



काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रका बारेमा दिएको अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले पुर्वराष्ट्रपति भण्डारीले आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला भन्ने प्रश्न गर्दै पुर्वराष्ट्रपति भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको बताएका छन् ।


ज्ञवालीले ईश्वर पोखरेल समुहले गरेको भेलाप्रति पनि प्रश्न उठाएका छन् । ज्ञवालीले महाधिवेशन सकिए लगत्तै गरिएको छुट्टै भेला अपेक्षित नभएको टिप्पणी गर्दै महाधिवेशनपछि पनि पूर्वकै ब्यागेज बोकेर दुई लाइनको सङ्घर्ष, प्रतिवाद, र खोक्रो एकता जस्तो बाटोमा हिँड्दा कहीँ नपुगिने बताएका छन् ।
उनले भनेका छन्-
हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन ।
एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो- केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुन: अनुमोदित गरेको छ । अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन ।
तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर् याएका छौं । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?
पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?



