बन्डी बिच गोलीकाण्डपछि अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा राष्ट्रिय हतियार खरिद योजना घोषणा

imagesimages

 

काठमाडौँ ।  अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बन्डी बिचमा भएको घातक गोलीकाण्डपछि समुदायमा हतियारको संख्या घटाउने उद्देश्यले राष्ट्रिय स्तरको हतियार खरिद (बाइब्याक) योजना  घोषणा गर्नुभएको छ । क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री अल्बानीजले संघीय सरकारले अतिरिक्त नयाँ प्रतिवन्धित र अवैध हतियारहरू खरिद गरेर नष्ट गर्ने राष्ट्रिय योजना स्थापना गर्ने बताउनु भयो ।

Nepal life insurance

यो योजना सन् १९९६ मा टास्मानियाको पोर्ट आर्थरमा ३५ जनाको ज्यान जाने गोलीकाण्डपछि स्थापना गरिएको बाइब्याक योजनासँग मिल्दोजुल्दो हुनेछ । गत आईतवार राति बन्डी बिचमा भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको थियो । जसलाई सन् १९९६ को पोर्ट आर्थर घटनापछिको अष्ट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड मानिएको छ ।

यस घटनाले अष्ट्रेलियाको हतियार कानुनमा ठूलो सुधारको आवश्यकता औंल्याएको छ । प्रधानमन्त्री अल्बानीजले हाल अष्ट्रेलियामा ४० लाखभन्दा बढी हतियार रहेको र यो संख्या पोर्ट आर्थर घटना हुँदाको भन्दा बढी भएको बताउनु भयो । उहाँले यो योजनाबाट लाखौं हतियार संकलन गरेर नष्ट गरिने अपेक्षा गर्नुभएको छ । योजनाअन्तर्गत अष्ट्रेलियाका राज्य र क्षेत्रहरूले हतियार संकलन, प्रशोधन र भुक्तानीको जिम्मेवारी लिनेछन् भने अष्ट्रेलियन फेडरल पुलिसले आत्मसमर्पण गरिएका हतियारहरू नष्ट गर्ने जिम्मेवारी पाउनेछ ।

यो घोषणाले अष्ट्रेलियामा हतियार नियन्त्रणलाई थप कडा बनाउने राष्ट्रिय प्रयासको हिस्सा हो । जसले व्यक्तिगत रूपमा राख्न सकिने हतियारको संख्या सीमित गर्ने, लाइसेन्सलाई अष्ट्रेलियन नागरिकमा मात्र सीमित गर्ने लगायतका सुधारहरू समावेश गर्नेछ ।

 

Nepal life insurance