



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
पौष–०३,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगर उपप्रमुख मिश्रा आचार्यले सकेसम्म देशमै काम गर्ने नभए सिप र दक्षता लिएरमात्र विदेश जान सुझाव दिनुभएको छ । पैसा कमाउने नाममा आउने विभिन्न प्रलोभनमा नपर्न तथा कुनै समस्या परे सामीसंग समन्वय गर्न नगरउपप्रमुख आचार्यले आग्रह गर्नुभयो ।


अन्तरराष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा आज सन्धिखर्कमा आयोजित अन्तरक्रिया तथा विदेशमा ज्यान गुमाएका व्यक्तिका सन्ततीलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

पछिल्लो समय सामी कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योग्दान दिएको उपप्रमुख आचार्यको भनाई छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज गौतम, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल र आप्रवासी श्रमिक संजाल लुम्बिनीका सदस्य राजेन्द्र पन्थी लगायतले मन्तव्य राख्नुभएको थियो ।

पछि पछुताउनुभन्दा समयमै सचेत र साबधानी अपनाएर अगाडि बढ्नु उत्तम हुन उहाँहरुको धारणा रहेको छ । रेमिट्यान्सले नेपालको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको भन्दै उहाँहरुले बैदेशिक रोजगारीलाई अझ सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।


कार्यक्रमको अवसरमा वैदेशिक रोजगारीको शिलशिलामा कार्यस्थलमै ज्यान गुमाउनुभएका सन्धिखर्क १, १० र ११ का ३ जना नागरिकका सन्ततीलाई शैक्षिक
सामाग्री हस्तान्तरण गरि उहाँहरुको स्मरण गरिएको छ ।

कार्यक्रममा सामी जिल्ला कार्यक्रम संयोजक बसन्त श्रेष्ठ र लक्ष्मण घिमिरेले सहजीकरण गर्नुभएको थियो ।




