नै ‘गुग्ली मःम’ राखेको छु”सापकोटा भन्नुहुन्छ ।
उहाँ जस्तै राजन शाक्यले क्लवका स्टिकर, झण्डा, क्याप, मास्क लगायत ६–७ प्रकारका सामान बेचिरहनुभएको छ ।
“दिनमा ३ हजारदेखि १० हजारसम्म कमाइ भइरहेको छ,” उहाँ भन्नुहुन्छ, “गत वर्षभन्दा यो पटक अलि कम हुन सक्छ तर पनि राम्रै छ ।”
तर सबै व्यापारी खुशी छैनन् । १८ वर्षीय धमन धामीको भने गुनासो छ । स्टेडियमभित्रबाट दर्शक निस्किन नपाउने कारण व्यवसाय खासै हुन नसकेको बताउनु हुन्छ । उहाँले यो नियमले ठूला स्पोन्सर र व्यवसायीलाई फाइदा पुग्ने तर साना खुद्रा व्यापारीमाथि भेदभाव हुने बताउनु भयो ।

उहाँ भन्नुहुन्छ— “स्टेडियमभित्र दर्शकले खेल अवधिभर बस्नैपर्ने नियम छ । एक पटक बाहिर निस्कियो भने पुनः प्रवेश गर्न पाइँदैन । यसले हाम्रो व्यापार चौपट भएको छ ।”
एनपिएल शुरु भएको पहिलो तीन दिन त प्रशासनले स्टल नै राख्न दिएन । स्टल राख्न नदिएको सम्झिँदै खुद्रा व्यवसायी रोशनी कोईरालाले समन्वयपछि राख्न दिएको र अहिले सानोतिनो व्यवसाय भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “पहिले त निकै दुःख भयो,पछि समन्वय गरेर बल्ल ठाउँ पायौँ । अहिले चिया, चाउचाउ, बिस्कुट बेच्दैछु । एनपीएलले रोजगारी त दियो, तर साना व्यापारीलाई हेर्ने दृष्टिकोण सुधार्नुपर्छ ।”
मंसिर २७ गतेसम्म चल्ने यो लिगले त्रिवि वरपरको सडकलाई २७ दिनको मेला बनाइदिएको छ । दर्शकको भीड, सवारीको जाम, मःम र चियाको बासनाः सबैले यो क्षेत्रलाई जीवन्त बनाएको छ । तर स्टेडियमभित्रको कडा नियमले बाहिरको कमाइमा ‘डट बल’ लगाइदिएको छ । खेल त भइरहेकै छ तर साना व्यापारीहरूको मनमा भने एउटै प्रश्न घुमिरहेको छ— “हामीलाई पनि मैदानभित्र खेल्न किन दिइएन ?”



