



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविराम सम्झौता अन्तर्गत हमासलाई निःशस्त्रीकरणका लागि सिमित समय दिइने बताउनुभएको छ । उहाँले चेतावनी दिँदै यदि समूहले सो शर्त पालना नगरेमा यसको गम्भीर परिणाम भोग्नुपर्ने बताउनु भयो । ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार–ए–लागो क्लवमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटवार्तापछि यस्तो टिप्पणी गरेका हुन् ।

हमासले सहमत सर्तहरूको पालना नगरेमा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै ट्रम्पले आफ्ना विशेष दुत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुश्नरले हमासको निःशस्त्रीकरणको रेखदेख गर्ने जानकारी दिनुभयो ।

राष्ट्रपति ट्रम्पले युद्धविरामको समयमा इजरायलका गतिविधि वा गाजा शान्ति योजनाको दोस्रो चरणतर्फको प्रगतिको गतिप्रति आफू चिन्तित नभएको र इजरायलले योजनालाई शतप्रतिशत पालना गरेको दाबी गर्नुभयो । नेतन्याहुसँगको भेटअघि ट्रम्पले हमासको निःशस्त्रीकरण मुख्य शर्त हुनेमा जोड दिँदै गजा शान्ति योजनाको दोस्रो चरणलाई सक्दो चाँडो शुरु गर्न प्रयास गर्ने बताउनुभएको थियो । वार्तापछि ट्रम्पले कब्जा गरिएको वेस्ट बैंकमा बसोवास गर्ने इजरायलीहरूको हिंसाका विषयमा दुई नेताहरूको धारणा फरक रहेको स्वीकार गर्नुभयो ।

उहाँले सेप्टेम्बरमा इजरायललाई वेस्ट बैंक गाभ्न नदिने घोषणा गर्नुभयो । धेरै पश्चिमी र अरब राष्ट्रहरूले इजरायलको यस्तो कदमले प्यालेस्टाइन राज्यको अवधारणालाई समाप्त पार्ने चेतावनी दिँदै आउनुभएको छ । प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको पुनरागमनपछिको इजरायल–अमेरिका साझेदारीलाई अतुलनीय भन्दै भेटवार्तालाई अत्यन्तै फलदायी भएको बताउनु भयो ।



