



काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तापछि प्रसाईंले आफ्ना माग प्रधानमन्त्री कार्यालयमा टेबल गर्न सफल भएको प्रतिक्रिया दिएका छन् । प्रसाईंले प्रधानमन्त्री कार्कीले आफुहरुले राखेका माग अध्ययन गरेर पुस २ गते जवाफ दिने बताएको जानकारी गराएका छन् । प्रसाईले भने- ‘प्रधानमन्त्रीले भन्नुभयो म सबै कुरा अध्ययन गर्छु, म सकारात्मक छु र आउने पुसको २ गते हामीले डिसिजन दिन्छौं भन्नु भएको छ ।’ साथै प्रसाईंले आफुले फागुन २१ गते चुनाव नहुने बताएको जानकारी दिदै अब यो व्यवस्था ठिक छ या छैन भन्ने विषयमा जनमतसंग्रहमा जान प्रस्ताव गरेको बताए । प्रसाईंले आफ्ना माग पुरा नभए चुनाव नहुने ठोकुवा गरेका छन् ।
सोमवार प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा द्विपक्षीय वार्ता भएको थियो । प्रसाईँले राजसंस्था पुन:स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् र उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।


२- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्न नपाउने भएपछि आफुले तयार गरेको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशनमा छलफलका लागि तयार गरेको ४० पेजको राजनीतिक तथा सांगठनिक अवधारणा पत्र महासचिव शंकर पोखरेललाई बुझाएका हुन् । अवधारणा पत्र बुझाएपछि प्रतिक्रिया दिदै पोखरेलले पार्टीको नेतृत्व चयन विधिसम्मत रूपमा हुने कुरामा आफू विश्वस्त रहेको बताए । पोखरेलले आफ्नो अवधारणा पत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले अवधारणा पत्रमा नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्ने उल्लेख गरेका छन् । उनले सीमित नेताहरू बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत उल्लेख गरेका छन् ।
आफ्नो अवधारणा पत्रमा उनले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर परेको बताउदै भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ र २४ गते भएका अकल्पनीय घटनाका कारण सिर्जित संवैधानिक र राजनीतिक रिक्तता छिटो अन्त्य गर्न एमालेले लिनुपर्ने नेतृत्वदायी भूमिकाका सम्बन्धमा नयाँ कार्यदिशा तय गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले पार्टीमा यसबीचमा शिरदेखि तिरसम्मै गुटगत गतिविधि तिब्र भएको र गुटको आवरणमा वाञ्छित अवाञ्छित, बैध अबैध क्रियाकलाप हुन थालेको बताउदै अस्वस्थ प्रतिस्पर्धा हुन थालेको र पार्टी सदस्य बनाउन अरुले शुल्क तिरि दिने गलत अभ्यास भएको उल्लेख गरेका छन् । उनले पार्टी सञ्चालन र सरकार सञ्चालन (संघ, प्रदेश र स्थानीय) का सम्बन्धमा सामूहिक छलफल गरी एकिकृत धारणा बन्न नसक्दा पार्टीको सार्वजनिक प्रतिष्ठामा धक्का लागेको उल्लेख गर्दै मधेश प्रदेश सरकार गठनका सन्दर्भमा भएका पछिल्ला गतिविधिले पार्टीको नैतिक मूल्य माथि नै गम्भिर प्रश्न खडा गरिदिएको आफ्नो अवधारणामा उल्लेख गरेका छन् ।

३- निर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान गर्न मतदाता नामावलीमा नाम दर्ता गरेका मतदाताले मङ्सिर २६ गतेसम्म त्रुटी सच्याउने समय दिएको छ । आयोगले मङ्सिर २६ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रममा उल्लिखित कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको जानकारी दिएको छ ।
आयोगले सूचना बमोजिम मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित हुने जनाएको छ । साथै मतदाताको सहजताका लागि तोकिएको मापदण्ड र प्रक्रिया बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिससमेतका आधारमा आयोगबाट केही मतदान स्थलहरू पुनरावलोकन गरिएको हुँदा आफूले मतदान गर्ने मतदान स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई पायक पर्ने मतदान स्थल छनोटका लागि अनलाइन https://applyvr.election.gov.np वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन गर्न सकिने आयोगले जनाएको छ ।
त्यस्तै मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले मङ्सिर २६ सम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवम् उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको लागि आयोगले अपिल गरेको छ । आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (कट अफ डेट) निर्धारण गरी मङ्सिर ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मङ्सिर २० गते निर्णय गरेको छ ।
४- अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको हो । जसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु. ५८०, ठूलो अण्डा रु. ५६५ र मिडियम रु. ५५० कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु. ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु. ४०० मा झरेको थियो । सङ्घका सचिव मदन पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु. २० ले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको सङ्घले जनाएको छ । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु. १६ दशमलव ५७ पर्न आउने सङ्घले उल्लेख गरेको छ ।
५- शिक्षामन्त्री महाबीर पुनले सिटीइभिटीबाट सम्बन्धन लिएर डिप्लोमा कार्यक्रम सॅचालन गर्नको लागि २०६९ साल देखि अहिले सम्म आवेदन दिएकालाई १० दिनभित्र सम्पर्क गर्न आग्रह गरेका छन् । मन्त्री पुनले आवेदन दिएर पूर्बाधार निरिक्षण भएका, एलओआई पाएका, स्थलगत निरिक्षण भएका वा नभएका सबै प्रकारका सॅस्थाहरू (नीजी तथा अन्य) ले अझै पनि सो सो कार्यक्रमहरु चलाउन चाहेमा मन्त्रालयमा आफुलाई पहिला दर्ता गरेको निवेदनको फोटो कपिसहित १० दिन भित्र सुचना दिन आग्रह गरेका हुन् । उनले निवेदनहरुको छानविन द्रुत गतिमा भईरहेको बताउदै यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘सिटीइभिटीबाट सम्बन्घन लिई डिप्लोमा कार्यक्रम सॅचालन गर्नको लागि २०६९ साल देखि अहिले सम्म आवेदन दिएका र पूर्बाधार निरिक्षण भएका, एलोआई पाएका, स्थलगत निरिक्षण भएका वा नभएका सबै प्रकारका सॅस्थाहरू (नीजी तथा अन्य) ले अझै पनि सो सो कार्यक्रमहरु चलाउन चाहनु हुन्छ भने मन्त्रालयमा मलाई पहिला दर्ता गरेको निवेदनको फोटो कपि सहित १० दिन भित्र सुचना दिनु होला । पहिले निवेदन दिए पनि अब कार्यक्रम सञ्चालन गर्न नचाहनेले निवेदन दिनु पर्दैन । सबै निवेदनहरुको छानविन द्रुत गतिमा हुँदैछ ।’
६- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन् । नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन् । पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरी लगायतका स्थानबाट भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानको काम सुरु गरिएको भए पनि पछिल्ला सरकारहरूले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख गरे । साथै, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे । नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको हो । समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो। दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्वासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको छ ।
७- बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसनले आफुले तीनै ढाँचा टेस्ट, एकदिवसीय र टी-२० बाट सन्यास नलिएको बताएका छन् । उनले पहिलो पटक मोइन अलीको पोडकाष्टमा आफ्नो सन्यास योजनाको बारेमा खुलेर कुरा गरेका हुन् । शकिबले भने- ‘मैले अहिलेसम्म कुनै पनि ढाँचाबाट सन्यास लिएको छैन । मेरो योजना बंगलादेश फर्कने र पूर्ण घरेलु शृङ्खला खेल्ने हो । त्यसपछि, म एकैसाथ तीनै ढाँचाबाट सन्यास लिनेछु । शृङ्खला कुन ढाँचाबाट सुरु हुन्छ भन्ने कुराले फरक पार्दैन । म अन्तिम पटक फ्यानहरूको अगाडि खेल्न चाहन्छु ।’ शकिब मे २०२४ देखि बंगलादेश फर्किएका छैनन् ।
अगस्ट ५, २०२४ मा सरकार परिवर्तन भएपछि उनको सुरक्षाको बारेमा प्रश्न उठाइएको थियो । उनी अवामी लिगका सांसद हुँदा पनि उनलाई कथित हत्याको मुद्दामा नाम दिइएको थियो । यद्यपि, यस अवधिमा उनले पाकिस्तान र भारतमा टेस्ट शृङ्खला खेल्न जारी राखेका थिए । भारतविरुद्धको कानपुर टेस्ट (सेप्टेम्बर २०२४) उनको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । पुनरागमनको सम्भावनाको बारेमा उनले भने- ‘मलाई आशा छ कि म फर्कनेछु । त्यसैले म हाल विश्वभरका विभिन्न टी-२० लिगहरूमा खेलिरहेको छु । घरेलु शृङ्खलामा नतिजाको कुनै दबाब हुनेछैन । म वर्षौंदेखि मलाई माया गर्ने फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु ।
खेलाडीले आफ्नो वचनमा अडिग रहनुपर्छ । म कसरी खेल्छु भन्दा पनि उनीहरूको अगाडि खेलेर मेरा फ्यानहरूलाई फिर्ता दिनु महत्त्वपूर्ण छ ।’ शाकिबले गत वर्ष सेप्टेम्बर २७ देखि नोभेम्बर १ सम्म कानपुरमा खेलिएको बंगलादेश र भारत बीचको दोस्रो टेस्ट अघि टेस्ट र टी-२० बाट सन्यासको घोषणा गरेका थिए । उनले विश्वकप टी-२० मा खेलेको खेललाई पनि आफ्नो अन्तिम मान्नु पर्ने बताएका थिए ।उनले २०२५ को सुरुमा हुने च्याम्पियन्स ट्रफी बंगलादेशको लागि उनको अन्तिम एकदिवसीय खेल हुने पनि बताएका थिए । यद्यपि, शकिबलाई च्याम्पियन्स ट्रफी टोलीमा समावेश गरिएको थिएन । टोली घोषणा हुनुभन्दा पहिले नै उनको बलिङ एक्सनमा त्रुटिका कारण उनलाई प्रमुख खेलहरूमा बलिङ गर्नबाट रोक लगाइएको थियो । यस्तो अवस्थामा, २०२३ को एकदिवसीय विश्वकपमा दिल्लीमा श्रीलंकाविरुद्ध खेलेको खेललाई उनको अन्तिम एकदिवसीय खेल मानिएको थियो । शकिबको धारणा आएपनि उनको घरेलु मैदानमा खेल्ने बारे भने अझै स्पष्ट नरहेको बताइएको छ ।

८- नेप्सेमा आज सामन्य गिरावट आएको छ । सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६. ६७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३१ कम्पनिका एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ मा कारोबार भएको थियो । आज हाइड्रो, जीवन बीमा, उत्पादन, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज अपर श्यांगे हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्सको शेयर ५.१६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५५ करोड ८६ लाख कारोबार भएको छ भने सागर डिस्टिलरीको २३ करोड ९७ लाखको कारोबार भएको छ ।
९- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर २० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ९८ हजार ३०९ टिकट बेचेको छ । त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २६ लाख ६ हजार २४० ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बेचेको छ । त्यसैगरी जारी-२ ले अहिलेसम्म ६ करोड २३ लाख ६९ हजार २०० ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल २ लाख ७ हजार ७१४ टिकट बिक्रि भएको छ । त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ७९ लाख २ हजार ८७९ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख ४५ हजार ५९ टिकट बिक्रि गरेको छ । त्यस्तै यस साता रिलिज भएको फिल्म हर्षले २८ लाख २ हजार ३४६ कमाई गरेको छ भने यस अवधिमा हर्षका ८ हजार ४३६ टिकट बिक्री भएका छन् ।
१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईसमेत ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले समुहको खाताबाट आफूखुशी रकम निकालेर खर्च गरेको आरोपमा वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, कोषाध्यक्ष धनसरी राना, तत्कालीन सचिव राम कुमारी राना र दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध ९ लाख ६५ हजार ८७३ रकम दुरुपयोग गरेको भन्दै बिगो र कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
११- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन गर्न एआईको प्रयोगका लागि दिशानिर्देश गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’ तयार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा लागु गर्न तयार गरेको मार्गदर्शनमा रे तथा सुझाव मागेको छ । राष्ट्रबैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उल्लेखनीय गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै वित्तीय क्षेत्रका लागि विभिन्न जोखिम र चुनौतीहरू पनि प्रस्तुत गर्दै नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको बताएको छ ।
वित्तीय संस्थाहरूले सञ्चालन गर्ने तरिकालाई पुन: आकार दिने यसको सम्भावनालाई ध्यानमा राख्दै, नेपाल राष्ट्र बैंक (एनआरबी) ले यसको प्रयोगमा स्पष्ट निर्देशन प्रदान गर्ने महत्त्वलाई मान्यता दिएको बताएको छ । यी दिशानिर्देशहरू नेपालमा नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थाहरू (एलआई) लाई एआईको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोगतर्फ मार्गदर्शन गर्ने उद्देश्य रहेको बताएको छ । यसको उद्देश्य वित्तीय संस्थाहरूलाई वित्तीय प्रणाली भित्र निष्पक्षता, जवाफदेहिता र स्थिरता सुरक्षित गर्दै एआईको फाइदा उठाउन सक्षम बनाउनु रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०२४/२५ को मौद्रिक नीतिको घोषणापछि यो आर्टिफिसियल इन्टेलिजेन्स दिशानिर्देश जारी गरेको उल्लेख गर्दै दिशानिर्देशहरूले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू पालना गर्ने बताएको छ ।
राष्ट्र बैंकद्वारा नियमन गरिएका एलआईहरूको लागि डिजाइन गरिएका यी दिशानिर्देशहरूको उद्देश्य वित्तीय स्थिरता, अखण्डता र सञ्चालन लचिलोपन सुनिश्चित गर्दै दक्षता, नवीनता र ग्राहक अनुभव बढाउने तरिकाले एआई प्रविधिहरू अपनाउने प्रवर्द्धन गर्नु, एलआईहरूमा एआइ आवेदनहरू पारदर्शी, व्याख्यायोग्य, निष्पक्ष र जवाफदेही छन् भनी सुनिश्चित गर्नु, एआईसँग सम्बन्धित जोखिमहरूलाई न्यूनीकरण गर्नु, जनसंख्याको सबै वर्गहरूलाई पहुँचयोग्य र किफायती वित्तीय सेवाहरू प्रदान गर्न एआईलाई लाभ उठाउने प्रतिस्पर्धात्मक र समावेशी वित्तीय क्षेत्रलाई बढावा दिने रहेका छन् ।
१२- प्रधानमन्त्री सुशिला कार्कीले सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा सबै महिला तथा किशोरीका साथै यस क्षेत्रमा क्रियाशील अधिकारकर्मी, स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि तथा सरोकारवालालाई शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले महिनावारी एक स्वाभाविक, जैविक र सम्मानित प्रक्रिया भएको भन्दै दुर्भाग्यवश आज पनि कतिपय समाजमा मौनता, लज्जा र विभेदको माध्यम बनाइएको उल्लेख गरेकी छन् । प्रधानमन्त्री कार्कीले यसै सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मर्यादित महिनावारी निर्देशिका तयारीको अन्तिम चरणमा पुऱ्याएको छ, जसले विद्यालय, परिवार, समुदाय, कार्यस्थल र सार्वजनिक स्थलमा सम्मानजनक र सुरक्षित वातावरण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् ।
उनले राष्ट्रिय सभाले सर्वसम्मत रूपमा पारित गरेको मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्ताव नेपालको नीति-दिशालाई स्पष्ट रूपमा अगाडि बढाएको ऐतिहासिक कदम भएको उल्लेख गर्दै सरकारले यस संकल्प प्रस्तावको भावना र मानव अधिकारका विश्वव्यापी मान्यताअनुसार कानुनी, नीतिगत, संरचनागत र व्यवहारगत सुधारहरूलाई तीव्र गतिमा अघि बढाउने बताएकी छन् । उनले नागरिक समाजसँगै अब राजनीतिक संगठनहरुले पनि यसलाई आफ्नो मुद्दा बनाउनुपर्छ र प्रत्येक आमा, छोरी, दिदी र बहिनी आत्मसम्मान एवं मर्यादायुक्त व्यवहारका लागि लायक छन् भन्ने मान्यता स्थापित गर्नुपर्ने बताउदै महिनावारीलाई सम्मान, स्वास्थ्य, समानता र अधिकारको विषय बनाउनुपर्ने उल्लेख गरेकी छन् । उनले महिनावारीका कारण अपमानित, बहिष्कृत वा हिंसामा पर्नुपर्ने अवस्था अन्त्य गर्न यस दिवसले भूमिका खेल्न सकोस् भन्ने कामना गरेकी छन् ।
१३- नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो । नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।
१४- बलिवुड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ ले घरेलु बक्स अफिसमा तुफान ल्याएको छ । धुरन्धरले तीन दिनमा सय करोड कमाई गरेको छ । फिल्मले शुक्रबार २८ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन शनिबार ३२ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले तेस्रो दिन आइतबार ४० करोड कमाई गरेको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

१५- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबर सुन तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ३५८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३६०५ मा कारोबार भएको थियो ।
१६- थाइल्याण्डले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ । दुबै देशहरूले एकअर्कालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएपछि थाइल्याण्डले यो कारबाही गरिएको जनाएको हो । थाई सेनाले पूर्वी प्रान्त उबोन रत्चाथानीका दुई क्षेत्रमा ताजा झडपमा एक थाई सैनिकको मृत्यु भएको छ र अन्य चार जना घाइते भएका छन् । थाई सेनाले कम्बोडियाबाट आफ्ना सेनाहरू गोलीबारी भएको र त्यसपछि यसले धेरै सैन्य अड्डाहरूविरुद्ध हवाई आक्रमण गरेको बताएको छ । यसैबीच, कम्बोडियाली रक्षा मन्त्रालयले थाई सेनाले आज बिहान आफ्ना दुई सैन्य अड्डाहरूमा आक्रमण गरेको बताएको छ । मन्त्रालयले थाई सेनाले धेरै दिनदेखि उत्तेजक गतिविधिहरू गरिरहेको र कम्बोडियन सेनाले प्रतिकार नगरेको बताएको छ । जुलाईमा दुई देशहरू बीच तनाव उत्पन्न भएको थियो, जसमा पाँच दिनको द्वन्द्व भयो । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र ट्रम्पले मध्यस्थता गरेपछि युद्धविराम भएको थियो । अक्टोबरमा, दुई देशहरूले क्वालालम्पुरमा विस्तारित शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जुलाईको द्वन्द्वमा ४८ जनाको मृत्यु भयो र लगभग ३ लाख अस्थायी रूपमा विस्थापित भएका थिए । गत महिना, बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए ।
यसपछि, थाई सरकारले कम्बोडियासँगको युद्धविराम सम्झौता स्थगित गर्यो । थाई सेनाले चार सीमावर्ती जिल्लाहरूबाट ३ लाख ८५ हजारभन्दा बढी नागरिकहरूलाई खाली गरिएको छ, र ३५ हजार भन्दा बढीलाई अस्थायी शिविरहरूमा स्थानान्तरण गरिएको छ । थाईल्याण्ड र कम्बोडिया बीचको ८१७ किलोमिटर लामो भूमि सीमा एक शताब्दी भन्दा बढी समयदेखि विवादको रूपमा रहेको छ । यस सीमाका केही भागहरूमा सार्वभौमिकता विवादित छ । यो सीमा पहिलो पटक १९०७ मा फ्रान्सले नक्साङ्कन गरेको थियो, जब यसले कम्बोडियामा शासन गर्थ्यो । त्यसबेलादेखि तनाव धेरै पटक भड्किएको छ । २०११ मा एक हप्ता लामो बन्दुक युद्ध भयो । यद्यपि, दुवै देशहरूले शान्तिपूर्ण रूपमा विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् ।
१७- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल र हमास चाँडै युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्ने बताएका छन् । यो चरण हमासले गाजामा बाँकी रहेका अन्तिम इजरायली बन्धक रान ग्विलीको शव फिर्ता गरेपछि सुरु हुनेछ । नेतान्याहूले जर्मन चान्सलर फ्रेडरिक मेर्जसँगको पत्रकार सम्मेलनमा दोस्रो चरण महिनाको अन्त्यसम्ममा सुरु हुन सक्ने बताएका छन् । यो युद्धविराम प्रक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे योजना अन्तर्गत चलिरहेको छ । अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा मारिएका २४ वर्षीय प्रहरी अधिकारी ग्विलीको शव फिर्ता भएपछि र इजरायलले बदलामा १५ प्यालेस्टिनी शव फिर्ता गरेपछि पहिलो चरण पूरा हुनेछ । दोस्रो चरणमा गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बलको तैनाथी र अन्तर्राष्ट्रिय बोर्डद्वारा निरीक्षण गरिएको दैनिक प्रशासनको लागि अस्थायी प्यालेस्टिनी सरकारको गठन समावेश छ । फ्रेडरिक मर्जले जर्मनीले यस योजनाको कार्यान्वयनमा सहयोग गरिरहेको, अमेरिकी नेतृत्वको समन्वय केन्द्रमा अधिकारीहरू पठाउँदै र गाजामा मानवीय सहायता प्रदान गरिरहेको बताए । उनले इजरायलको अस्तित्व र सुरक्षाप्रति जर्मनीको अटल प्रतिबद्धता दोहोर्याए । हमासले भग्नावशेषमुनि गाडिएका शवहरूमा पहुँचको अभावका कारण ढिलाइ भएको दाबी गरेको छ, जबकि इजरायलले यसलाई ढिलाइको रूपमा खारेज गरेको छ र चेतावनी दिएको छ कि यदि सबै अवशेषहरू फिर्ता नगरिएमा सैन्य कारबाही पुनः सुरु गर्न सकिन्छ वा मानवीय सहायता निलम्बन गर्न सकिन्छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको तेस्रो चरण गाजाको कट्टरपन्थीकरण हुने बताए । यसैबीच, गाजा स्वास्थ्य मन्त्रालयले युद्धविराम लागू भएपछि पनि इजरायली कारबाहीमा ३७० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी गरेको छ ।
१८- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोल अन्तरले स्तब्ध भएको हो । सेल्टा भिगोको जितमा विलिओट स्वेडबर्गले दुवै गोल गरेका थिए । त्यस्तै यस खेलमा रियल म्याड्रिडका फ्रान गार्सिया र अल्भारो कारेराजले रातो कार्ड पाएका थिए । यो हारले रियल म्याड्रिडलाई अंक तालिकामा ठुलो धक्का लागेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ४ अंकले पछि परेको छ । रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको १६ खेलमा ४० अंक रहेको छ । त्यस्तै रिल म्याड्रिडलाई स्तब्ध पारेको सेल्टा भिगोको भने यो जितपछि १५ खेलमा १९ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ ।
१९- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले विदेशी नेपाली कर्मचारीहरूलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गरेको छ । विदेशमा बस्ने नेपाली आप्रवासीहरूको लागि आईपीओ भर्ने अवधि मङ्सिर २२ देखि कम्तिमा मङ्सिर २५ सम्म र बढीमा पुस ७ सम्म लम्ब्याउन सकिने छ । कम्पनीले १० माघ देखि १४ माघ, २०८० सम्म बुक-बिल्डिङ प्रक्रिया मार्फत आफ्नो प्राथमिक शेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरेको थियो । बाँडफाँड, जुन १५ माघमा भएको थियो । रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जारी पूँजी १.९० अर्बको १०.१४ प्रतिशत अर्थात् कुल १९,२६,६०० शेयर जारी गर्ने भएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात् ७,७०,६४० शेयर पहिले नै योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरी बाँडफाँड गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात् ११,५५,९६० शेयर पछि सर्वसाधारणलाई जारी गरिनेछ । यस सार्वजनिक निष्कासनको कुल ११,५५,९६० इकाइमध्ये १० प्रतिशत शेयर, जम्मा १,१५,५९६ इकाइ शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूका लागि जारी गरिएको छ । पछि, बाँकी १०,४०,३६४ इकाइ सर्वसाधारणलाई जारी गरिनेछ । ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । न्यूनतम ५० इकाइका लागि आवेदन दिन सकिन्छ, जबकि अधिकतम परिमाण २० हजार इकाईसम्म दिन सकिन्छ ।

२०- नागढुंगा–नौबिसे-मलेखु सडक खण्ड आगामी बुधबारदेखि दैनिक ५ घन्टा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका अनुसार उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको हो । सो क्षेत्रमा मंसिर २४ (बुधबार) देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द गर्न लागिएको हो । उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरुको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ । अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शववाहन जस्ता सवारीसाधनहरुको हकमा ट्राफिक प्रहरीबाट सहजीकरण गरिने जनाइएको छ ।
काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ । नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएक छ । यो अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला–रामकोट–भीमढुंगा धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी सडक तथा जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेसीको त्रिशुली पुललाई वैकल्पिक रुटका रुपमा प्रयोग सक्ने जानकारी दिएको छ ।



