



काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारेकी छन् । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्- ‘हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन । हामी रोकिँदैनौँ ।’ निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उनले बताइन् । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरु नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको पनि उनले प्रस्ट्याइन् । उनले भनिन्- ‘हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। केन्द्रीय अनुन्धान ब्युरो छ। विगतमा ती निकायलाई प्रभावकारी रुपमा काम गर्न नदिइएको हुन सक्छ। दलीय प्रभाव परेको हुन सक्छ। हामी कुनै प्रकारको दबाब दिँदैनौँ। ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्। प्रभावकारी ढंगले चल्न सकून् । समानान्तररुपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन। मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो।’ अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनले बताइन् । उनले भनिन्- ‘तपाईँहरुले समाचारमा पढिरहनुभएकै होला। केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरुले कदम चालेका छन् ।’ नेता किराँतीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए । उनीहरुले आन्दोलनकारी जेनजीमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रुपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यदि कुनै दलले घोषित रुपमै गुण्डागर्दी गर्न संगठन खोलेर अघि बढ्छ भने जेनजीले पनि प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उनीहरुले चेतावनी दिए ।


२- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १४५ रनको लक्ष्य पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लुम्बिनीको जितमा डिआर्ची शर्टले सर्बाधिक ५७ रन बनाएका थिए भने निरोशन डिकवेलाले अविजित २९, सन्दीप जोराले २४, दिलिप नाथले १६ र सुमित महर्जनले १२ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए भने बसिर अहमदले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्बाधिक ३५ रन बनाए भने बसिर अहमदले २८, साम हीजलेटले २७, फफ डु प्लेसिसले १२, प्रतिस जिसीले ११ र मर्चेन्ट डी लांगले १० रन बनाएका थिए । त्यस्तै लुम्बिनी लायन्सका बलर शेर मल्लले सर्बाधिक ३ विकेट लिए भने जेजे स्मिट, अभिषेश गौतम र रुबेन ट्रम्पेलम्यानले एक एक विकेट लिएका थिए । यो जितपछि लुम्बिनीको ६ खेलमा ६ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । त्यस्तै लुम्बिनीले एक खेल खेल्न बाँकी रहदा प्लेअफको सम्भावना कायमै राखेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल शुक्रबार जनकपुर बोल्ट्ससँग खेल्ने तालिका रहेको छ । त्यस्तै विराटनगरको भने ६ खेलमा ८ अंक रहेको रहेको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । विराटनगरले अब अन्तिम खेलमा शनिबार सुदूरपश्चिमसँग खेल्ने तालिका रहेको छ ।
३- प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताएकी छन् । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम पनि प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि पनि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ । यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उनले ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएकी छन् । यसै विषयमा प्रधानमन्त्री कार्कीले बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका केही पूर्वजनप्रनिधिहरु तथा स्थानीय सरोकारवालासँग पनि छलफल गरेकी छन् । त्यसक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परताप्रति खुसी व्यक्त गर्दै यसलाई केवल विद्युत आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिए । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अन्य अधिकारीहरुको पनि सहभागिता थियो । १ हजार २०० मेगावाटको यस जलविद्युत आयोजनाको लागत २०७९ मा २ खर्ब ५५ अर्ब अनुमान गरिएको थियो । अब यो लागत ४ खर्ब नाघ्ने अनुमान छ । नेपाल सरकारले जग्गा अधिग्रहण गरी ४२ अर्ब रुपैयाँ स्थानीय जग्गाधनीलाई मुआब्जा पनि दिइसकेको छ । काठमाडौँ, पोखरा र चितवनजस्ता ठूला सहरको बीचमा रहेको यो आयोजना निर्माण सम्पन्न गर्न कम्तीमा ८ वर्ष लाग्ने आकलन छ ।
४- मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको आव्हान गरेका छन् । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ उपधारा २ बमोजिम शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयक निमित्त सचिव शत्रुघन यादवले जानकारी दिएका छन् । त्यस्तै प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिएको राजीनामा स्वीकृत गरेका छन् । यसअघि मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुअघि राजीनमाको घोषणा गरेका थिए । यादवलाई २४ घण्टाभित्र विश्वासको मत दिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आज विश्वासको मत लिनुअघि राजीनामा दिएका हुन् । अब सर्वोच्चको आदेश अनुसार संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढेको छ ।
५- दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी-२० सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो । टिममा भारतका टेस्ट कप्तान शुभमन गिललाई शसर्त समावेश गरिएको छ । टेस्ट खेलका क्रममा घाइते गिललाई फिटनेस रिपोर्टको आधारमा टिममा सामेल गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । त्यस्तै भारतीय टिममा एसिया कप फाइनल अघि घाइते भएका हार्दिक पाण्ड्याले पुनरागमन गरेका छन् । टी-२० सिरिज डिसेम्बर ९ बाट सुरु हुने छ भने पहिलो खेल कटकमा खेलिनेछ । त्यस्तै दोस्रो खेल डिसेम्बर ११ मा नयाँ चण्डीगढमा, तेस्रो खेल डिसेम्बर १४ मा धर्मशालामा, चौथो खेल डिसेम्बर १७ मा लखनउमा र पाँचौं खेल डिसेम्बर १९ मा अहमदाबादमा खेलिने तालिका रहेको छ । २०२६ को टी-२० विश्वकपको तयारीका लागि यो सिरिज भारतको लागि महत्त्वपूर्ण छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता फेब्रुअरी ७ मा सुरु हुनेछ । दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजका लागि भारतको टोली : सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेट), सञ्जु सैमसन (विकेट), जसप्रित बुमराह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राना र वाशिंटन सुन्दर ।
६- सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनविरुद्ध नेकपा एमालेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले संसद् विघटनको कारणसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी राष्ट्रपति कार्यालयसहितका नाममा आदेश जारी गरेको हो । साथै, संबैधानिक इजलासले यसअघि संसद् विघटनविरुद्ध अधिवक्ता डा. प्रेमराज सिलवालको रिटसँगै लगाउमा राख्न पनि आदेश गरेको छ । संवैधानिक इजलासले उक्त रिटका लागि मङ्सिर २२ गतेको पेसी तोकेको छ । विघटित प्रतिनिधि सभाको एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर ९ गते पेस गरेको रिट मङ्सिर १० गते सर्वोच्चमा दर्ता भएको थियो । एमालेले दर्ता गरेको रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएको छ । साथै रिटमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरित गैर संवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृच्छाको आदेश माग गरिएको छ ।
७- उर्जामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै घिसिङले अब जेनजी आन्दोलनलाई संस्थागत गर्न सबै लाग्नुपर्ने बताउदै जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका हुन् । उनले अब सबै वैकल्पिक शक्तिहरु एक ठाउमा आएर यो परिवर्तनलाई परिणाममा बदल्नुपर्ने धारणा राखेका छन् । परिवर्तनको अवसर आएको बेला भाग्ने हो भने परिणाम नआउने भन्दै अब सबै अघि सरेर लाग्न आव्हान गरेका छन् । मन्त्री घिसिङले अब समृद्ध हुन धेरै समय नलाग्ने भन्दै देशको समृद्धिको प्रमुख आधार सुशासन भएको बताए । उनले जेनजी आन्दोलनको प्रमुख एजेन्डा पनि सुशासन भएको बताउदै मन्त्री घिसिङले बाहिर बसेर गालि गर्दैमा परिणाम नआउने धारणा राखेका छन् । उनले परिवर्तनलाई परिणाममा बदल्न सहि व्यक्ति छानेर देशलाई अगाडी बढाउनुपर्ने बताए ।
८- भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा लगातार दोस्रो शतक बनाएका छन् । आफ्नो उत्कृष्ट फर्म देखाउदै कोहलीले दक्षिण अफ्रिकाविरुद्ध लगातार दोस्रो शतक बनाएका हुन् । बुधबार जारी दक्षिण अफ्रीकाविरुद्धको खेलमा कोहलीले ९० बलमा शतक पुरा गरेका थिए भने ९३ बलमा १०२ रन बनाएर आउट भएका छन् । यो कोहलीको ५३औं एकदिवसीय शतक हो र समग्रमा उनको ८४औं शतक हो । कोहलीले एकदिवसीय शतकको हिसाबले सबैलाई उछिनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने रेकर्ड सचिन तेन्दुलकरको नाममा छ, जसले १०० शतक बनाएका छन् । केही समयदेखि, २०२७ को एकदिवसीय विश्वकपमा कोहलीको सहभागिताको बारेमा निरन्तर छलफल भइरहेको छ । यद्यपि, कोहलीको हालको फर्मले यस विश्वव्यापी प्रतियोगिताको लागि उनको दाबीलाई बलियो बनाएको छ । कोहली अब भारतको लागि एकदिवसीय ढाँचामा मात्र खेल्ने बताएका छन् । यस खेलमा भारतका अर्का ब्याट्सम्यान ऋतुराज गायकवाडले पनि शतक बनाएका छन् । गायकवाडले १०५ रन बनाएर आउट भएका छन् ।
९- नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से १३.५२ अंकले घटेर २६३१. १७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका एक करोड ८ लाख ७३ हजार ३७२ कित्ता शेयर ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, उत्पादन र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सागर डिस्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको भने स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी साम्लिंग पावरको शेयर २.८५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी बन्दीपुर केवलकारको १८ करोड ४९ लाख कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको १७ करोड ८१ लाखको कारोबार भएको छ ।
१०- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । शर्माले राजीनामा पत्रमा लेखेका छन्- ‘उपरोक्त सम्बन्धमा म, राजकुमार शर्मा, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’ प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएपछि माओवादी केन्द्रको संसदीय दलको नेताबाट राजीनामा दिएको बुझिएको छ ।
११- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीलाई बुधबार पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितताको आरोपमा अधिकारीलाई पक्राउ गरिएको छ । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको उजुरी परेपछि छानबिन शुरु भएको थियो ।
१२- नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थमन्त्री रामेश्वर खनालको समुपस्थतिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब ३१.७६ अर्ब ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा विपि राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोट्समा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् । त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री रामेश्वर खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । जापानी राजदुत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरेका थिए । त्यस्तै अर्थमन्त्री खनालले नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
१३- जिल्ला प्रशासन कार्यालय, मकवानपुरले हेटौडाको बजार क्षेत्रमा सडक विस्तार हुने भएकाले मङ्सिर २० गतेसम्म सडकमा पर्ने घरहरु खाली गर्न सूचना जारी गरेको छ । प्रशासनले सडक विस्तार कार्यमा केही व्यक्तिहरुले धाक धम्की दिने, जवरजस्ती पसल बन्द गराउने एवं सार्वजनिक विकास निर्माणको यस कानुन सम्मत कार्यलाई अवरोध पुयाउने गतिविधिप्रति गम्भिर ध्यानाकर्षण भएको बताउदै त्यस्तो किसिमको गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको र सडक डिभिजन कार्यालयको यस अभियानमा कानुन विपरीत कार्य नगर्न नगराउन सचेत गराएको छ । प्रशासनले भनेको छ: अत्यन्त जरुरी सूचना !!! सडक डिभिजन कार्यालय मकवानपुरको मिति २०८२/०८/०५ को सूचना अनुशार हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि सबै तयारीहरु पूरा भै सकेको अवस्था छ । सरोकारवालाहरुको उत्साहजनक सहभागीतामा अघि बढेको यस अभियानमा सबै हेटौँडा बासीको सहयोग भै रहेको व्यहोरा हामीलाई जानकारी छ । विशेष गरी व्यवसायी महानुभावहरुले मिति २०८२/०८/२० अगाडी नै आफ्ना पसलहरु अन्यत्र सार्ने, भएका सामाग्रीलाई सेल लगायतका अफरबाट बेच्ने तथा सडक विस्तार कार्यमा सहयोग गरिरहेको अवस्था समेत देखिएको एवं व्यवसायीका ति सकारात्मक क्रियाकलाप लाई केही व्यक्तिहरुले धाक धम्की दीने, जवरजस्ती पसल बन्द गराउने एवं सार्वजनिक विकास निर्माणको यस कानुन सम्मत कार्यलाई अवरोध पुयाउने गतिविधि प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भै त्यस्तो किसिमको गतिविधि गर्ने ति व्यक्तिहरु प्रति पूर्ण सचेत रहेको व्यहोरा अवगत गराउँदै सडक डिभिजन कार्यालको यस अभियानमा कानुन विपरीत कार्य नगर्न नगराउन पुनः अनुरोध गरिन्छ । यदि कानुन बर्खिलाप कोही कसैले यस्ता गतिविधि गरेमा कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।
१४- गुण एयरलाइन्सका संचालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । शाक्यलाई बुधबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् । सिआईबीले प्रभु बैंकबाट प्रवाह गरिएको कर्जाको दुरुपयोग गर्ने कार्यमा संलग्न भएको भन्दै शाक्यलाई पर्काउ गरेको जानकारी दिएको छ । यसअघि सिआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून बिपरित कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गराएको आरोपमा पक्राउ गरिएको र यो विषय हाल अनुसन्धानको क्रममा रहेको सिआईबी जानकारी दिएको छ ।
१५- रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग अमेरिकी विशेष दूत स्टीव विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुशनरले युक्रेन युद्धका विषयमा पाँच घण्टा लामो बैछलफल गरेका छन् । लामो बैठकको बावजुद, दुवै पक्ष सहमतिमा पुग्न भने असफल भएका छन् । पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले वार्ता फलदायी भएको बताउदै कुनै पनि सहमतिमा भने नपुगेको जानकारी दिएका छन् । छलफलका क्रममा पुटिनले युक्रेनले डोनबास क्षेत्र रूसलाई हस्तान्तरण नगरेसम्म कुनै सम्झौता नहुने स्पष्ट गरेका छन् । उशाकोभले पुटिनले अमेरिकी शान्ति प्रस्तावका केही भागहरूसँग सहमत भएको तर धेरै अन्य बुँदाहरूमा स्पष्ट रूपमा अस्वीकृति व्यक्त गरेको बताए । उशाकोभले पुटिन र ट्रम्पबीच कुनै नयाँ बैठक हाल तय नभएको र भविष्यको कार्यदिशा शान्ति योजना कसरी विकास हुन्छ भन्ने कुरामा निर्भर हुने प्रतिक्रिया दिएका छन् । यी वार्ताहरू चलिरहेको बेला, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेन अमेरिकी प्रतिनिधिमण्डलबाट संकेतको पर्खाइमा रहेको बताएका छन् । उनले वार्ता पछि, अमेरिकी अधिकारीहरूले युक्रेनलाई सिधै जानकारी दिने र त्यसपछि मात्र युक्रेनले आफ्नो अर्को कदम चाल्ने उल्लेख गरेका छन् । युक्रेनी अधिकारीले उनीहरूलाई पहिले नै पुटिनको अडानको बारेमा जानकारी रहेको र केही बुँदाहरूमा सहमत हुने र अरूमा कडा आपत्ति जनाउने बारे आफुहरु जानकार रहेको टिप्पणी गरेका छन् ।बैठकको ठीक अगाडि, पुटिनले युरोपलाई अमेरिकी शान्ति योजनामा परिवर्तनहरू गरेको आरोप लगाएका थिए । पुटिनले रूसले युद्ध नचाहने तर युरोपले युद्ध सुरु गर्न चाहेमा आफुहरु तयार रहेको चेतावनी दिएका थिए ।
१६- ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी आयोजना गरिएको छ । खुलामञ्चबाट सुरु भएको प्रभातफेरी भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रभातफेरीमा अपाङ्गता भएका व्यक्तिमाथिको विभेद अन्त्य गरौँ, राज्यका निकाय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना उनीहरूको सहज रूपमा पहुँचको स्थापना गरौँ भन्ने नारासहितका प्लेकार्ड लिएर सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटका प्रतिनिधिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । प्रभातफेरीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहभागिता जनाउदै सानो कदमले पनि समावेशी भविष्यका ठूलो मार्ग खोल्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए । यस बर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा ‘सामाजिक प्रगतिलाई अगाडि बढाउन अपाङ्गता समावेशी समाजहरूलाई प्रवर्द्धन गर्ने’ भन्ने रहेको छ । यस विषयवस्तुको अर्थ समाजलाई न्यायपूर्ण बनाउन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सम्मान गर्न हामी सबै मिलेर काम गर्नु आवश्यक रहेको छ भन्ने हो । संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ५४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर ३६५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३५४५ मा कारोबार भएको थियो ।

१८- शिक्षामन्त्री महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरेमा पालिकालाई दिने संघीय अनुदान रोक्का हुने चेतावनी दिएका छन् । मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय संचालन भइरहेको पाइएको बताउदै अहिले त्यस्ता विद्यालयको नाम संकलन गरिरहेको बताएका हुन् । उनले पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको भन्दै अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिने चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन। त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिका हरूको नाम संकलन भैरहेको छ । पिडित अविभावकहरुले पनि जानकारी दिन सक्नु हुनेछ ।’
१९- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी उज्मा खानले रावलपिंडीको अदियाला जेलमा भेट गरेकी छन् । मिडिया रिपोर्टका अनुसार बहिनि उज्माले इमरानसँग लगभग २० मिनेटसम्म भेटे गरेकी हुन् । उनको अवस्थाको बारेमा अनेक अफवाह फैलिरहेका बेला परिवारका सदस्यले पछिल्लो लगभग एक महिना भेट गरेको यो पहिलो पटक हो । बहिनि उज्माले इमरान खानको स्वास्थ्य राम्रो रहेको बताउदै उनलाई जेलमा मानसिक रूपमा यातना दिइएको दाबि गरेकी छन् । उनले यसका लागि पाकिस्तानी सेना प्रमुख असीम मुनीर जिम्मेवार रहेको बताएकी छन् । साथै उनले आफ्ना परिवारका सदस्यहरुसँग छलफल गरेपछि थप धारणा बाहिर ल्याउने बताएको मिडिया रिपोर्टमा उल्लेख छ । अफगानिस्तानका मिडियाबाट इमरान खानको जेलमा मृत्यु भएको भन्ने अफवाह शुरु भएको २७ दिनपछि इमरान खानले परिवारका सदस्यलाई भेटेका हुन् । उनले अन्तिम पटक नोभेम्बर ५ मा आफ्नी बहिनी नौरीन खानलाई भेटेका थिए । गत मंगलबार, इमरान खानका समर्थक र परिवारका सदस्यहरू उनलाई भेट्न गएका थिए, तर जेल प्रशासनले उनीहरूलाई अनुमति अस्वीकार गरेको थियो । इमरानको मृत्यु भएको हल्ला फैलिए पछि पाकिस्तानभर ठूलो विरोध प्रदर्शन गरियो, जसले गर्दा रावलपिंडीदेखि इस्लामावादसम्म उच्च सतर्कता अपनाइएको थियो । पाकिस्तानी सरकारले डिसेम्बर १ देखि ३ सम्म रावलपिंडीमा सार्वजनिक सभा, र्याली, जुलुस, धर्ना र पाँच भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ भने धारा १४४ लागू छ । यस आदेशले हतियार, लाठी, गुलेली, पेट्रोल बम र विस्फोटक पदार्थ बोक्न निषेध गरेको छ । यसबाहेक, घृणायुक्त भाषण, प्रहरीको ब्यारिकेड हटाउने प्रयास, मोटरसाइकलमा पछाडि सवार दुई जना र लाउडस्पीकरको प्रयोगलाई पनि कडाइका साथ निषेध गरिएको छ । इमरान खानको पार्टी, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले मंगलबार इस्लामावाद उच्च अदालत बाहिर र रावलपिंडी (अदियाला जेल) मा ठूलो मात्रामा विरोध प्रदर्शनको घोषणा गरेको थियो ।

२०- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि एक गोल एलेक्स बाएनाले गरेका थिए । यो जितपछि बार्सिलोनाको १५ खेलमा ३७ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको भने १४ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिडको भने १५ खेलमा ३१ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।



