



काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताए । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने- ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’

२- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मौसममा आएको परिवर्तनसँगै तराई–मधेशमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले मौसममा आएको परिवर्तनका कारण समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गरेका छन् । प्रचण्डले प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन् ।

३- पाशुपत क्षेत्र जयवागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको छ । पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको हो । ‘यो ढुङ्गेधारा लिच्छवीकालीन हो ।’ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्न सक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत वृहत ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने- ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’ पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै संगत भन्छन्- ‘यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इञ्जिनियरिङ्को जीवन्त दशी पनि हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’ ‘सुन्धारा वास्तुकलात्मक छ । ढुङ्गाहरुमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् ।’ यसको प्रचलनका विषयमा जानकारी दिँदै जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागेश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले पनि माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’
४- काठमाडौँ महानगरका प्रमुख बालेन शाहले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अभियन्ता र जेनजी नेताहरुसँग परामर्श गर्दै आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् । बालेनले विहिबार मात्र उर्जामन्त्री कुलमान घिसिङदेखि डा. बाबुराम भट्टराईसम्म भेटवार्ता गरेका छन् । बालेनलाई भेट्न कुपण्डोलमा एक पछि अर्को गर्दै नेताहरु पुगेका थिए । बालेनले आज पनि रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । बालेन र लामिछानेको आज पनि तीन घण्टाभन्दा बढी समय भेटवार्ता भएको थियो । भेटपछि लामिछानेले स्पष्ट जानकारी नदिएपनि मेरो अनुहार हेरेर के लाग्छ ? भन्ने जवाफ दिएका थिए । त्यस्तै निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि बालेन र लामिछानेको भेट जारी रहेकै समयमा पुगेका थिए । भेटपछि अमरेशले बालेन र रवि मिल्ने दाबि गरे । त्यस्तै आज बालेनलाई भेट्न हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार पनि पुगेका थिए । त्यस्तै डा. बाबुराम भट्टराईले पनि कुपण्डोल पुगेर बालेनसँग भेट गरेका छन् । त्यसअघि आजै काँग्रेस नेता सुनिल कुमार शर्मा, जेनजी अभियन्ता सागर ढकाल, रक्षा बम लगायतले बालेनसँग छलफल गरेका थिए । आजै बिहान उर्जामन्त्री कुलमान घिसिङसँग पनि बालेनको छलफल भएको थियो । बालेनसँगको भेटपछि कुलमानले आज उज्यालो पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा सबै नयाँ शक्तिहरु एक ठाउमा आउने दाबि गरेका छन् । बालेनले सक्रिय राजनीतिमा आउने निश्चय गरेसँगै बुधबार काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, नाउपाका संरक्षक रेशम चौधरी, डा. भगवान कोइरालासहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरुसँग छलफल गरेका थिए । बालेनले सकेसम्म सबै नयाँ शक्तिलाई एक ठाउमा ल्याउने नभए आफ्ना शुभचिन्तकहरुले दर्ताको गरेको देश विकास पार्टीबाट चुनावमा जाने तयारी गरेको उनी निकट व्यक्तिहरुले बताएका छन् ।
५- नेपाली काँग्रेसले राष्ट्रिय सभाको अधिवेशन तत्काल आव्हान गर्न माग गरेको छ । कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने माग गर्ने निर्णय गरेको हो । कांग्रेसले देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिएका छन् ।

६- पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । विहिबार काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रतिक्रिया दिदै आफु सोमबार बयान दिन जाने बताएका हुन् । लेखकले आयोगले आफुलाई शुक्रबारका लागि बोलाएको तर आफुले सोमबार आउने जानकारी गराएको बताएका छन् । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मंगलबार पत्र लेख्दै बयानका बोलाएको थियो ।
७- काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ । समारोहमा १६ हजारभन्दा बढी विद्यार्थी र उनीहरुका परिवार सहभागी भएका थिए । त्रिविको यस दीक्षान्त समारोहमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी भएका थिए । २०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित भएको त्रिविले जानकारी दिएको छ । त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र कानुन गरी ९ संकायमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन् ।
८- भारत र अमेरिकाबीचको व्यापार सम्झौता अझै निष्कर्षमा पुग्न सकेको छैन । भारतले व्यापार वार्तामा अमेरिकालाई आफ्नो अन्तिम प्रस्ताव प्रस्तुत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतले लगाइएको समग्र ५० प्रतिशत कर १५ प्रतिशतमा घटाइन र रूसी कच्चा तेल खरिदमा लगाइएको थप २५ प्रतिशत जरिवाना पूर्ण रूपमा हटाउन प्रस्ताव गरेको छ । दुई देशबीच जारी यी वार्ताहरूले नयाँ वर्षमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ । दुई देशबीच व्यापक द्विपक्षीय व्यापार सम्झौतामा वार्ता भइरहेको जारी रहेको छ र चाँडै नै सम्झौता हुन सक्ने बताइएको छ । यस हप्ता, भारत र अमेरिकाका व्यापार टोलीहरू दिल्लीमा वार्ता गरेका थिए । अहिलेको वार्ता दुई मुद्दाहरूमा केन्द्रित छन्, जसमा पहिलो व्यापक र स्थायी व्यापार सम्झौता र अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत कर हटाउन वा घटाउनको लागि एक रूपरेखा सम्झौता । अमेरिकाले भारतमाथि कुल ५० प्रतिशत कर लगाएको छ, जसमध्ये २५ प्रतिशतलाई ‘पारस्परिक कर’ भनिएको छ भने २५ प्रतिशत रूसी तेल खरिद गरे बापत लगाइएको छ । अमेरिकाले यसले रूसलाई युक्रेन युद्ध जारी राख्न मद्दत गरिरहेको बताएको छ । भारतले यो जरिवाना अनुचित भएको र तुरुन्तै हटाउनुपर्ने बताएको छ । व्यापार सम्झौतामा छलफल भइरहेका बेला भारतको रूसी तेल आयातमा उल्लेखनीय गिरावट आएकोले सहमति हुने अनुमान गरिएको छ । दुई प्रमुख रूसी तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइलमाथि अमेरिकी प्रतिबन्धहरू नोभेम्बर २१ मा लागू भएका छन् र त्यसपछि रूसबाट भारतको तेल आयात घट्न थालेको छ । भारतको रूसी तेल आयात, जुन नोभेम्बरमा प्रति दिन लगभग १.७७ मिलियन ब्यारेल थियो, डिसेम्बरमा प्रति दिन लगभग १२ लाख ब्यारेलमा झरेको छ । यो संख्या भविष्यमा प्रति दिन १० लाख ब्यारेलभन्दा कम हुन सक्ने बताइएको छ । युक्रेन युद्ध पछि, भारत रूसको सबैभन्दा ठूलो तेल खरिदकर्ता बन्यो, जुन स्थिति ट्रम्प प्रशासनले बारम्बार प्रश्न उठाउँदै आएको छ । अमेरिकी अधिकारीहरूले भारतले रूसबाट तेल खरिद गरेर युक्रेनमाथिको आक्रमणलाई अप्रत्यक्ष रूपमा आर्थिक सहयोग गरिरहेको आरोप लगाउदै आएका छन् ।
९- विश्वको सबैभन्दा मूल्यवान चिप कम्पनी एनभिडियाले एआई स्टार्टअप ग्रोक (Groq) को सम्पत्ति लगभग २० बिलियन नगदमा प्राप्त गर्न सहमत भएको छ । एनभिडियाको यो अहिलेसम्मको सबैभन्दा ठूलो अधिग्रहण भएको बताइएको छ । पहिले, मेलानबक्सले २०१९ मा सबैभन्दा ठूलो सम्झौता गरेको थियो, जसको मूल्य लगभग ७ बिलियन डलर थियो । ग्रोक एआई अनुमान चिप्समा विशेषज्ञता रहेको छ । रिपोर्टका अनुसार ग्रोकको एलपीयू (भाषा प्रशोधन इकाई) चिपहरू १० गुणा छिटो र १० गुणा कम शक्तिमा ठूला भाषा मोडेलहरू (एलएलएमएस) चलाउन सक्षम रहेका छन् । एआई अनुमानले प्रशिक्षित एआई मोडेलहरूबाट वास्तविक-समय उत्तरहरू निकाल्ने कुरालाई जनाउँछ, जुन च्याटबटहरू, खोज इन्जिनहरू र एआई सहायकहरूको लागि महत्त्वपूर्ण मानिन्छ । रिपोर्टहरूले यो सम्झौता गैर-विशेष लाइसेन्सिङ मोडेलमा आधारित रहेको बताएका छन् । एनभिडियाले ग्रोकको अनुमान प्रविधिलाई लाइसेन्स दिनेछ । ग्रोकका संस्थापक, जोनाथन रस, र वरिष्ठ इन्जिनियरहरू एनभिडियामा सामेल हुनेछन्, तर ग्रोकक्लाउड व्यवसाय सम्झौताको हिस्सा नभएको बताइएको छ । किनकि ग्रोकले एक स्वतन्त्र कम्पनीको रूपमा काम गर्न जारी राख्नेछ । एनभिडिया पहिले नै एआई मोडेल तालिममा अग्रणी छ, तर यसले एएमडी, ग्रोक र सेरेब्रास जस्ता कम्पनीहरूबाट अनुमान क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । यस सम्झौता मार्फत, एनभिडियाले आफ्नो कम-विलम्बता र वास्तविक-समय एआई प्रशोधन क्षमताहरूलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ । एनभिडियाका सीईओ जेन्सेन ह्वाङले कर्मचारीहरूलाई पठाएको इमेलमा ग्रोकको प्रविधिलाई एनभिडियाको एआई कारखाना वास्तुकलामा एकीकृत गरिने बताएका छन् । रिपोर्टहरू अनुसार, ग्रोकले सेप्टेम्बर २०२५ मा ७५० मिलियन डलर कोष जुटाएको थियो । त्यतिबेला कम्पनीको मूल्याङ्कन ६.९ बिलियन डलर थियो, जुन एक वर्ष अघि मात्र २.८ बिलियन डलर थियो । यसले एआई इन्फरन्स चिप्सको माग कति छिटो बढिरहेको छ भनेर देखाउँछ । एनभिडिया र ग्रोकले आधिकारिक रूपमा २० बिलियन डलरको आंकडाको पुष्टि नगरेको सिएनबिसीको रिपोर्टमा उल्लेख छ र सम्झौता एन्टिट्रस्ट नियामकहरूबाट छानबिन हुन सक्ने बताइएको छ । यो सम्झौतालाई बढ्दो प्रवृत्तिको अंशको रूपमा हेरिएको छ जहाँ ठूला प्राविधिक कम्पनीहरूले सम्पूर्ण कम्पनीहरू किन्नुको सट्टा प्रविधि र प्रतिभामा ध्यान केन्द्रित गरिरहेका छन् । हालसालैका उदाहरणहरूमा माइक्रोसफ्ट र मेटा बीचको सम्झौताहरू समावेश छन् ।
१०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् । नेकपा एमालेको हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताए । उनले भने- ‘अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो । हामीले वातावरण बिगारेका छैनौँ । वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ । हामीले मान्छे काट्छौँ, मार्छौ भनेका छैनौँ । त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ । कहिले जेनजीका नाममा मान्छे उचाले हमलाको प्रयास गरिएको छ । देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्छ । राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरु हाम्रो काँधमा रहेका छन् । युवाहरु गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न ।’ राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरु चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताउँदै उमले प्रतिनिधिसभाको पुनःस्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताए । उनले गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुन सम्मत नभएको स्पष्ट गरे । जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने- ‘स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत छ ।’
११- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहले राजनीतिमा आउन सक्रियता बढाएपछि कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जेनजीलाई उक्साएर मर्न लगाएर जेनजीको अन्त्यष्टिमा समेत ननिस्किएर लुकेर गेम खेल्ने गेमर पनि चुनावमा आउने भन्दै कटाक्ष गरेका हुन् । जेनजी आन्दोलनअघि नजिकको सम्बन्ध भएका बालेन र साम्पाङ जेनजी आन्दोलनपछि आफुलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको भन्दै साम्पाङले बालेनलाई लगातार सामाजिक सञ्जालमा आक्रमण गर्दै आएका छन् । बालेनले फागुन २१ को निर्वाचनको समानुपातिक सुची बुझाउने पुष १३ र १४ को मिति नजिकिदै गर्दै राजनीतिक सक्रियता बढाएपछि राजनीति वृत तरंगित बनेको छ । बालेनले हिजो बुधबार र आज राजनीतिक दलका नेताहरु, अभियन्ता र जेनजी आन्दोलनका नेताहरुसँग छलफल गरेर राजनीतिमा सक्रिय हुने तयारी गरिरहेका छन् ।
१२- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन् । उनको पार्टी बीएनपीका एक लाख कार्यकर्ता ढाका विमानस्थल नजिकै उनको स्वागत गर्न भेला भएका छन् । रहमान २००८ मा पक्राउबाट बच्न लन्डन भागेका थिए । त्यतिबेला हसिना सरकारको समयमा उनीविरुद्ध धेरै भ्रष्टाचारका मुद्दाहरू लगाइएको थियो । बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको छ । शेख हसिनाको पार्टी, अवामी लिगलाई प्रतिबन्ध लगाइएकोले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) विजयको प्रमुख दावेदार मानिएको छ । बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी र सिकिस्त बिरामी रहेकाले रहमानलाई बंगलादेशको चुनावपछिको प्रधानमन्त्रीको लागि प्रमुख दावेदार मानिएको छ । बंगलादेशमा, तारिकलाई उनका परिवारका सदस्यले स्वागत गरेका थिए । विमानस्थलबाट निस्केपछि, तारिक रहमानले पार्टीका नेता र कार्यकर्ताहरूलाई धन्यवाद दिन ३०० फिट पैदल यात्रा गरेका थिए र त्यसपछि एभरकेयर अस्पतालमा उपचाररत आफ्नी आमा खालिदा जियालाई भेट्ने जाने बताइएको छ । बंगलादेश पुगेपछि तारिकले ६ हजार ३१४ दिन पछि बंगलादेश फर्किएको बताउदै अन्ततः बंगलादेशी माटोमा पुगेको बताएका छन् ।
१३- रुसको याकुतियामा तापक्रम -५६ डिग्री सेल्सियसमा झरेको छ, जुन पृथ्वीकै सबैभन्दा कम मानिन्छ । याकुतियाको टिक्सी गाउँमा विगत तीन दिनदेखि तीव्र हिमपात भइरहेको छ । जताततै हिउँ रहेको र तिब्र गतिको हावाले उडाएको हिउँले मानिसहरूलाई बाहिर निस्कन अत्यन्तै गाह्रो बनाएको रिपोर्टमा उल्लेख छ । अवस्थालाई ध्यानमा राख्दै, प्रशासनले सबै विद्यालयहरूमा बिदा घोषणा गरेको छ र बालबालिकाहरूको सुरक्षा सुनिश्चित गर्न किन्डरगार्टेनहरू बन्द गरेको छ । निरन्तर हिमपातका कारण धेरै घरहरूको मुख्य ढोकासम्म हिउँ जमेको छ । केही ठाउँहरूमा, हिउँ यति धेरै छ कि मानिसहरू आफ्नो घरबाट बाहिर निस्कन सक्दैनन्। धेरै परिवारहरूलाई आवश्यक सामानहरू प्राप्त गर्न पनि कठिनाइ भइरहेको छ । मौसम विभागले आगामी दिनहरूमा चिसो बढ्न सक्ने चेतावनी दिएको छ, तापक्रम -६० डिग्री सेल्सियसमा झर्नेछ । मानिसहरूलाई आवश्यक कामको लागि मात्र बाहिर निस्कन सल्लाह दिइएको छ । स्थानीय प्रशासनले परिस्थितिको अनुगमन गरिरहेको छ र आवश्यक परेमा सहयोग प्रदान गर्ने तयारी गरिरहेको छ । मानिसहरूलाई अफवाहहरूलाई बेवास्ता गर्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
१४- प्रधानमन्त्री सुशिला कार्कीले विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएकी छन् । क्रिसमस डे को अवसरमा शुभकामना दिदै प्रधानमन्त्री कार्कीले क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएकी हुन् ।
१५- कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ । विराटनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो । थापाको निर्धनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुख व्यक्त गरेको छ । क्यानले भनेको छ- ‘कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी भएको असामयिक निधनको दुःखद खबरले नेपाल क्रिकेट संघसहित सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।’
१६- नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ६७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४२० मा कारोबार भएको थियो ।
१७- शिक्षामन्त्री महावीर पुनले विदेशी कलेजहरुसँग सम्बन्धन लिएर नेपालमा नै पढाउने केहि कलेज र कन्सल्टेन्सीहरुको छानबिन अगाडी बढेको बताएका छन् । मन्त्री पुनले कलेज र कन्सल्टेन्सीले झुठो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरु अलपत्र पार्ने धेरै उजुरी आएको बताउदै यसको रोकथाम र सुधार गर्नको लागि शिक्षा मन्त्रालय अघि बढिसकेको बताएका छन् । उनले भनेका छन्: विदेशी कलेजहरुसंग सम्बन्धन लिएर नेपालमा नै पढाउने केहि कलेजहरु र बिदेशमा पढ्न पठाउने भनेर खोलिएका केहि कन्सल्टेन्सीहरुले झुठो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरु अलपत्र पार्ने धेरै उजुरीहरु आएका छन् । त्यसलाई रोकथाम र सुधार गर्नको लागि शिक्षा मन्त्रालय अघि बढिसकेको छ । ठगीमा परेका धेरै भन्दा धेरै विद्यार्थीहरुले प्रमाण सहित लिखित उजुरी दिनु होला ।

१८- उत्तर कोरियाले आफ्नो पहिलो आणविक शक्तिले चल्ने पनडुब्बी भएको दाबी गरेको नयाँ तस्बिरहरू जारी गरेको छ, जुन अमेरिकाको नौसेनाको आक्रमणकारी पनडुब्बीहरू बराबरको आकारको विशाल जहाज रहेको छ । राज्य सञ्चालित मिडियाले जारी गरेका तस्बिरहरूमा नेता किम जोङ उन एक भित्री निर्माण सुविधामा निर्देशित-मिसाइल पनडुब्बीको निरीक्षण गरिरहेको देखाइएको छ, जसले यो अझै प्रक्षेपण गरिएको छैन भन्ने संकेत गर्दछ । आणविक शक्तिले चल्ने पनडुब्बी निर्माण गर्नु किमको लागि लामो समयदेखिको लक्ष्य रहेको थियो, जसले पहिलो पटक २०२१ मा सत्तारूढ दलको कांग्रेसमा यसबारे छलफल गरेको थियो, तर हालै यसको प्रतिद्वन्द्वी दक्षिण कोरियालाई ट्रम्प प्रशासनले आफ्नै आणविक शक्तिले चल्ने पनडुब्बीहरू बनाउन सहयोग गर्ने सम्झौता गरेपछि किमको योजनामा थप जोड दिएको देखिएको छ । यी जहाज लामो समयसम्म पानि मुनि डुबेको रहन सक्छन् र अनिवार्य रूपमा वर्षौंसम्म, यदि तिनीहरूले चालक दलका लागि पर्याप्त प्रावधानहरू बोक्न सक्छन् । जबकि धेरैजसो परम्परागत रूपमा चल्ने पनडुब्बीहरू डिजेल इन्जिनहरू चलाउन हावाको लागि सतहमा हुनुपर्छ, जसले गर्दा तिनीहरूको ब्याट्रीहरू गहिराइमा चल्नको लागि चार्ज गरिन्छ । तिनीहरू सामान्यतया परम्परागत रूपमा चल्ने पनडुब्बीहरू भन्दा छिटो हुन्छन् र धेरै अवस्थामा शान्त हुन्छन् । हाल अमेरिका, रूस, चीन, फ्रान्स, संयुक्त अधिराज्य र भारतसँग मात्र यो प्रविधि छ । बिहीबार जारी गरिएका तस्बिरहरूले पनडुब्बीमा उल्लेखनीय प्रगति भएको देखाइएको छ, जसको अस्तित्वको बारेमा मार्चमा पहिलो पटक घोषणा गरिएको थियो । राज्य सञ्चालित मिडियाले जहाजमा ८,७०० टन विस्थापन भएको बताएको छ, जसले अमेरिकामा रहेका अधिकांश आणविक-संचालित भर्जिनिया-वर्ग आक्रमण पनडुब्बीहरू बराबर रहेको छ ।
१९- भारतको ओस्कारमा मनोनित फिल्म ‘होमबाउन्ड’ लाई चोरीको आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चांगोईवालाले आफ्नो २०२१ को पुस्तक ‘होमबाउन्ड’ बाट साहित्यिक चोरीको आरोपमा करण जोहरको धर्मा प्रोडक्सन र नेटफ्लिक्स इन्डियाविरुद्ध मुद्दा दायर गरेकी छिन् । पूजाले फिल्मको शीर्षक उनको पुस्तकसँग मिल्दोजुल्दो भएको दाबी गरेकी छिन् । दृश्य, संवाद, कथा संरचना, र घटनाहरूको क्रम पनि पुस्तकबाट प्रतिलिपि गरिएको दाबि छ । दुवै कथाहरू कोभिड-१९ को समयमा मजदुरहरूको बसाइँसराइमा आधारित छन् । उनले अक्टोबर १५ मा कानुनी सूचना पठाएकी थिइन्, तर निर्माताहरूले यसलाई बेवास्ता गरेका थिए । पूजाले बम्बई उच्च अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया शुरु भएको बताएकी छन् । उनले अब औपचारिक कानुनी कार्यवाही सुरु गरेर मुद्दालाई अगाडि बढाएकी छिन् । उनले वाणिज्य अदालत ऐन, २०१५ को धारा १२ए अन्तर्गत महाराष्ट्र राज्य कानूनी सेवा प्राधिकरणमा निवेदन दर्ता गरेकी छिन् । जसलाई बम्बई उच्च अदालतमा मुद्दा दायर गर्नु अघि आवश्यक पर्ने अनिवार्य पूर्व-संस्था मध्यस्थता प्रक्रिया मानिन्छ । उनी फिल्मको वितरणमा प्रतिबन्ध, प्रतिलिपि गरिएको सामग्री हटाउन, शीर्षक परिवर्तन र क्षतिपूर्ति माग गर्दै छिन् । उनले फिल्मको पटकथा उनको पुस्तकको एक वर्ष पछि २०२२ मा लेखिएको थियो, यो संयोग हुन सक्दैन । धर्म प्रोडक्सनले यो मुद्दा कानुनी माध्यमबाट समाधान भइरहेको बताएको छ । फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरले अभिनय गरेका छन् । नीरज घायवानद्वारा निर्देशित यो फिल्म शीर्ष १५ ओस्करको लागि सर्टलिस्ट गरिएको छ ।

२०- अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले विदेशी ड्रोनहरूमा आफ्नो पकड कडा पार्दै प्राविधिक सुरक्षातर्फ ठूलो कदम चालेको छ । ‘राष्ट्रिय सुरक्षा चिन्ता’ लाई उद्धृत गर्दै, संघीय सञ्चार आयोग (एससीसी) ले अमेरिकामा सबै नयाँ विदेशी ड्रोन मोडेलहरूको वितरणमा प्रतिबन्ध लगाएको छ । यो निर्णयले प्रसिद्ध चिनियाँ ड्रोन कम्पनी डिजेआईमा सबैभन्दा ठूलो प्रभाव पार्नेछ । सरकारले पहिले नै पुराना विदेशी ड्रोन मोडेलहरू प्रयोग गर्ने अमेरिकी नागरिकहरूले तिनीहरूलाई उडाउन जारी राख्न सक्ने स्पष्ट गरेको छ । यो प्रतिबन्ध नयाँ मोडेलहरूमा मात्र लागू हुने बताइएको छ । एससीसीले अपराधी, विदेशी विरोधी र आतंककारीहरूले यी ड्रोनहरू प्रयोग गरेर अमेरिकी सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने बताएको छ । एजेन्सीले आफ्नो कभर गरिएको सूची अद्यावधिक गरेको छ । यो देशको राष्ट्रिय सुरक्षाको लागि अस्वीकार्य जोखिम मानिने उत्पादनहरूको सूची हो । यस सूचीमा अब सबै विदेशी-निर्मित मानवरहित विमान प्रणाली र तिनीहरूका महत्वपूर्ण घटकहरू समावेश छन् । यो नयाँ नियमले धेरै विदेशी कम्पनीहरूलाई असर गर्नेछ, तर यो चिनियाँ ड्रोन निर्माता डिजेआईको लागि ठूलो धक्का मानिएको छ । डिजेआई हाल विश्वव्यापी र अमेरिकामा ड्रोन बिक्रीमा सबैभन्दा ठूलो खेलाडी मानिन्छ । कम्पनीले यो निर्णयमा पुग्न कुन जानकारी प्रयोग गरिएको थियो भन्ने बारे कुनै डेटा जारी नगरिएको बताएको छ । डिजेआईले यसको उत्पादनहरू बजारमा सबैभन्दा सुरक्षित र यसले अमेरिकी उपभोक्ताहरूको लागि खुला र प्रतिस्पर्धी बजारको वकालत गर्न जारी राख्ने बताएको छ । ट्रम्पले आफ्नो कार्यकालमा चिनियाँ कम्पनीहरूविरुद्ध निरन्तर कडा अडान लिएका छन् । यो नयाँ ड्रोन प्रतिबन्धको जग जुनमा पारित कार्यकारी आदेशसँगै राखिएको थियो । यसको उद्देश्य अमेरिकी निर्मित ड्रोनहरूको उत्पादनलाई प्रवर्द्धन गर्नु र अमेरिकी ड्रोन आपूर्ति श्रृंखलालाई विदेशी नियन्त्रणबाट जोगाउनु भएको बताइएको छ ।



