



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिगका लागि दर्ता भएका १७ क्लबहरूबीच आज दशरथ रङ्गशालामा राष्ट्रिय लिगसम्बन्धी छलफल सम्पन्न भएको छ ।
एन्फा महासचिव किरण राईको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर सम्मिलित छलफलमा प्रतियोगितामा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरूप १५ लाख प्रदान गर्ने निर्णय गरिएको छ ।


साथै, हेटौडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौँ उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्च स्वरूप २ लाख र काठमाडौँ उपत्यका क्लबलाई १ लाख प्रदान गरिनेछ ।
राष्ट्रिय लिगको विजेताले नगद ५० लाख, उपविजेताले नगद २५ लाख तथा तृतीय स्थान हासिल गर्ने क्लबले नगद १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । क्लबहरूले खेलाडी दर्ता पुस १८ गतेभित्र सम्पन्न गर्नुपर्ने र प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति पनि बैठकमा भएको छ ।



