



-अनिल नेपाली ,अर्घाखाँची डट्कम ।
अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भोलिदेखि चौथो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु हुने भएको छ। शीतगंगा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी संघका अध्यक्ष लक्ष्मण पन्थी ले पत्रकार सम्मेलनमार्फत गराउनुभएको हो।


अध्यक्ष पन्थीका अनुसार शीतगंगा नगरपालिकालाई व्यावसायिक, पर्यटकीय तथा औद्योगिक दृष्टिले देश–विदेशमा चिनाउने, साथै स्थानीय स्तरमा उत्पादित कृषि तथा घरेलु उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्य ले महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ। महोत्सव स्थल नजिकै रहेको ठाडा डम्वरू दहमा मेला अवधिभर स्टिमर डुङ्गा सञ्चालन गरिने व्यवस्था गरिएको प्रबन्ध निर्देशक सुशील केसी ले जानकारी दिनुभयो, जसले पर्यटकीय आकर्षण थप्ने विश्वास गरिएको छ।


महोत्सव अवधिभर करिब २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। साथै महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यसले दर्शकको सहभागिता बढाउनुका साथै स्थानीय उत्पादनको खपतमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

शीतगंगा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चिन्ताराज अधिकारी ले महोत्सवलाई ऐतिहासिक, रचनात्मक र आर्थिक रूपमा प्रभावकारी बनाउने गरी आयोजना गरिएको बताउनुभयो।


त्यसैगरी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल ले महोत्सवमा स्थानीय उत्पादन र स्थानीय प्रतिभालाई उच्च प्राथमिकता दिन आयोजकलाई आग्रह गर्नुभएको छ।

पुस ९ गतेदेखि पुस २१ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा उल्लेखनीय दर्शक तथा व्यवसायीहरूको सहभागिता रहने आयोजकको विश्वास रहेको छ।
थप तस्बिर –








