



-अनिल नेपाली।
सन्धिखर्क : अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आज सन्धिखर्क नगरपालिकामा विदेशिने क्रममा ज्यान गुमाउनु भएका श्रमिकहरूका सन्तानहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरियो।

‘सुरक्षित आप्रवासन (सामी)’ कार्यक्रम अन्तर्गत आयोजित सो कार्यक्रमलाई नगर उपप्रमुख मिश्रा आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम, सामी कार्यक्रम जिल्ला सयोजक बसन्त श्रेष्ठ र सामी टिमले सघाएको थियो।

यस अवसरमा ‘श्रम आप्रवासन चक्रमा सुशासन: सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने मूल नारालाई केन्द्रित गरियो। कार्यक्रमका वक्ताहरूले विदेश पलायन हुने श्रमिकको योगदानलाई मूल्याङ्कन गर्नु र उनीहरूका अधिकारको सम्मान गर्नुपर्ने आवश्यकता रेखाङ्कित गरे।

सुरक्षित वैदेशिक रोजगारीको लागि संचालित ‘आप्रवासी स्रोत केन्द्र’हरूको महत्वपनि यसै सन्दर्भमा उल्लेख गरियो। जिल्ला प्रशासन कार्यालय र पासपोर्ट वितरण केन्द्रहरूमा स्थापित यी केन्द्रहरूले गर्ने सुरक्षित, मर्यादित र सीपमूलक आप्रवासनका लागि सचेतना, जानकारी र सेवा सङ्कलनका कार्यलाई सराहना गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख मिश्रा आचार्यले शहीद श्रमिकका परिवार प्रति सहानुभूति व्यक्त गर्दै स्थानीय सरकारले तिनलाई सहयोग गर्न सदैव तत्पर रहने बताए। निमित्त प्रमुख नवराज गौतमले आप्रवासन प्रक्रियालाई पारदर्शी, श्रमिकहितैषी र सुशासनको केन्द्र बनाउन सबैको सहकार्य अपेक्षा गरे।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गणेश खनालले आप्रवासनसम्बन्धी सकारात्मक र जिम्मेवार पत्रकारिताको भूमिकामा जोड दिए भने आप्रवासी लुम्बिनी प्रदेश सदस्य राजेन्द्र पन्थीले प्रदेश सरकारले पनि आप्रवासी कल्याणका नीति र कार्यक्रममा ध्यान दिइरहेको बताए।


सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहल हो भने यसलाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गर्दै आएको छ। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन हुँदै आएको छ।
यसरी आजको कार्यक्रमले आप्रवासन दिवसको सैद्धान्तिक चर्चालाई व्यवहारिक सहयोगसँग जोडेर शहीद श्रमिकका सन्तानको शिक्षामा ढुवानी गर्ने भावनात्मक र सार्थक पहलको रूपमा चिनाइएको छ।



