



आजको राशिफल बिस २०८२ पुष १४ गते सोमबार ईसं २०२५ डिसेम्वार २९ नेपाल सम्बत ११४६ पोहेलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण दशमी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, परिघ योग, कौलव करण ।


आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोला, नत्र आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रवर्ग र कुलकुटुम्बसँग सहयोग आदान-प्रदान गर्ने दिन हो । सानो प्रयासले घरायसी सुख र धनवैभव जम्मा पार्न सकिने छ । कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकताप्रतिको मोह घट्न सक्छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन छ । आज न्यायसम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्ने समय हो । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । मातृसुखमा प्रभाव पर्ने समय भएकाले घरमा सम्पर्क राखी आमाको स्वास्थ्यस्थितिबारे जानकारी लिनु ठीक हुन्छ, सहकर्मीसित असमझदारी बढ्नाले तनावको स्थिति बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ ।



