



काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको प्रधानमन्त्री सुशिला कार्कीसहितको तीन दलका शिर्ष नेताहरुको छलफल सकिएको छ । शित्तल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो । छलफलमा राष्ट्रपति पौडेलले फागुन २१ मा तोकिएको निर्वाचन सफल बनाउनुको विकल्प नरहेको बताएका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउने बातावरण बनाउन तीन दलका शिर्ष नेतालाई आग्रह गरेका थिए । साथै छलफलमा चुनावको वातावरण बनाउने गरि प्रधानमन्त्री सुशिला कार्कीसँग शिर्ष दलका नेताहरुले बालुवाटारमा थप छलफल गर्ने समझदारी बनेको छ । फागुन २१ मा तोकिएको निर्वाचनको मिति नजिक आइरहेको र प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अदालतमा गएको समयमा यो छलफल भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको शिर्ष दलका तीन प्रमुख नेतासँग पहिलो पटक भेटवार्ता भएको छ ।

२- राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा निधन भएको छ । मंगलबार मण्डलको विराटनगरस्थित निवासमा निधन भएको हो । उनी नेपाल सद्भावना पार्टीका पूर्व कार्यवाहक अध्यक्ष पनि हुन् । पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र दुवैको विश्वास जितेर मण्डल पटक–पटक मन्त्री बनेका थिए । २०३८ सालमा अर्थ सहायक मन्त्री बनेका मण्डल २०४३ मा कानुन तथा न्यायमन्त्री बनेका थिए । २०६१ सालमा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उनी तेस्रो वरियतासहित उपप्रधानमन्त्री तथा कृषिमन्त्री बनेका थिए । २०५६ सालको निर्वाचनमा उनले मोरङ- ५ बाट कांग्रेस नेतृ शैलेजा आचार्यलाई पराजित गरेका थिए । गणतन्त्र स्थापनापछि राजनीतिबाट ओझेल परे पनि जीवनको उत्तरार्धमा पुनः सद्भावना पार्टी हुँदै राजावादी राजनीतिमा सक्रिय रहेका थिए । मण्डलका उनका दुई श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
३- जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित तीन जनाको स्थान हद फुकुवा गरेको छ । आयोगले मंगलबार पत्र पठाउँदै पूर्वगृहसचिव दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाएको स्थान हद फुकुवा गरेको हो । उनीहरूको बयान सकिएकाले स्थान हद फुकुवा गरिएको आयोगले जनाएको छ । आयोगले दिएको पत्रमा स्थान हद र विदेश भ्रमण फुकुवा गरेको उल्लेख छ। आयोगले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका हिंसात्मक घटनाको अनुसन्धानका लागि उनीहरूमाथि स्थान हद लगाएको थियो ।
४- नेकपा एमालेले आफ्ना अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलको अनुगमन गर्न गएका सरकारका मन्त्रीहरुसहितको सरकारी टोलीसँग एमालेका नेताहरुले अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेका हुन् । एमाले उपमहासचिव रघुवीर महासेठले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारेका थिए । महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएका थिए । सो अवसरमा सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र एमालेका नेताहरुले चुनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको जानकारी दिए । मन्त्री खरेलले कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्ने समेत बताए । भदौ २४ गते ध्वस्त भएको एमालेको पार्टी कार्यालय अनुगमन गर्न सरकारी टोली आज अनुगमनका लागि गएको हो । सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीलेसरकारी टोलीले आजै नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको थियो ।
५- नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । अख्तियारले गिरीले पेश गरेको एसएलसी सरहको अध्ययन गरेको प्रमाणपत्र भारतको बिहार स्कुल परीक्षा बोर्डको पेश गरेकोमा अनुसन्धानका क्रममा नक्कली पुष्टि भएको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । उनले नक्कली प्रमाणपत्र पेश गरि २०५२ साल मंसी १६ मा नेपाल प्रहरीको नायब निरिक्षक (प्राविधिक) मा नियुक्त लिएर हाल वरिष्ठ उपरीक्षकमा बढुवा समेत लिएको भन्दै यसक्रममा सेवा सुबिधा लिएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको दाबि रहेको छ ।
६- राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदुत छन् सोङले बिदाई भेट गरेका छन् । मंगलबार शित्तल निवासमा राष्ट्रपति पौडेलसँग सोङले बिदाई भेट गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको र राष्ट्रपति पौडेलले राजदुत सोङले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

७- अष्ट्रेलियाले इन्टरनेटमा बालबालिकालाई सुरक्षित राख्न अर्को ठूलो कदम चालेको छ । डिसेम्बर २७ देखि लागू हुने नयाँ अनलाइन सुरक्षा संहिता अन्तर्गत, खोज इन्जिनहरूले अब केही अवस्थामा अश्लील र हिंसात्मक तस्बिरहरूलाई धमिलो (ब्लर) गर्नुपर्ने व्यवस्था गरेको छ । यी नयाँ नियमहरूले इन्टरनेटमा हानिकारक सामग्रीबाट बालबालिकाहरूलाई जोगाउने लक्ष्य राखेका छन् । अष्ट्रेलियाले हालै १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । सरकारले कम्पनीहरूले पालना नगरेमा ४ करोड ९५ लाख डलर जरिवाना भोग्नुपर्ने चेतावनी पनि दिएको छ । अष्ट्रेलियाको अनलाइन सुरक्षा संस्था, इसेफ्टीले २०२२ मा एक सर्वेक्षण गरेको थियो । यसले १६ देखि १८ वर्ष उमेरका तीनमध्ये एक युवाले पहिलो पटक अश्लील सामग्री हेर्दा १३ वर्ष मुनिको भएको स्वीकार गरेको पत्ता लगाएको छ । ई-सुरक्षा आयुक्त जूली इनम्यान ग्रान्टले खोज इन्जिनहरू हानिकारक सामग्रीको ‘मुख्य प्रवेशद्वार’ भएको भन्दै यसलाई रोक्न महत्त्वपूर्ण रहेको बताएकी छन् । यी नियमहरू उल्लङ्घन गर्ने प्राविधिक कम्पनीहरूले (जस्तै गुगल, मेटा र माइक्रोसफ्ट) ले ४ करोड ९५ लाख अस्ट्रेलियाली डलरसम्मको जरिवाना तिर्नुपर्ने व्यवस्था कानुनमा गरिएको छ । नियमहरू अनुसार, गुगल र बिंग जस्ता कम्पनीहरूले जुन २७, २०२६ सम्ममा अष्ट्रेलियामा आफ्ना प्रयोगकर्ताहरूको लागि कडा उमेर प्रमाणिकरण उपायहरू लागू गर्नुपर्नेछ । कम्पनीहरूले प्रयोगकर्ता १८ वर्षभन्दा माथिको छ कि छैन भनेर निर्धारण गर्न फोटो आईडी (डिजिटल आईडी प्रणाली) र अनुहारको उमेर अनुमान प्रविधि (अनुहारको उमेर अनुमान) प्रयोग गर्न सक्छन् । अन्य उमेर प्रमाणिकरण विकल्पहरूमा क्रेडिट कार्ड प्रमाणिकरण र प्रयोगकर्ता डेटाबाट उमेर निर्धारण गर्न एआई जस्ता विकल्पको सुझाव कानुनले दिएको छ । नयाँ कोड लागू भएपछि इन्टरनेट खोज अनुभवमा उल्लेखनीय परिवर्तन हुनेछ । कम्पनीहरूले १८ वर्ष मुनिका खाता धारकहरूको लागि सामग्री फिल्टर गर्न आवश्यक हुनेछ । उदाहरणका लागि, यदि कुनै बच्चाले ‘अश्लील साइट’ खोज्छ भने, तिनीहरूले कुनै नतिजा देख्ने छैनन् । यदि प्रयोगकर्ता लग इन गरिएको छैन भने, स्पष्ट वा हिंसात्मक थम्बनेल छविहरू स्वचालित रूपमा खोज परिणामहरूमा धमिलो हुनेछन् । खोजमा टाइप गर्दा यौन स्पष्ट वा हिंसात्मक शब्दहरूको लागि सुझावहरू देखा पर्न बन्द हुनेछन् । यो नियम सामान्य खोजहरूमा मात्र नभई गुगलको एआई उपकरणहरू जस्तै जेमिनीद्वारा प्रदर्शित परिणामहरूमा पनि लागू हुने बताइएको छ । नयाँ नियमहरूले मानसिक स्वास्थ्यलाई पनि सम्बोधन गर्ने दाबी गरिएको छ । यदि कसैले आत्महत्या वा आत्म-हानि खोज्छ भने, त्यस्ता सामग्रीलाई खोजको नतिजामा डाउनग्रेड गरिनेछ । बरु, हेल्पलाइन नम्बरहरू र संकट व्यवस्थापन जानकारी शीर्षमा प्रदर्शित हुनेछ । यो २०२५ मा आउने धेरै नयाँ, कडा नियमहरू मध्ये एक हो, जुन बालबालिकाको लागि इन्टरनेट सुरक्षित बनाउने दिशामा एक प्रमुख पहल मानिएको छ ।

८- नेप्सेमा आज सामान्य करेक्सन भएको छ । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन वीमा, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज एसवाई प्यानलको शेयर मुल्य सर्बाधिक ७.०१ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटिजन लाइफ इन्सुरेन्सको ५.९७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ९८ लाख कारोबार भएको छ भने सागर डिस्टिलरीको ८५ लाखको कारोबार भएको छ ।
९- भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका बोलाएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाएर बयानका लागि बोलाएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ । आयोगले यसपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी गरेको छ । सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएर काम गरिरहेको छ । यस क्रममा आयोगको सुरुमा तोकिएको तीन महिनाको समय सकिएपछि एक महिना थप गरिएको छ । जस अनुसार आयोगको म्याद माघ ९ गतेसम्म रहेको छ ।
१०- सरकारका मन्त्रीहरुले भदौ २४ मा आगजनी गरिएका राजनीतिक दलका पार्टी कार्यालयको अनुगमन गरेका छन् । यसैक्रममा मंगलबार सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले नेपाली कम्युनिष्ट पार्टीको पेरिसडाँडास्ठित कार्यालयमा पुगेर क्षतिको अनुगमन गरेको छ । सो अवसरमा मन्त्रीसहितको सरकारी टोलीले क्षतिको अनुगमन गर्नुका साथै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । सरकारी टोलीले आजै नेपाली कांग्रेस र एमालेको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको छ ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चरणमा नपुगेको स्पष्ट गरेका छन् । सोमबार राति बालेनसँग भएको छलफल बारे प्रतिक्रिया दिदै लामिछानेले बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा नपुगेको बताएका हुन् । लामिछानेले अन्य शक्तिहरुसँग पनि छलफल गर्ने र सकेसम्म सबै एक ठाउमा आउने प्रयास गरिरहेको बताए । लामिछानेले भने- हामीले शुरुमा पनि भनेका थियौं, परिवर्तनमा लागेका सबैलाई संवाद मार्फत एक ठाउमा ल्याउने प्रयासस्वरूप अगाडी बढी नै रहेका छौं । यसलाई टुंगोमा पुर्याउने गरि संवाद शुरु भएको छ । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भन्ने चरणमा हामी प्रवेश गरेका छैनौं । पहिला थाहा हुनुपर्यो, एक अर्कासँग परिस्थिति बारे जानकारी लिनुपर्यो । विस्तारै हामी राजनीतिक चरणमा प्रवेश गर्छौं ।’ लामिछानेले आफुहरु दुई जना मात्र बसेको वार्तामा सबैले आफ्नो किसिमले टिप्पणी नगर्न समेत उनले आग्रह गरे । बालेन र लामिछानेबीच सोमबार करिब ६ घण्टा भेटवार्ता भएको थियो ।
१२- राहदानी विभागले अन्तरिम अवधिका लागि ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको छ । विभागले ७ लाख राहदानी आपूर्तिका लागि भएको सम्झौता अन्तर्गत ३ लाख ९६ हजार थान राहदानी प्राप्त गरेको जानकारी दिएको हो । राहदानी आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वितरण गर्ने जनाएको छ । विभागले जिल्ला र इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कार्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी यस अघिकै सूचना अनुसार पठाई सकिएको र मङ्सिर १५ सम्म आवेदन दिने आवेदकहरूको राहदानी छपाई गरी यही पुस १५ भित्र विभागबाट पठाउने व्यवस्था गरिएको जनाएको छ । त्यस्तै मङ्सिर १५ गते पछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम पौष १५ पछि क्रमशः छपाई गरी पठाइने व्यवस्था मिलाइने र विदेश स्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा छपाई गरी पठाउने व्यवस्था मिलाइएको जनाएको छ । त्यस्तै राहदानी विभागबाट आवेदन दिन चाहने सेवाग्राहीका लागि माग अनुसार पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउने व्यवस्था मिलाइएको र साबिककै हिसाबमा सामान्यतः २ कार्य दिन भित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

१३- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छनौट, पार्टीको महाधिवेशनको तयारीका विषयमा छलफल गर्ने बताइएको छ ।
१४- इन्डोनेसियाका २८ वर्षीय दायाँ हाते द्रुत बलर गेडे प्रियन्दनाले अन्तर्राष्ट्रिय टी-२० खेलमा एक ओभरमा पाँच विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् । मंगलबार बालीमा कम्बोडियाविरुद्धको पहिलो टी-२० खेलमा प्रियन्दनाले एकै ओभरमा ५ विकेट लिएका थिए । इन्डोनेसियाले दिएको १६८ रनको पछ्याउने क्रममा कम्बोडियाले १०६ रन बनाएर ५ विकेट गुमाएको अवस्था रहेको थियो । प्रियन्दनाले खेलको १६औं ओभर बलिङ गर्दै पहिलो तीन बलमा लगातार तीन विकेट लिएर ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि चौथो बल डट भएको थियो । पाँचौं बलमा उनले अर्को विकेट लिए भने छैटौं बल ह्वाइट फालेका थिए । त्यसपछि अन्तिम बलमा अर्को विकेट लिएर कम्बोडिया १०७ रनमा अल आउट भएको थियो । अन्तर्राष्ट्रिय खेलमा कुनै बलरले एक ओभरमा पाँच विकेट लिएको यो पहिलो पटक हो, तर आजभन्दा पहिले कुनै बलरले एक ओभरमा चार विकेट भने १४ पटक लिएका छन् । यी मध्ये सबैभन्दा प्रसिद्ध थियो जब श्रीलंकाका लसिथ मालिंगाले २०१९ मा न्युजिल्याण्डविरुद्धको टी-२० को तेस्रो ओभरमा चार बलमा चार विकेट लिएका थिए ।
१५- नेपालमा आयोजना हुने आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको खेल तालिका सार्बजनिक भएको छ । जनवरी १४ देखि फेब्रुअरी १ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् । ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रहेका छन् । नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध जनवरी १८ मा खेल्ने छ भने दोस्रो खेल जनवरी २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले तेस्रो खेल जनवरी २४ मा जिम्बाबेविरुद्ध र जनवरी २६ मा चौथो खेल स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । यस अघि नेपालले आयरल्याण्ड र अमेरिकासँग वार्मअप खेल खेल्ने छ । प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र अपर मुलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
१६- नेपाली बजारमा आजपनि सुनचाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ५५ सयले बढेर तोलाको २ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४२५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको पनि अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार चाँदी तोलाको ४१३५ मा कारोबार भएको थियो ।
१७- शिक्षामन्त्री महावीर पुनले युवाहरुलाई नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले काठमाडौँमा जुलुस निकालेर केहि नहुने बताउदै युवा पुस्ताले नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्न आग्रह गरेका हुन् । पुनले हिजो भएको राजनैतिक पार्टीहरू, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगको ६ घण्टा बसेको छलफलमा बिदेशमा बस्ने नेपालीहरुलाई भोट दिन सक्ने व्यवस्था गर्ने प्रस्तावको कुनै निर्णय नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । उनले नेताहरू र नागरिक समाजको अगुवाहरुले भाषण मात्र छाँटेको र ६ महिने सरकारको दोषहरु मात्र देखाएको बताउदै कुनै पनि समस्याको निकासको लागि सृजनशिल र ठोस राय दिन नसक्ने पार्टीहरु, नेताहरु, नागरिक समाज र सरकारले देशलाई डुबाउने टिप्पणी गरेका छन् ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ३० देशका राजदुतलाई फिर्ता बोलाएको छ । मिडिया रिपोर्टका अनुसार अमेरिकी विदेश मन्त्रालयले विश्वका ३० देशमा कार्यरत राजदुतलाई अर्को महिनासम्म फिर्ता आउन निर्देशन दिएको हो । राजदुतलाई फिर्ता बोलाउने कुनै कारण नदिइएको बताइएको छ । फिर्ता बोलाइएका राजदुतमा अफ्रिकाका एक दर्जनभन्दा बढी छन् भने एशियाका नेपालसहित ६ देशका राजदूतहरू रहेको बताइएको छ । त्यसै चार युरोपेली देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ । राजदुत फिर्ता बोलाइएका देशहरुमा नेपाल, अल्जेरिया, अर्मेनिया, बुरुण्डी, क्यामरुन, केप भार्डे, इजिप्ट, फिजी, गाबोन, ग्वाटेमाला, आइभरी कोष्ट, लाओस, मचेडोनिया, माडागास्कर, द मार्शल आइल्याण्ड, मरिसस, मोन्टेनेग्रो, नाइजेरिया, नाइजर, पपुवा न्यूगीनी, फिलिपिन्स, रवान्डा, सेनेगल, स्लोभाकिया, सोमालिया, श्री लंका, सुरिनेम र भियतनामलगायत रहेका छन् ।

१९- एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३.६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ । यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ । यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३.६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।
२०- भारतस्थित बंगलादेश उच्चायोगले सुरक्षा कारण देखाउँदै सबै भिसा र कन्सुलर सेवाहरू अस्थायी रूपमा निलम्बन गरेको छ । मिडिया रिपोर्टहरूका अनुसार, यो निलम्बन अर्को सूचना नभएसम्म लागू रहनेछ । यसअघि, अगरतलास्थित बंगलादेश वाणिज्य दूतावासले पनि भिसा सेवाहरू निलम्बन गरेको थियो । आइतबार, भारतले सुरक्षा अवस्थाका कारण चटगाउँस्थित आफ्नो सहायक उच्चायोगमा भिसा सेवाहरू निलम्बन गरेको थियो । भारत विरोधी विरोध प्रदर्शनपछि यो निर्णय लिइएको थियो । बिहीबार, चटगाउँमा एक भीडले भारतीय सहायक उच्चायुक्तको निवासमा पुगेर ढुङ्गा प्रहार गरेको थियो । खुलना, राजशाही र ढाकामा रहेका भारतीय कार्यालयहरू बाहिर पनि भारत विरोधी नाराहरू लगाइएको थियो । शनिबार राति, बंगलादेशमा एक हिन्दू युवाको हत्याको विरोधमा दिल्लीस्थित बंगलादेश उच्चायोग बाहिर विरोध प्रदर्शन भएको थियो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विरोध प्रदर्शन धेरै सानो र शान्तिपूर्ण रहेको बताएका थिए । बंगलादेशले भारतको भनाइलाई अस्वीकार गर्दै स्थिति धेरै गम्भीर भएको बताएको छ । ढाकाले घटनालाई भ्रामक प्रचार भन्नु गलत भएको बताएको छ । बंगलादेशको गृह मन्त्रालयले पनि उस्मान हादीको हत्याका अभियुक्तले भारतमा शरण लिएको कुनै ठोस जानकारी नभएको बताएको छ । हादीको हत्यापछि बंगलादेशमा भारतविरुद्ध आक्रोश व्यक्त गरिएको छ ।



