



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
मंसिर–२७,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न एकदिने पेट बिशेष निशुल्क स्वास्थ्य शिविरमा ३ सय ५ जनाले सेवा लिएका छन् ।


सन्धिखर्क नगरपालिकाको आयोजना र ग्यास्ट्रो सेन्टर बुटवलको प्राविधिक सहयोगमा सन्धिखर्क–१ स्थित सन्धिखर्क इङ्गिलस बोर्डिङ्ग स्कुलको प्राङ्गण कुडुलेफाँटमा पेट, कलेजो, आन्द्रा र प्यान्क्रियाज रोग सम्बन्धि शिविर गरिएको हो ।

शहर तथा गाउँमा रहेका मानिसमा लुकेर रहेको रोग पहिचान गरि समयमै उपचार दिएर नागरिकलाई स्वस्थ राख्ने अभियानमा टेवा पुगोस्,भन्ने हेतुले शिविरको आयोजना गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

शिविरको उद्घाटन गर्दै सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले मानव जीवनका लागि स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएको बताउनुभएको छ ।


जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको महसुस गराउनु मुख्य लक्ष्य रहेको भन्दै नगरप्रमुख श्रेष्ठले स्वास्थ्य, शिक्षा जस्ता अति महत्वपूर्ण सेवालाई अझ प्रभावकारी र सहज बनाउन आफुहरु लागिपरेको दाबी गर्नुभएको छ ।

कार्यक्रममा बरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग बिशेषज्ञ डाक्टर मोहन भुसालले यस्ता शिविरले रोगको पहिचान र उपचारमा सजिलो हुने गरेको बताउनुभयो ।

उपचार गराउन अस्पताल जान नसक्नेहरुका लागि यस्ता अभियान निकै उपयोगी हुने डाक्टर भुसालको भनाई छ । सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यशाखाका कर्मचारी, ग्यास्ट्रो सेन्टर बुटवलका स्वास्थ्यकर्मीको टिम तथा अन्य सरोकारवालाको सहजीकरणमा शिविर सम्पन्न गरिएको सन्धिखर्क स्वास्थ्य शाखाका प्रमुख पूर्ण प्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।


शिबिरमा ३ सय ५ जनाले ओपिडिको सेवा लिएका छन् । जसमध्ये ४८ जनाको इन्डोसकोपी गरिएको छ । यस्तै ९० जनाले ल्यावसेवा लिएको यो शिविरमा बिरामीलाई आवश्यकता अनुसारको औषधि समेत निशुल्क बितरण गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ । शिविरमा इन्डोसकोपी गराएका मध्ये ९० प्रतिशतमा हाइटस हर्निया भेटिएको छ । यस्तै अल्सर पनि दोस्रो समस्याको रुपमा देखिएको छ ।

ग्यास्टिक र सामान्य ग्यास्टिक पनि नागरिकमा समस्याकै रुपमा देखा परेको शिविरको टोली लिडर डा. मोहन भुसालको भनाई छ । पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण मानव स्वास्थ्यमा गम्भिर असर पर्दै गइरहेकोले आहार,बिहार र जीवनशैली सुधारमा ध्यान दिन डा. भुसालले आग्रह गर्नुभएको छ ।

धुम्रपान, मद्यपान, चिल्लोपिरो,भुटेको, तारेको, जगंफुड, मैदाका परीकार जस्ता मानव स्वास्थ्यलाइ असर गर्ने खाद्य पदार्थ सेवन नगर्न डाक्टरको सुझाव छ ।


डाक्टर भुसालका अनुसार पेटलाई स्वस्थ राख्नका लागि सफा, ताजा, स्वच्छ, स्वस्थ्य र फाईवरयुक्त खानेकुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेछ । खाना खाएको कम्तीमा २ घण्टा नसुत्न, धेरै अनिदो वा लामो समयसम्म नसुत्नपनि उहाँको आम नागरिकमा अपिल छ ।
थप तस्बिरः









