



काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

प्रथम च्याउ दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उहाँले उपभोक्तामा च्याउको माग निरन्तर वृद्धि हुँदै गएकोले च्याउ खेतीको सम्भावना रहेको बताउनुभएको हो । न्युन आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उपयुक्त माध्यम भएको उहाँले बताउनु भयो । आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक च्याउ उत्पादन गर्नसके यसले रोजगारी सिर्जना समेत गर्नसक्ने उहाँको भनाई छ । उहाँकाअनुसार हाल नेपालमा वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी ताजा च्याउ उत्पादन हुने गरेको छ । तर च्याउको माग भने करिब ७२ हजार मेट्रिक टन रहेको उहाँले बताउनु भयो । च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भएपनि ४७ जिल्लामा मात्रै व्यवसायिक रूपमा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।


आर्थिक वर्ष २०८१÷८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार २ सय ६२ केजी आयात भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १ सय ९८ केजी च्याउ निर्यात भएको छ । पछिल्लो समय अन्य प्रजातिका च्याउ पनि निर्यात हुन थालेको उहाँले बताउनु भयो । उहाँले च्याउमा मानव शरीरलाई आवश्यक १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकारका एमिनो एसिड पाईने बताउनु भयो । प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र भिटामिनजस्ता पौष्टिक तत्व पनि च्याउमा पाइने उहाँको भनाई छ । तर नेपालमा च्याउ खेती अझै विस्तार गर्न नसकिएको उहाँले बताउनु भयो । रैथाने च्याउ तथा नयाँ प्रजातिको अध्ययन–अनुसन्धान, खेती प्रविधि विकास र दक्ष जनशक्तिको उपलब्धता नेपालमा पर्याप्त हुन नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा हाल वार्षिक १५ हजार मेट्रिकटन भन्दा बढी ताजा च्याउको उत्पादन हुने गरेको र माग ७२ हजार मेट्रिक टन रहेको अनुमान छ । च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन हुने गरेको भएतापनि ४७ जिल्लाहरुमा व्यवसायिक रुपमा उत्पादन र करिव ३५ हजार किसानहरु प्रत्यक्ष संलग्न रहेका छन् । देशभरमा च्याउको बीउ उत्पादन गर्ने प्रयोगशालाको संख्या ६७ रहेको छ भने कुल गार्हस्थ्य कृषि गार्हस्थ्य उत्पादनमा च्याउ क्षेत्रको योगदान ०.१५ प्रतिशत गरेको छ । मानव शरिरलाई आवश्यक पर्ने १२ प्रकारका अमिनु एसिडहरुमध्ये ९ प्रकारका अमिनु एसिडहरुको साथै प्रोटिन, कार्वोहाईडेड, चिल्लो पदार्थ, भिटामिन जस्ता पौष्टिक तत्वहरु च्याउमा पाइन्छ । साकाहारीका लागि समेत स्वीकार्य भएको च्याउ पौष्टिक तत्वको हिसावले मासु र तरकारीको बीचमा पर्दछ । न्युन आयस्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती मानिन्छ भने आधुनिक उच्च प्रविधि समेत प्रयोग गरी औद्योगिक रुपमा व्यवसायिक उत्पादन गरी रोजगारीको समेत सिर्जना गर्न सकिन्छ । नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकोले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको छ । नेपालको रैथाने च्याउहरुको साथै नयाँ प्रजातीहरुको अध्ययन अनुसन्धान गरि खेती प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता प्रयाप्त हुन सकेको छैन । वर्तमान अवस्थामा च्याउ तथा च्याउको बीउ उत्पादनको सहजिकरण, प्रवद्र्धन तथा गुणस्तरको नियमन गर्नु अपरिहार्य भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २२६२ केजी च्याउ आयात तथा १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार एक सय ९८ केजी निर्यात भएको छ भने पछिल्लो समय अन्य प्रकारका च्याउ निर्यात हुन थालेको अवस्था छ ।’
उहाँले हाल राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रबाट च्याउ प्रविधि प्रचार, मूल्य श्रृङ्खला विकास, अनुसन्धान र बीउ उत्पादनको काम हुँदै आएको बताउनु भयो । उहाँकाअनुसार गत वर्षदेखि काभ्रेको कोपासीस्थित रेशम विकास केन्द्रमा च्याउको राष्ट्रिय स्रोत केन्द्र विकास गर्ने कार्यक्रम शुरु गरिएको छ । यसवर्ष च्याउको गुणस्तर नियमन, बीउ उत्पादन परीक्षणलगायत कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । प्रथम च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिकार महोत्सव गरिएको छ भने उत्कृष्ट च्याउ किसानलाई सम्मान समेत गरिएको छ । गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । हाल नेपालमा गोव्रे, खन्ने, पराले, सिताके, वेस्टन, रातो, दुधे च्याउलगायत विभिन्न जातका च्याउ व्यवसायिक रूपमा उत्पादन हुँदै आएका छन् ।



