



केशब पन्थी ,अर्घाखाँची डटकम ।
अर्घाखाँची — सन्धिखर्क नगरपालिका वडा नम्बर १२, डिभर्ना–झेडीस्थित भैरव नाच संरक्षण समितिको आयोजनामा परम्परागत भैरव नाच समापन तथा सहयोगदाता सम्मान कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।

धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, प्रवर्द्धन र निरन्तरताका उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सामाजिक अगुवा तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि श्रेष्ठले भैरव नाचजस्ता मौलिक सांस्कृतिक परम्पराहरूले सामाजिक एकता, सद्भाव र पहिचान सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। उहाँले स्थानीय सरकारको तर्फबाट यस्ता मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धनका कार्यक्रमलाई आवश्यक नीतिगत, प्राविधिक तथा संस्थागत सहयोग निरन्तर प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमका विशेष अतिथि तथा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सांस्कृतिक सम्पदा संरक्षण कुनै एक समुदायको मात्र विषय नभई सम्पूर्ण समाज र राज्यको साझा उत्तरदायित्व भएको स्पष्ट पार्नुभयो। उहाँले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वास प्रवर्द्धन गर्ने बताउँदै परम्परागत संस्कृतिको दिगोपनाका लागि युवापुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराई, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसी, सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहाल तथा प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्बेदीलगायत सुरक्षा निकायका प्रमुखहरूले सांस्कृतिक कार्यक्रमहरू शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न बहुपक्षीय सहकार्य आवश्यक रहेको बताएका थिए।


त्यसैगरी उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्र, पूर्व अध्यक्ष युवराज श्रेष्ठ, गुल्मी जिल्लाको साबिक तम्घास गाउँ विकास समितिका अध्यक्ष भुवनप्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ तथा भैरव नाच संरक्षण समिति अर्घाखाँचीका अध्यक्ष धनप्रसाद श्रेष्ठलगायत वक्ताहरूले भैरव नाचको ऐतिहासिक महत्व, सांस्कृतिक मूल्य र संरक्षणको दीर्घकालीन आवश्यकताका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता भैरव नाच संरक्षण समिति सन्धिखर्क–१२, डिभर्ना–झेडीका अध्यक्ष छन्दलाल श्रेष्ठले गर्नुभएको थियो। अध्यक्ष श्रेष्ठले भैरव नाचको संरक्षण, प्रवर्द्धन तथा सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण सहयोगदाता, कलाकार, स्वयंसेवक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस मौलिक सांस्कृतिक धरोहरको निरन्तरताका लागि समिति प्रतिबद्ध रहने बताउनुभयो।


कार्यक्रमको सञ्चालन वसन्तकुमार श्रेष्ठले गर्नुभएको थियो। सो अवसरमा भैरव नाच सफलतापूर्वक सम्पन्न गर्न आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने स्थानीय सहयोगदाताहरूलाई औपचारिक रूपमा सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमले स्थानीयस्तरमा सांस्कृतिक सम्पदा संरक्षणप्रति चेतना, अपनत्व र उत्तरदायित्वबोध थप सुदृढ बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

समापन समारोहमा भैरव नाचको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय समुदाय, स्थानीय सरकार, जिल्ला प्रशासन तथा विभिन्न संघ–संस्थाबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रम सभ्य, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।
थप तस्बिर :
















