



– केशब पन्थी, अर्घाखाँची डटकम। |
अर्घाखाँची, पौष -१२ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को ऐतिहासिक उपलब्धि प्रदेशभर साझा गर्न सुरु गरेको विजय यात्रा आज अर्घाखाँची पुगेको छ। सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा टोलीलाई भव्य स्वागत र सम्मान गरिएको थियो।

विजय यात्रा टोली सुपादेउराली मन्दिरमा दर्शन गरी आशीर्वाद लिएपछि सन्धिखर्क पुगेको हो ।


कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, जिल्ला क्रिकेट संघ अध्यक्ष ऋषि भट्टराई, विभिन्न वडाध्यक्षहरू, खेलप्रेमी, स्थानीय बासिन्दा र युवाहरूको उपस्थिति रहेको थियो।

नगरप्रमुख श्रेष्ठले लुम्बिनी लायन्सको एनपीएल उपाधिले सम्पूर्ण लुम्बिनी प्रदेश र अर्घाखाँची जिल्लाको गौरव बढाएको बताउनुभयो। उहाँले यस उपलब्धिले जिल्लामा क्रिकेटप्रति उत्साह बढ्ने र आगामी पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाले भन्नु भयो : “लुम्बिनी लायन्सले सम्पूर्ण प्रदेशको नाम रोशन गरेको छ। यो उपाधि केवल क्लबको होइन, सम्पूर्ण लुम्बिनी प्रदेशवासीको साझा गौरव हो।”


जिल्ला क्रिकेट संघ अध्यक्ष भट्टराईले लुम्बिनी लायन्सको सफलताले जिल्लामा क्रिकेट विकासका लागि प्रेरणा दिएको बताउँदै स्थानीय तहको सहकार्यमा क्रिकेट गतिविधि विस्तार गरिने जानकारी दिनुभयो।

कार्यक्रमक्रममा लुम्बिनी लायन्सको एनपीएल ट्रफी सार्वजनिक प्रदर्शन गरिएको थियो। विजय यात्राले लुम्बिनी प्रदेशभर क्रिकेटप्रति सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।
थप तस्बिर :







