



-अनिल नेपाली , अर्घाखाँची डटकम ।
अर्घाखाँची। सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको आगामी निर्वाचनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बहिष्कार गर्ने औपचारिक घोषणा गरेको छ।

पार्टीका पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्युरो सेक्रेटरी जितामित्र सुनार ले निर्वाचन बहिष्कार गर्नु जनताको मौलिक लोकतान्त्रिक अधिकार भएको स्पष्ट पार्नुभएको छ।



क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सुनारले वर्तमान निर्वाचन प्रणालीले जनताको वास्तविक प्रतिनिधित्व गर्न नसकेको आरोप लगाउनुभयो।

“जनताको हकहित विपरीत सञ्चालन भइरहेको निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै हामी शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छौं,” उहाँले भन्नुभयो, “निर्वाचन बहिष्कार गर्नु कुनै अपराध होइन, यो जनताको लोकतान्त्रिक अधिकार हो।”

कार्यक्रममा सहभागी पार्टीका अन्य नेताहरूले पनि वर्तमान राज्यसत्ता, शासन प्रणाली र निर्वाचन संरचनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै जनताको पक्षमा वैकल्पिक राजनीतिक बाटोको आवश्यकता औंल्याएका थिए।


उनीहरूले बहिष्कार कार्यक्रमका क्रममा कुनै पनि प्रकारको हिंसा नगरी शान्तिपूर्ण रूपमा जनचेतना फैलाइने स्पष्ट गर्दै सरकारलाई जनआवाज सुन्न र जनमुखी राजनीतिक परिवर्तनतर्फ अग्रसर हुन आग्रह गरेका छन्।

पत्रकार भेटघाट कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षता तथा बुद्धिराम गैरेको सञ्चालनमा सम्पन्न भएको थियो।
थप तस्बिर ः




