



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
पौष–१३,अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान–७, छिर्लिङखोला नजिकै शुक्रबार भएको सडक दुर्घटनाप्रती भूमिकास्थान नगरपालिकाले दुःख व्यक्त गरेको छ ।
पालिकास्तरिय “राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता“मा धनचौरबाट सहभागी हुने विद्यार्थी र खेल शिक्षक बोकेर प्रतियोगिता स्थल लम्ची रातापोखरा तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा भएको घटनप्रती पालिकाले गहिरो दुःख व्यक्त गरेको हो ।

नगरप्रमुख झविलाल थापाले शनिबार एक वक्तव्य जारी गर्दै शुक्रबार बिहान ११ः३० बजे छिर्लिङखोला नजिकैको उकालो घुम्तीमा गाडी दुर्घटनामा परि भएको चालकको निधनले पालिका परिवारलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
गाडीको ब्रेक फेल भई भएको उक्त दुःखद दुर्घटनामा परी ज्यान गुमाउनुहुने सवारी चालक धनचौर–पाकु निवासी ४५ वर्षीय रुद्र बहादुर बुढामगर प्रति नगरप्रमुख थापाद्वारा जारी वक्तव्यमार्फत भूमिकास्थान नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पालिकाकै खेल प्रतियोगितामा सहभागी हुने विद्यार्थी र शिक्षक बोकेको गाडी दुर्घटनाको हृदयविदारक घटनाले समग्र पालिकाको खेल क्षेत्र र भूमिकास्थान
परिवारलाई मर्माहत बनाएको वक्तव्यमा उल्लेख छ ।

घटनामा परी उपचाररत घाइतेको अवस्था खतरामुक्त रहेको जानकारीले केही राहत मिलेको बताएको नगरपालिकाले उपचाररत घाइते र उपचार पश्चात् घर फर्किसकेका
विद्यार्थीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेको छ । दुर्घटनामा परेकाहरुको व्यवस्थापन र घाइतेको उपचारका सन्दर्भमा नगरपालिकाले आवश्यक समन्वय गरिरहेको पनि नगरप्रमुख थापाले वक्तव्य मार्फत जानकारी गराउनुभएको छ ।




