अर्घाखाँची: प्रसिद्ध शक्तिपीठ सुपा देउराली मन्दिरको व्यवस्थापनमा देखिएको खिचातानी र अन्योलता चिर्न स्थानीय सरकारले कस्तो कदम चाल्दैछ ? सन्धिखर्क वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसीसँग गरिएको बिशेष कुराकानी:  

imagesimages

 

-अर्घाखाँची डटकम , अर्घाखाँची।

अर्घाखाँची – अर्घाखाँचीको प्रसिद्ध शक्तिपीठ सुपा देउराली मन्दिरको व्यवस्थापनमा देखिएको खिचातानी र अन्योलता चिर्न स्थानीय सरकारले कस्तो कदम चाल्दैछ ? यसै विषयमा सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसीसँग पत्रकार अनिल नेपालीले गरेको कुराकानीको सम्पादित अंश :

Nepal life insurance

बिगत केही समय अगाडि देखि सुपा देउराली मन्दिरको विषयलाई लिएर अहिले निकै चर्चा र विवाद भइरहेको छ, खास कुरा के हो ?

सुपा देउराली हाम्रो आस्थाको केन्द्र हो । केही समयदेखि यसको गरिमामा आँच पु¥याउने गरी अनावश्यक प्रचार र टीका–टिप्पणी भइरहेका छन् । वि.सं. २०८१ फागुन १६ गते हामीले सर्वसम्मत रूपमा मन्दिर व्यवस्थापन समिति बनाएका थियौँ । तर, जिल्ला प्रशासनमा मुद्दा परेपछि २०८२ भदौ २० गते त्यो समिति भंग गरियो । अहिले मन्दिर समिति विहीन छ । यही मौका छोपेर सन्धिखर्क नगरपालिकाले जुन किसिमको ठाडो हस्तक्षेप र एकलौटी निर्णयहरू गरिरहेको छ, त्यसले विवाद निम्त्याएको हो ।

नगरपालिकाले त मन्दिरको व्यवस्थापन सुधार गर्न खोजेको भनिरहेको छ नि, तपाईँ किन यसलाई हस्तक्षेप भन्नुहुन्छ ?

सुधारका नाममा सरोकारवालालाई निषेध गर्नु हस्तक्षेप हो । मन्दिर सन्धिखर्क–७ र शीतगंगा–२ को सिमानामा पर्छ । तर, नगरपालिकाले यी दुवै वडाका जनप्रतिनिधिलाई खबरै नगरी अन्तरक्रिया गर्ने र एकलौटी निर्णय लाद्ने काम गरिरहेको छ । म आफैँ काम विशेषले काठमाडौँ भएको बेला पारेर मंसिर २६ गते प्रशासनमा छलफल गरियो । मंसिर २९ गते मन्दिरका कर्मचारीलाई जुन किसिमको “टपरी” जस्तो धम्कीपूर्ण पत्र काटियो, त्यो अत्यन्तै आपत्तिजनक छ । यो ‘हुकुमी शैली’ ले धार्मिक संस्था चल्दैन ।

मन्दिरको आर्थिक पारदर्शितामाथि सर्बसाधारण र सराेकारवालाले पनि प्रश्न उठेका छन् । भेटीको हिसाब–किताब पारदर्शी छैन भन्ने आरोप छ नि ?

यो सरासर गलत प्रचार हो । मन्दिरको भेटी व्यवस्थापनलाई पारदर्शी बनाउन हामीले २०८१ सालदेखि नै सीसीटीभी जडान गरेका छौँ । प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहबरमा रकम गनिन्छ र बैंकमा दाखिला गरिन्छ । सबै आम्दानी ‘लग बुक’ मा राखिएको छ । यदि कसैलाई शंका छ भने जिम्मेवार निकायले अध्ययन गरोस् । दोषी देखिए कारबाही भोग्न हामी तयार छौँ । तर, प्रमाणविहीन आरोप लगाएर मन्दिरको बदनाम गर्न पाइँदैन ।

तपाईँमाथि “राजनीति गरेको” र “कार्यकर्ता पाल्न खोजेको” भन्ने आरोप पनि छ नि ?

म चुनौती दिन्छु— कार्यकर्ता पोसेको एउटा मात्र ठोस प्रमाण कसैले देखाओस्। हामीले मन्दिरको परम्परा, संस्कृति र रीतिरिवाज जोगाउन खोजेका हौँ । लामो समयदेखि मन्दिरमा निस्वार्थ योगदान दिएका व्यक्तिहरूलाई अहिले धम्की दिने र मानसिक दबाब दिने काम भइरहेको छ ।

मन्दिरमा भागबन्डा खोज्ने हामी होइनौँ, बरु नगरपालिकाले यसलाई कब्जा गर्न खोजिरहेको छ ।

अबको निकास के त ? समस्या कसरी समाधान हुन्छ ?

पहिलो कुरा, नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, शासक बन्न खोज्नु हुँदैन । सन्धिखर्क र शीतगंगा दुवै नगरपालिका र सम्बन्धित वडाहरूबीच साझा समझदारी र समन्वय हुनुपर्छ । स्थानीयलाई भाड्ने र मन्दिरको परम्परामाथि प्रतिबन्ध लगाउने काम बन्द गरिनुपर्छ । हामी मन्दिरको विकास र संरक्षणका लागि जस्तोसुकै चुनौती सामना गर्न तयार छौँ । विधान विपरीतको हस्तक्षेप हामीलाई किमार्थ स्वीकार्य छैन ।

अन्त्यमा, आम भक्तजन र स्थानीय बासिन्दालाई के भन्न चाहनुहुन्छ ?

सुपा देउरालीको महिमालाई बचाई राख्नु हामी सबैको कर्तव्य हो । भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्नुस् । हामी धार्मिक स्थलको संरक्षण र आर्थिक पारदर्शिताका लागि सधैँ प्रतिबद्ध छौँ र यसको ऐतिहासिक पहिचानमा आघात पुग्न दिने छैनौँ

 

Nepal life insurance

अन्य समाचारहरु