



काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको ६४ दलले बन्द सूची पेश गरेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुल ६४ दलले सूची बुझाएकामा ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको जानकारी दिएका छन् । आयोगले यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो । सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगले जनाएको छ । बन्दसूची पेस गर्ने ६४ राजनीतकि दलमध्ये ५४ वटा राजनीतिक दलले आ-आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले ४ वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् । नेपालको संविधानको धारा ८४ को १ (क) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने र सोही धाराको उपधारा १ (ख) मा समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ ।


२- साउदी अरेबियाले यमनमाथि आक्रमण गरेको छ । साउदी अरेबियाले मुकाल्ला बन्दरगाहमा आक्रमण गरेको बताएको छ । साउदी अरेबियाले दक्षिणमा कब्जा गर्ने पृथकतावादीहरूका लागि युएईबाट ठूलो मात्रामा हतियार पठाइएको दाबी गरेको छ । साथै संयुक्त अरब इमिरेट्सलाई आगामी २४ घण्टा भित्र यमनबाट आफ्ना सबै सेना फिर्ता बोलाउन चेतावनी दिएको छ । युएईले अझै प्रतिक्रिया नदिए पनि, यमनको राष्ट्रपति परिषद्ले देशमा आपतकालीन अवस्था घोषणा गरेको छ ।
३- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नेता तथा आफ्ना ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिकमा राख्ने निर्णय आफ्नो चाहना विपरित भएको स्पष्ट गरेका छन् । सामाजिक सञ्जाल र मिडियामा महामन्त्री थापाले ससुरालाई समानुपातिकमा राखेको भन्ने प्रचार भएपछि त्यसको खण्डन गर्दै उनले यो आफ्नो प्रयासविपरितको निर्णय भएको बताएका हुन् । उनले भनेका छन्- ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहना विपरित हो । मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो ।’ महामन्त्री थापाले आफु र केसीको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू भएको, जो कहिले मिल्ने र कहिले बाझिने गरेको उल्लेख गर्दै कुनै बेला राजनीतिक दृष्टिकोण र प्राथमिकता नमिल्दा एक अर्कासँग पार्टीको महामन्त्री पदमा चुनाव लडेको उल्लेख गरेका छन् । उनले यसपटक पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा आफुहरुबीच मत भिन्नता रहेको बताएका छन् ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीति गरिरहेकाले देशमा निराशा फैलाएकाले र देशलाई निकास दिन नसकेकाले कलाकार, पत्रकार र खेलाडीहरु राजनीतिमा आएको बताएका छन् । झरिपछिको इन्द्रेणी सिनेमा हेर्न पुगेका सभापति लामिछानेले समानुपातिकको सूचीमा धेरै सेलिब्रेटीहरुलाई राखेको भन्ने प्रश्नको जवाफमा यस्तो बताएका हुन् । उनले भने- ‘जब जब राजनीतिले निकास दिन सकदैन, जब राजनीति गर्छु भनेर बर्षौं जीवन बिताएका मानिसहरुले गरेको राजनीतिले देशमा निराशा फैलाउछ, त्यसले निकास दिन सक्दैन, त्यतिखेर कलाकार पत्रकार खेलाडी सबैजना राजनीतिमा आउछन् । अहिले नेपाल त्यहि फेजमा आएको छ । त्यहि मोडमा आएको हुनाले कलाकार खेलाडी राजनीतिमा देखिनुभएको छ नि, किनकी राजनीति जसले गर्छन् भनेर हामीले विश्वास गरेर हाम्रो सम्पूर्ण भविष्य सुम्पेका थियौं, उनीहरुले हाम्रो भविष्यमाथी खेलवाड गरे । त्यसकारण त्यो खेलवाड सहन नसकेर कलाकारहरु राजनीतिमा आएका हुन् ।’ लामिछानेले कलाकारहरुलाई राजनीतिमा इन्ट्रेस्ट नभएको बताउदै आफ्नो मुलुकप्रतिको उत्तरदायित्व पुरा गर्नको लागि राजनीतिमा आएको र आवश्यक परेको खण्डमा सबै अगाडी आउनुपर्ने बताए । रास्वपाले गएराती निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सुचीमा कलाकार, खेलाडीसहितका सेलिब्रेटी र अभियान्ताहरु ठुलो संख्यामा राखेको भन्दै रास्वपा भित्र असन्तुष्टि बढेको छ । साथै समानुपातिक सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा देखि कुलमान घिसिङका भान्जासम्म राखेको भन्दै आलोचना भइरहेको छ ।
५- बंगलादेशले भारतका लागि आफ्ना उच्चायुक्त एम. रियाज हमिदुल्लाहलाई ढाका बोलाएको छ । मिडिया रिपोर्टका अनुसार, परराष्ट्र मन्त्रालयको निमन्त्रणामा हमिदुल्लाह सोमबार राति अबेर ढाका पुगेका छन् । बंगलादेशको प्रमुख पत्रिका, प्रथम आलोले विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै भारतसँगको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको उल्लेख गरेको छ । रिपोर्टका अनुसार, हमिदुल्लाहलाई हालैका घटनाक्रम र भारत-बंगलादेश सम्बन्धमा छलफल गर्न बोलाइएको बताइएको छ । यद्यपि, सरकारले आधिकारिक रूपमा वार्ताको एजेन्डामा कुन मुद्दाहरू समावेश गरिनेछ भनेर स्पष्ट पारेको छैन । भारतले डिसेम्बर २६ मा जारी विज्ञप्तिमा बंगलादेशमा अल्पसंख्यकहरूमाथि भइरहेको अत्याचारप्रति चिन्ता व्यक्त गरेको थियो । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक प्रेस ब्रिफिङमा हिन्दू युवा दिपु चन्द्र दासको क्रूर हत्यालाई बेवास्ता गर्न नसकिने बताएका थिए । भारतले डिसेम्बर २३ मा हमिदुल्लाहलाई बोलाएर बंगलादेशमा रहेका भारतीय कूटनीतिज्ञ र नियोगहरूको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेको थियो र अल्पसंख्यकहरू (विशेष गरी हिन्दूहरू) माथि भएको आक्रमणको मुद्दा उठाएको थियो । यो एक हप्तामा भारतको हमिदुल्लाहलाई दोस्रो समन थियो । उनलाई पहिले डिसेम्बर १७ मा समन गरिएको थियो । सोही दिन बंगलादेशले पनि भारतीय उच्चायुक्त प्रणय वर्मालाई पनि समन पठाएको थियो । यस क्रममा ढाकाले भारतमा रहेका बंगलादेशी नियोगहरू बाहिर भएको विरोध प्रदर्शनप्रति आपत्ति जनाएको थियो । यो १० दिनमा भारतीय उच्चायुक्तलाई ढाकाको दोस्रो समन थियो । अघिल्लो समन नोभेम्बर १४ मा भएको थियो । बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्यु र त्यसपछि मयमनसिंह जिल्लामा दीपुको भिडले गरेको हत्यापछि भारत विरोधी प्रदर्शनपछि दुई देशबीचको सम्बन्धमा उल्लेखनीय रूपमा बिग्रिएको छ ।
६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङको एकतालाई कुखुरा, बाख्रा र स्यालको मोर्चाको संज्ञा दिएका छन् । मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा भएको एघारौँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रममा बोल्दै उनले कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार नहुने टिप्पणी गरेका हुन् । उनले विशालकाय एमाले र नेपाली काँग्रेससँग मुकावला गर्न मोर्चाबन्दी गरेको बताउदै घैटामा पानी बोकेर समुन्द्रसँग मुकावला नहुने बताए । ओलीले सम्बोधनका क्रममा चुनाव सर्न सक्ने संकेत गरेका छन् । उनले फागुनमा, बैशाखमा या मङ्सिरमा जहिले चुनाव भएपनि आफुहरु तयार रहेको बताए । ओलीले भने- ‘हामी चुनाव पर्खिरहेका छौ । कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला या अर्को मङ्सिरमा होला । हामि चुनाव पर्खिरहेका छौं । जस्तो महाधिवेशनबाट धेरै कुराको जवाफ दिएका छौं । त्यस्तै निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने छौं । त्यसका लागि हामी तयार छौं भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ ।’
७- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले बक्स अफिसमा रेकर्ड तोड्दै २५औं दिनमा ११.१३ करोड कमाएको छ । २५ दिनमा १११३ करोड कलेक्सनसहित, बलिवुद्को इतिहासमा तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । कमाईको हिसाबले, फिल्मले शाहरुख खानको पठानको रेकर्ड तोडेको छ, जसको कुल कलेक्सन १०५० करोड भारु रहेको थियो । अब, यो फिल्मले चाँडै नै जवानको रेकर्ड पनि तोड्न सक्ने देखिएको छ । बलिवुडको इतिहासमा सर्वाधिक कमाई कलेक्सन गर्ने फिल्म दंगल हो । दंगलले १९६८ करोड कमाई गरेको थियो भने जवानले ११४८ करोड कमाई गरेको थियो । त्यस्तै फिल्म धुरन्धरले १११३ करोड कमाई गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै पठानले १०५० करोड र एनिमलले ९१७ करोड कलेक्सन गरेको थियो । फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।
८- पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ । मंगलबार प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम महिला राष्ट्रपति भण्डारीबीच समयसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो । पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपति भण्डारी एमालेबाट सक्रिय राजनीतिमा होमिने घोषणा गरेपनि एमालेले तत्काल बन्देज लगाएपछि सक्रिय हुन सकेकी छैनन् । यसैगरी कांग्रेसका पूर्वनेता यादव भने राजनीतिबाट बाहिरका कार्यक्रममा सहभागी हुदै आएका छन् ।
९- प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको बताएकी छन् । मंगलबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभर बन्दै गएको बताउदै निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको बताएकी हुन् । उनले राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको र यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरुले देखाएको सुझबुझका लागि आभार व्यक्त गरेकी छन् । साथै उनले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको बताएकी छन् । सो अवसरमा उनले तमु गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको बताउदै यही विविधता नै हाम्रो ठूलो शक्ति भएको बताएकी छन् । उनले तमु ल्होसारजस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्ने र यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउने उल्लेख गरिन् । उनले नेपाली समाजको अर्को सुन्दर पक्ष भनेको जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि हामी एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौँ भन्ने विश्वास भएको उनले बताइन ।
१०- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको स्पष्ट गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इराकमै काम गरिरहेका नेपालीलाई आवासीय परिचय पत्र (रेसिडेन्सी कार्ड) भएकालाई पुनः नेपालमा आई आफनो रोजगारीलाई निरन्तरता दिन चाहनेलाई श्रम स्वीकृति दिने स्पष्ट गर्दै नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिएको स्पष्ट गरेको हो । सरकारले पुस ११ गते मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीलाई श्रम स्वीकृति दिइने निर्णय गरेको थियो । २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । त्यसयता पनि इराकको अमेरिकी बेस क्याम्प, विभिन्न देशका दूतावास, पेट्रोलियम आयोजनादेखि घरेलु श्रमिकको हैसियतमा काम गरिरहेका छन् । सरकारले यसअघि २०६७ साउन १२ गते इराकको अमेरिकी बेस क्याम्पमा काम गरिरहेका ४० हजारभन्दा बढी नेपाली कामदारलाई वैध हैसियत दिने निर्णय गरेको थियो । त्यति बेला अमेरिकी सेनाको कन्ट्याक्ट कमान्ड (सेन्टाम) ले नेपालीलाई वैधता नदिए नेपाल पठाउने भन्दै २० दिनको अल्टिमेटम दिएको थियो । त्यसपछि अमेरिकाले कूटनीतिक च्यानलमार्फत प्रतिबन्ध फुकुवा भए कामदार नफर्काउने संकेत दिएपछि श्रम मन्त्रालयले वैधता दिएको थियो । मन्त्रालयले भनेको छ- ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०९/११को निर्णय अनुसार यस मन्त्रालयबाट प्रस्ताव भएको इराकमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई श्रम स्वीकृति प्रदान गर्ने र नेपाली प्राविधिक अभ्यासार्थी कामदार जापान पठाउने निर्देशिका, २०६६ खारेज गर्ने सम्बन्धी निर्णयका सम्बन्धमा आम सञ्चार माध्यम, वैदेशिक रोजगार व्यवसायी र सरोकारवाला नेपाली नागरिकमा भ्रम र अन्यौलता सिर्जना भएको विषयमा यस मन्त्रालयको ध्यान आकर्षण भएको छ ।’ विज्ञप्तिमा मन्त्रालयले इराकमा श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धी निर्णय नेपाल सरकारले इराकमा संस्थागत एवम् व्यक्तिगत रुपमा नयाँ कामदारको रुपमा जान खुला गरेको नभई इराकमा कार्यरत नेपाली श्रमिकहरुलाई नेपाल आएको बखतमा इराकको रेसिडेन्सी कार्ड र त्यहाँको वैधानिक भिषा देखाई वैदेशिक रोजगार ऐन र नियमावलीको अधीनमा रही श्रम स्वीकृति प्रदान गर्ने भन्ने विषय रहेको सरोकारवाला सबैलाई स्पष्ट पारेको उल्लेख गरिएको छ ।
११- पुर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा बंगलादेशमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ । सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले खालिदा जियाको बुधबार अन्त्येष्टि प्रार्थनाको दिन सार्बजनिक बिदा र तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका हुन् । टेलिभिजन सम्बोधनमा युनुसले खालिदा जियाको निधनसँगै राष्ट्रले एक अभिभावक गुमाएको बताए । उनले उनलाई बंगलादेशको राजनीतिमा एक गहिरो प्रख्यात व्यक्तित्वको रूपमा वर्णन गरे, जसको लोकतन्त्रको संघर्ष, बहुदलीय राजनीतिक संस्कृतिको स्थापना र जनताको अधिकारको वकालतमा असाधारण भूमिका इतिहासमा अमिट रहनेछ । निरंकुशता र फासीवादविरुद्धको उनको अटल नेतृत्वले राष्ट्रलाई अलोकतान्त्रिक संकटहरूबाट बारम्बार मार्गदर्शन गरेको उल्लेख गर्दै युनुसले राष्ट्रले खालिदा जियाको योगदानलाई श्रद्धाका साथ सधैं सम्झने बताए । लामो समयदेखि कलेजो, मिर्गौला, मधुमेह र आँखाको रोगसहित विभिन्न स्वास्थ्य समस्याहरूबाट पीडित खालिदा जियाको उपचारको क्रममा आज बिहान ८० बर्षको उमेरमा निधन भएको थियो ।
१२- सामाजिक अभियन्ता आशिका तामाङले दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा प्रश्न उठाएकी छन् । आशिकाले सामाजिक सञ्जालमा लेख्दै पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरुका लाई छुट्टाइएको समानुपातिकमा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोरा छोरी सांसद र मन्त्री हुने भए भन्दै प्रश्न उठाएकी हुन् । उनले नेपोकिडसविरुद्धको ७३ जना जेन्जी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यहि दिन देख्न हो ? भन्दै प्रश्न गरेकी छन् । उनले भनेकी छन्: समानुपातिक भनेको के हो ? समानुपातिक भनेको पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरु का लाई छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदार को छोरा, बिचौलिया को छोराछोरी सांसद र मन्त्री हुने भए नेपो किड्स विरुद्धको ७३ जना जेन्जी भाइ बहिनिले राज्यलाई दिएको आहुती र बलिदान आज यहि दिन देख्न हो ???

१३- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईले आगामी विहिबार सरकारसँग अन्तिम वार्ता हुने बताएका छन् । मंगलबार प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गरेका प्रसाईले अन्तिम वार्ता विहिबार हुने जानकारी दिएका हुन् । उनले सडकको आवाज बेवास्ता गर्ने छुट अब सत्तालाई नभएको बताउदै जनताको मतलाई नीति बनाउने कि आन्दोलन सामना गर्ने भन्ने निर्णय सरकारको हातमा रहेको बताएका छन् । आजको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको प्रसाईलाई स्पष्ट पारेकी थिइन् । मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरेकी थिइन् ।
१४- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन् । सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भने कारबाही हुन्छ भन्ने सन्देश दिन, कम रकम कबोल गरी ठेक्का हात पार्ने प्रवृतिलाई निरुत्सहित गर्न, समयमै निर्माण नगरिएका कारण आमनागरिकले पाइरहेको दुःखको अन्त्यका लागि ठेक्का तोड्नु बाध्यता रहेको उल्लेख गरे । सडक विभागले हालसम्म ४० वटा रुग्ण ठेक्का तोडेको छ । नियोजित रुपमा कुनै पनि ठेक्का नतोडिएको प्रष्ट पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गरिएको बताए । उनले विकास बजेट निर्माण व्यवसायीमार्फत खर्च हुने भएकाले देश विकासमा निर्माण व्यवसायीको ठूलो योगदान रहेकाले उनीहरुको क्षमता एवम् दक्षता अभिबृद्धिमा जोड दिए । संघ, प्रदेश र स्थानीय तहले सडक निर्माण तथा मर्मत गरिरहेकाले आम नागरिकले कुन सडकमा कसको क्षेत्राधिकार रहेको थाहा नपाएका कारण सडक भनेको सडक विभागले नै बनाउने हो भन्ने बुझ्दा संघ सरकारप्रति धेरै आक्रोश आउनुका साथै अपेक्षा पनि राख्ने गरेको उनले टिप्पणी गरे । साथैं, उनले सडक मर्मत सम्भारलाई नियमित रुपमा तदारुकताका साथ गर्न निर्देशन दिए । सडक पूर्वाधारको मर्मत सम्भार तथा संरक्षण खर्च व्यवस्थापनका गर्न ‘सेवाका लाथि दस्तुर’ सिद्धान्त अनुरुप बोर्डले उपभोक्ताबाट दस्तुर उठाइ वित्तीय व्यवस्थापन गरिने अवधारणालाई विस्तार गर्दै लैजाने जनाएको छ । सडक पूर्वाधारको योजनाबद्ध एवम् प्रभावकारी ढंगबाट मर्मत सम्भारका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्न बोर्डको स्थापना भएको हो । बोर्डले हाल भैरहवा—भुमही सडकअन्तर्गत भैरहवाको वसन्तपुरस्थित टोलबुाट विद्युतीय प्रविधिका सडक उपभोग दस्तुर (टोल) संकलन गरिरहेको छ ।
१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि गएराती मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८ जना र रास्वपाका ५२ जना रहेका छन् । रास्वपाले समानुपातिक उम्मेदवार तय गर्न अन्तरिम प्राइमेरी निर्वाचन नै गरेको थियो । नेपालमा अन्य कुनै दलले यस्तो प्रकृया नगरेपनि रास्वपाले आन्तरिक उम्मेदवार छनौटका विभिन्न प्रक्रिया तय गरेर अन्तमा निर्वाचन गरेको थियो । तर समानुपतिको सुची हेर्दा यस निर्वाचनको औचित्यमा प्रश्न उठेको छ । आन्तरिक निर्वाचनमा लोकप्रिय मत पाएका उम्मेदवारनै रास्वपाको समानुपातिक सुचिमा पछाडी राखिएपछि यस प्रक्रियाको औचित्यमा प्रश्न उठेको हो । आन्तरिक निर्वाचनमा सबै भन्दा बढी १८ हजार २२३ मत प्राप्त गरेका रमेश प्रसाई खस–आर्य पुरूषको सूचीमा पाँचौं नम्बरमा राखिएको छ । पार्टीले प्राप्त गर्ने कुल मतको आधारमा विभिन्न क्लस्टर अनुसार निर्वाचित हुने हुनाले समानुपातिकमा कुन स्थानमा नाम छ भन्नेमा निर्वाचित हुने या नहुने अवस्था बन्ने गर्दछ । त्यस्तै अर्को उदाहरणको रुपमा खसआर्यको महिलातर्फ धेरै मत प्राप्त गरेकी रञ्जु दर्शना दशौँ नम्बरमा राखिएको छ । यतिमात्र होइन दलिततर्फ सबैभन्दा बढी मत प्राप्त गरेका विजय जैरु समानुपातिकको सूचीमा नै पर्न असफल भएका छन् । सुची बुझाउने अन्तिम समयमा बालेन शाह र कुलमान घिसिङसँग भएको सहमतिका कारण रास्वपाले आफ्नो योजना अनुसारको सुची बनाउन नसकेको बुझ्न सकिन्छ तर आफ्ना सदस्यहरुको मतको सम्मान गर्दै धेरै मत प्राप्त गरेका उम्मेदवारको नाम शिर्ष स्थानमा नराख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
१६- नयाँ वर्षको सुरुवातसँगै, नासाले अन्तरिक्षमा दुई महत्त्वपूर्ण अभियानहरू सुरु गर्ने जानकारी दिएको छ । जनवरीमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बाहिर दुई स्पेसवाकहरू सञ्चालन गरिने नासाले बताएको छ । यी स्पेस वाक स्टेशनको बिजुली आपूर्ति सुधार गर्न र आवश्यक मर्मत गर्नको लागि गर्न लागिएको हो । नासाले जनवरी ६ मा ह्युस्टनको जोनसन स्पेस सेन्टरमा मिडिया ब्रीफिंगमा यी स्पेसवाकहरूको पूर्ण विवरण प्रदान गर्ने बताएको छ । पहिलो स्पेसवाक बिहीबार, जनवरी ८, २०२६ मा तय गरिएको छ । नासाका अन्तरिक्ष यात्री माइक फिन्के र जेना कार्डम्यान अन्तरिक्ष स्टेशनको क्वेस्ट एयरलकबाट बाहिर निस्कनेछन् । तिनीहरूको प्राथमिक कार्य अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन रोल-आउट सोलार एरेको भविष्यको स्थापनाको लागि २ ए पावर च्यानल तयार गर्नु हो । यी नयाँ सौर्य प्यानलहरूले अन्तरिक्ष स्टेशनलाई बढ्दो शक्ति प्रदान गर्नेछन् । भविष्यमा स्टेशनको सुरक्षित र नियन्त्रित डिओर्बिटको लागि पनि तिनीहरू महत्त्वपूर्ण हुनेछन् । यो जेना कार्डम्यानको पहिलो स्पेसवाक हुनेछ, जबकि माइक फिंकको दशौं स्पेस वाक हुनेछ । फिंकले नासाको इतिहासमा सबैभन्दा धेरै स्पेसवाकको रेकर्ड बराबरी गर्नेछ । यो रेकर्ड पहिले अनुभवी नासा अन्तरिक्ष यात्री पेगी ह्विटसन र माइकल लोपेज-एलेग्रियाको नाममा छ, जसले प्रत्येकले १०-१० स्पेसवाक पनि पूरा गरेका छन् । दोस्रो स्पेसवाक एक हप्ता पछि, बिहीबार, जनवरी १५, २०२६ मा हुनेछ । यो स्पेसवाकले क्यामेरा पोर्ट ३ मा स्थापित हाई-डेफिनिशन क्यामेरालाई प्रतिस्थापन गर्नेछ । त्यस्तै आगमन अन्तरिक्षयानको लागि हार्मोनी मोड्युलमा नयाँ नेभिगेसन उपकरण (प्लानर रिफ्लेक्टर) स्थापना गरिने छ। स्टेशनको एस ६ र एस ४ ट्रसहरूमा अमोनिया सर्भिसर जम्पर (फ्लुइड पाइप) स्थानान्तरण गरिनेछ । नासाले यस स्पेसवाकमा कुन अन्तरिक्ष यात्रीहरूले भाग लिनेछन् र सही समय पछिको मितिमा विवरण प्रदान गर्नेछ । यी अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा सञ्चालन हुने २७८औं र २७९औं स्पेसवाक हुनेछन् । यी २०२६ को लागि निर्धारित पहिलो दुई स्पेसवाक हुनेछन् । यी ‘अभियान ७४’ मिसन अन्तर्गत सञ्चालन हुने पहिलो मिसन पनि हुन् । सरल भाषामा भन्नुपर्दा, यी स्पेसवाकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई सुरक्षित, बलियो र भविष्यको लागि तयार राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

१७- नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ९ सयले घटेर तोलाको २ लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७० हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले घटेर ४५९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।
१८- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रत्यक्ष लड्ने उम्मेदवारले २५ लाख देखि ३१ लाखसम्म अधिकतम पैसा खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो । आयोगले भौगोलिक क्षेत्रअनुसार खर्च सीमा निर्धारण गरेको छ । काठमाडौंको १० मध्ये १,३,६,७ र ८ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैयाँ खर्च गर्न पाउने र काठमाडौंको २, ४, ५, ९ र १० नम्बर क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएका छन् । त्यस्तै भक्तपुर र ललितपुरका उम्मेदवारले पनि २७ लाख नै खर्च गर्न पाउने सीमा तोकिएका छन् । झापा १ र ४, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतका जिल्लामा उठ्ने उम्मेदवारले २९ लाख खर्च गर्न सक्नेछन् । अधिकतम ३१ लाख खर्च गर्न पाउनेमा झापाको २,३,५ का उम्मेदवारसहित इलाम, धनकुटा, मोरङ, सुनसरी, ओखलढुंगा, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, कास्की, म्याग्दी, पर्वत, दार्चुला, कैलाली, डडेल्धुरा, सुर्खेत, कालिकोट, मुगु, दाङ, कपिलवस्तु, रुपन्देही, गुल्मी रुकुम पश्चिम, बारा, सर्लाही, उदयपुर लगायतका जिल्ला रहेका छन् । त्यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रोल्पा, प्यूठान, दाङ, बर्दिया, सल्यान, डोल्पा, जाजरकोट, बझाङ, डोटी, बैतडी बर्दियाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले भने अधिकतम ३३ लाख खर्च गर्न पाउने सीमा तोकिएको छ । आयोगले उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता सञ्चालन गरी सोही खाताबाट खर्च गर्नुपर्ने आयोगले जनाएको छ । खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी सम्बन्धित व्यक्तिको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ । निर्वाचन सकिएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम रहेको छ ।
१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरण ‘छिट्टै’ पुग्ने आशा व्यक्त गरेका छन् । उनले यदि हमासले चाँडै आफ्ना हतियारहरू त्यागेन भने, यसले ‘गम्भीर परिणामहरू’ भोग्ने चेतावनी दिए । २० बुँदे शान्ति योजनामा हमासको निशस्त्रीकरणको लागि एक सर्त समावेश छ । बैठक पछि नेतान्याहूसँगको पत्रकार सम्मेलनमा ट्रम्पले इजरायलले योजनाको ‘१०० प्रतिशत पालना’ गरेको बताए । ट्रम्पको दावीको बावजुद, गाजामा इजरायली सैन्य आक्रमण जारी छ । ट्रम्पले यदि इरानले आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्र वा आणविक हतियार कार्यक्रम पुन: सुरु गर्छ भने, अमेरिकाले यसको विरुद्ध अर्को ठूलो आक्रमणलाई समर्थन गर्न सक्छ । उनले गाजामा पुनर्निर्माण कार्य ‘छिट्टै’ सुरु हुन सक्छ । गाजा शान्ति योजना अक्टोबरमा लागू भएको थियो । यसको दोस्रो चरण अन्तर्गत, गाजामा एक प्राविधिक सरकार गठन हुनेछ, हमासले आफ्ना हतियारहरू त्याग्नेछन्, र इजरायली सेनाहरू क्षेत्रबाट फिर्ता हुनेछन् । त्यसपछि गाजाको पुनर्निर्माणको प्रक्रिया सुरु हुनेछ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएदेखि गाजामा इजरायली सेनाद्वारा कम्तीमा ४१४ प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ ।

२०- युक्रेनले नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरिएको छ । रिपोर्टका अनुसार रुसले युक्रेनले डिसेम्बर २८ को राति ९१ वटा लामो दूरीको ड्रोनले रुसी राष्ट्रपतिको आधिकारिक निवासलाई निशाना बनाएको रुसको दाबी छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसी वायु रक्षा प्रणालीले सबै ड्रोनहरू नष्ट गरेको जानकारी दिएका छन् । त्यस्तै उनले यस घटनापछि युक्रेनसँगको शान्ति वार्ताको समिक्षा गर्ने बताएका छन् । उनले ‘गैरजिम्मेवार कार्यहरू’ अनुत्तरित नछोडिने बताउदै यस घटनालाई राज्य-प्रायोजित आतंकवाद भनेका छन् । लाभरोभले रुसी सशस्त्र सेनाले प्रतिशोधात्मक हमलाहरूको लागि पहिले नै लक्ष्यहरू पहिचान गरिसकेको बताएका छन् । रुसी विदेशमन्त्रीले सम्भावित शान्ति सम्झौताको बारेमा युक्रेनसँग वार्ता भइरहेको समयमा भएको भन्दै रूस वार्ताबाट पछि हट्ने छैन, तर वार्ताको सम्बन्धमा मस्कोको अडान समीक्षा गरिने बताए । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यी आरोपहरूलाई झूटो भनेर खारेज गरेका छन् । उनले रूसले कीभमा सरकारी भवनहरूमा आक्रमणको लागि वातावरण सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन् । यसैबीच, आक्रमणको समयमा राष्ट्रपति पुटिन निवासमा उपस्थित थिए कि थिएनन् भन्ने कुरा स्पष्ट भएको छैन ।



