



काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गरेको बैशाखमा महाधिवेशन गर्ने निर्णयमा पाँच जनाले फरक मत राखेका छन् । यसअघि पुस २६-२८ गतेसम्मको तोकिएको महाधिवेशन तालिका कार्यान्वयन हुन नसकेपछि प्रस्ताव गरिएको वैशाख २८-३१ मा महाधिवेशन गर्ने प्रस्तावमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित नेता अर्जुननरसिंह केसी, फरमुल्लाह मनसुर र उमा रेग्मीले फरक मत राखेका हुन् । उनीहरुले फरक मत राखेपनि शुक्रबारको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको बैशाखमा महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

बैठकपछि महामन्त्री थापाले भने पुस मसान्त भित्र विशेष महाधिवेशन हुने दाबी गरेका छन् । उनले सभापतिले केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको निर्णय नगरे दुवै महामन्त्रीले आफ्नो अधिकार प्रयोग गर्दै विशेष महाधिवेशन पुस मसान्त भित्र नै गर्ने स्पष्ट गरेका छन् ।

२- सरकारले इपिएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जान बनाइएको रोस्टरको सीमा बढाउन कुटनीतिक पहल गर्ने भएको छ । शुक्रबार श्रममन्त्री राजेन्द्रसिंह भण्डारी, श्रम सचिव, मन्त्रालयका कर्मचारी, र वैदेशिक रोजगार विभागका महानिर्देशक तथा इपिएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका प्रतिनीधिहरुको उपस्थितिमा भएको छलफलमा सरकारले रोस्टरको सीमा अवधि बढाउन कुटनीतिक पहल गर्ने सहमति भएको हो । इपिएस प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने प्रयोजनका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमामा रहेका तर विभिन्न कारणले हालसम्म सो अवसर नपाएकाहरुले सरकारको ध्यानाकर्षण गराउदै गरिरहेको प्रदर्शनपछि भएको छलफलमा मन्त्री सिंहले यस्तो सहमति जनाएका हुन् । साथै छलफलबाट वैदेशिक रोजगारीका लागि इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरमा रहेका व्यक्तिहरूको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको छ ।
३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक उम्मेदवारमा सिफारिस गायिका एवं डा. त्रिशाला गुरुङले आफु उम्मेदवार नबन्ने स्पष्ट गरेकी छन् । गुरुङले समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु आफ्ना लागि ठूलो सम्मान र जिम्मेवारीको विषय भएको बताउदै गहन आत्ममूल्यांकन पश्चात उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराएकी छन् । उनले यस निर्णयको मूल कारण आफ्नो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने दृढ संकल्प रहेको बताएकी छन् । उनले भनेकी छन्- ‘गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प हो । म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु । राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्याइरहनेछु ।’
४- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन हुने बताएका छन् । शुक्रबार काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले बैठकले गरेका निर्णयप्रति असहमति जनाउदै पुस मसान्तभित्र नै विशेष महाधिवेशन हुने स्पष्ट गरेका हुन् । उनले नेतृत्वले एक दुई दिनमा केन्द्रीय समिति बैठक बोलाएर विशेष महाधिवेशन गर्ने निर्णय नगरे आफुहरुले महामन्त्रीको अधिकार प्रयोग गरेर विशेष महाधिवेशनमा जाने बताएका हुन् । उनले देशभरका काँग्रेस कार्यकर्तालाई विशेष महाधिवेशनका लागि काठमाडौँ आउन समेत आव्हान गरेका छन् । महामन्त्री थापाले विधान मिचेको टुलुटुलु हेरेर बस्न नसकिने बताउदै विशेष महाधिवेशन हुने स्पष्ट गरेका छन् । उनले आजको बैठकले विधानमा व्यवस्था भए अनुसार विशेष महाधिवेशनको प्रस्तावनै नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
५- नेपाली कांग्रेसको महाधिवेशन बैशाखमा गर्ने नयाँ कार्यतालिका पारित भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्नेगरि पेश गरेको कार्यतालिका पारित भएको प्रवक्ता प्रकाश शरण महत्तले जानकारी दिएका हुन् । नयाँ कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । जस अनुसार चैत्र २१ गते गाउँ नगर वडा अधिवेशन, चैत्र २५ गते गाउँ नगरपालिका अधिवेशन, चैत्र २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, २०८३ को बैशाख २ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन, बैशाख ५ गते दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्ला अधिवेशन, बैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने तालिका छ । साथै कार्यवाहक सभापति खड्काले काँग्रेसको विधानको धारा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी र सदस्यको पदावधि २०८३ जेष्ठ मसान्तसम्म थप गर्ने प्रस्ताव पारित भएको छ ।
६- नेपाली राष्ट्रिय क्रिकेट टिम का बलर करण केसीले वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेका छन् । शुक्रबार करण केसीले भने वर्षासँग इन्गेजमेन्ट गरेको भन्दै दुवै जनाले औठी लगाएको तस्बिर सर्वजनिक गरेका छन् । करणले सामाजिक सञ्जालमा तस्बीर शेयर गर्दै भनेका छन्- ‘फरएभर स्टार्स नाव’, दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि औपचारिक रूपमा उनीहरुले यसको पुष्टि यसअघि गरेका थिएनन् । नयाँ बर्षको अवसरमा वर्षाले औठी लगाएको तस्बीर सार्बजनिक गरेपछि उनले करणसँग इन्गेजमेन्ट गरेको चर्चा सामाजिक संजालमा गरिएको थियो ।
७- साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न पुरुषतर्फको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसलाई २५-२१, २५-२३ र २५-२२ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३-२ को सेटमा जित हासिल गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार दिउँसो ३:३० बजे हुने तालिका रहेको छ ।
८- नेकपा एमालेले गोरखाको क्षेत्र नम्बर २ बाट ले प्रतिनिधिसभा निर्वाचनका लागि चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । जिल्ला कमिटीको निर्णयअनुसार उनलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने सिफारिस गरिएको हो । गोरखा- २ बाट गुरुङसहित ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेल रहेका छन् । चक्रे मिलनको अघिल्लो निर्वाचनमा पनि उनको उम्मेदवारीको चर्चा चलेको भए पनि अन्तिम समयमा चुनावमा उम्मेदवार बनेका थिएनन् । त्यसबेला एमालेले अब्दुस मियाँलाई उम्मेदवार बनाएको थियो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । यस पटक भने प्रचण्ड सो क्षेत्रबाट उम्मेदवार नबन्ने संकेत देखिएको छ ।
९- जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले चार सेटको खेलमा २५-१२, २९-३१, २५-१४ र २५-१८ को जित निकालेको थियो । यसअघि, शुक्रबारै बिहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई २५-१७, २५-२० र २५-७ को सोझो ३-० को सेटमा जित हासिल गर्दै फाइनलमा पुगेको थियो । अब, पुलिस र डायमण्ड बीचको फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ । प्रतियोगितामा पुरुषतर्फको फाइनल खेल पनि शनिबारै हुनेछ । यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए। च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट गरिनेछ। ती टोलीले दशौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन् । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जानकारी दिएको छ । त्यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार र विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
१०- राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेतृत्वलाई समानुपातिक सूचीप्रति असन्तुष्टि जनाउदै सच्याउन आग्रह गरेका छन् । प्रवक्ता शाहीले राप्रपाको नेतृत्वलाई अवसरवादी र परिवारवादबाट बाहिर निस्किन आग्रह गर्दै विपन्नताबाट संसदको आवाज बन्ने समानुपातिक व्यवस्थाका हकदार जो हुन् उनीहरूलाई उनीहरूको हक उपलब्ध गराउन माग गरेका छन् । उनले भनेका छन्- ‘समानुपातिक बन्दसूची सच्याउने समय ७ दिनको तोकियो, समयमै राप्रपाले विचार गरौँ । विपन्नताबाट संसदको आवाज बन्ने समानुपातिक व्यवस्थाका हकदार जो हुन् उनीहरूलाई उनीहरूको हक उपलब्ध गराउनुहोस् । राप्रपाका नेतृत्वहरू अवसरवादी र परिवारवादबाट बाहिर निक्लिनुहोस् ।’ राप्रपाले बुझाएको समानुपातिक सूचीमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ श्रीमती तथा राप्रपा महिला संगठनकी नेता सरस्वती लामासहितको नाम राखिएको प्रति विवाद भएको छ ।
११- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबीच एकता भएको छ । शुक्रबार प्रगतिशील लोकतान्त्रिक पार्टीका निर्वाचन परिचालन तथा वार्ता संवाद समिति संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन रुपान्तरण अभियानका संयोजक दलसिंह खत्री मिसनले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । देशलाई प्रगति र अग्रगमनको दिशातर्फ लान लोकतान्त्रिक मूल्य संघीय लोकतान्त्रिक गणतन्त्र समावेशितालाई आत्मसात गर्दै राष्ट्रियताको संरक्षण सबल राष्ट्र सक्षम नागरिक समावेशी समृद्धिद्वारा सामाजिक न्याय स्थापनाको प्रकृयाबाट समाजवादको बाटोतर्फ अगाडि बढ्ने प्रतिबद्धताका साथ एकता गर्न सहमत भएको सहमति पत्रमा उल्लेख छ ।

१२- भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कमयुनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ । आयोगले भदौ २३ र २४ को घटनाको बारेमा आयोगका तर्फबाट विभिन्न प्रश्नहरुसहित पत्र पठाएको हो । साथै देउवा र प्रचण्ड दुवैलाई प्रश्नको जवाफ लिखित रुपमै आयोगमा पठाउन सक्ने बताएको आयोग स्रोतले जानकारी दिएको छ । जेनजी आन्दोलनको क्रममा कांग्रेस सभापति देउवा भदौ २४ गते आफ्नै निवास बुढानिलकण्ठमा कुटिएका थिए भने सिंहदरबारमा रहेका प्रचण्डलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो । आफ्नो अध्ययनको अन्तिम चरणमा रहेको आयोगले अब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरेको जनाएको छ ।
१३- चीनले ताइवान वरपरका क्षेत्रहरूमा सैन्य अभ्यासहरू गरिरहेको विषयमा अमेरिकाले कडा प्रतिक्रिया जनाएको छ । यी सैन्य अभ्यासहरू डिसेम्बर ३१ मा सम्पन्न भएका थिए । अमेरिकी विदेश विभागले विज्ञप्ति जारी गर्दै ताइवान र यस क्षेत्रका अन्य पक्षहरूप्रति चीनको सैन्य गतिविधि र भाषाले अनावश्यक रूपमा तनाव बढाइरहेको उल्लेख गरेको छ । अमेरिकाले भनेको छ- ‘हामी चीनलाई संयम अपनाउन, ताइवानविरुद्ध सैन्य दबाब बन्द गर्न र यसको सट्टा अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं । संयुक्त राज्य अमेरिकाले ताइवान जलडमरूमा शान्ति र स्थिरतालाई समर्थन गर्दछ र बल प्रयोग गरेर वा जबरजस्ती गरेर वर्तमान स्थितिमा कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्दछ ।’ ताइवानले पनि चीनको सैन्य अभ्यासको कडा विरोध गरेको छ । चीनले यी सैन्य अभ्यासहरूलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको थियो । चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्दछ ।
१४- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले बक्स अफिसमा निरन्तर शानदार कमाई गरिरहेको छ । फिल्म रिलिजको चौथो साता सकिदा घरेलु बक्सअफिसमा ७८४.५ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो । धुरन्धर हालसम्म बलिवुडको इतिहासमा सबै भन्दा धेरै कमाई गर्ने तेस्रो फिल्म पनि बनेको छ । बलिवुडको इतिहासमा सर्वाधिक कमाई कलेक्सन गर्ने फिल्म दंगल हो । दंगलले १९६८ करोड कमाई गरेको थियो भने जवानले ११४८ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरेको छ । अहिलेसम्म फिल्मले भारत बाहिर २३० करोड भन्दा बढी कमाई गरेको छ । फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।
१५- इरानमा सुरक्षा बल र प्रदर्शनकारीहरू बीचको झडपमा कम्तिमा ७ जनाको ज्यान गएको छ । जसले गर्दा नयाँ विरोध प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरू पहिले राजधानी तेहरानबाट सुरु भएका थिए र पछि अन्य क्षेत्रहरूमा फैलिएका थिए, जसमा दस विश्वविद्यालयका विद्यार्थीहरू सामेल भएका छन् । आर्थिक मन्दी र उच्च मुद्रास्फीतिले गर्दा यो विरोध प्रदर्शन भएको हो, जुन डिसेम्बरमा ४२.५ प्रतिशतमा पुगेको थियो । पछिल्लो विरोध आइतबार सुरु भएको थियो जब पसलेहरू सरकारको तीव्र मुद्राको अवमूल्यन र बढ्दो मूल्यको विरोधमा सडकमा उत्रिए । धेरै विश्वविद्यालयका विद्यार्थी र व्यापारीहरुले प्रदर्शन गरिरहेका छन् र प्रमुख बजारहरू बन्द गरिरहेका छन् । इरानको फार्स समाचार एजेन्सीका अनुसार प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेको र धेरै भवनहरूमा गम्भीर क्षति पुर्याएको छ । प्रहरीले धेरै मानिसहरूलाई पक्राउ गरेको छ । अमेरिकी र पश्चिमी प्रतिबन्धहरू अन्तर्गत इरानको अर्थतन्त्र वर्षौंदेखि दबाबमा छ, जसमध्ये धेरैजसो तेहरानको आणविक कार्यक्रमसँग सम्बन्धित छन् । अहिलेका विरोध प्रदर्शन आर्थिक दबाब, मुद्रास्फीति र मुद्राको उतारचढावबाट सञ्चालित छन् र जीविकोपार्जनको चिन्तासँग सम्बन्धित छन् । यी विरोध प्रदर्शन आर्थिक कारणले प्रेरित छन्, तर धेरै प्रदर्शनकारीहरूले इरानको शासन विरुद्ध नारा पनि लगाएका छन् । राष्ट्रपति मसूद पेजेश्कियानको नेतृत्वमा रहेको इरानको नागरिक सरकारले प्रदर्शनकारीहरूसँग वार्ता गर्न इच्छुक देखिएको छ । उनले भनेका छन्- ‘इस्लामिक दृष्टिकोणबाट… यदि हामीले जनताको जीविकोपार्जनको मुद्दालाई सम्बोधन गरेनौं भने, हामी नर्कमा जानेछौं ।’ यो कथन सरकारी टिभीमा प्रसारित भएको थियो । यद्यपि, पेजेश्कियानले उनका विकल्पहरू सीमित रहेको स्वीकार गरेका छन् किनभने रियालको मूल्य तीव्र रूपमा घटेको छ । हाल, एक अमेरिकी डलरको मूल्य लगभग १४ लाख रियल पुगेको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ६२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर ४५२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।
१७- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड भएको छ । शुक्रबार गरिएको बाँडफाँडमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी रहेको १८ कित्ता शेयर १८ जना लगानीकर्तालाई वितरण गरिएको थियो । जस अनुसार १८ जनाले ५१ कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका कुल ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन् । अब आवेदन दिएका ५ लाख ६४ हजार ९५१ जनाको हात खालि भएको छ । पुस ७ गतेदेखि ११ गतेसम्म खुलेको आइपीओमा ३३ गुणा बढी आवेदन परेको थियो । कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर रु. ८२०.८० का दरले बुक-बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
१८- नेपाल सरकारले कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको प्रति आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको हो । नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको माफीको मन्त्रालयले उच्च मूल्याङ्कन गरेको उल्लेख गरेको छ ।

१९- नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, डिसेम्बर महिनामा ९८ हजार १९० पर्यटक भित्रिएसँगै २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक भित्रिएका हुन् । अघिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए । नेपाल आउनेमा पर्यटकमा सबैभन्दा धेरै भारतका रहेका छन् । २०२५ मा भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट एक लाख १२ हजार ३१६ पर्यटक आएका छन् । त्यसपछि चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७. श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक २०२५ मा नेपाल आएका छन् ।
२०- नयाँ वर्षको पूर्वसन्ध्यामा स्विट्जरल्याण्डको एक बारमा भएको विस्फोटपछिको आगलागीमा करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पत्रकार सम्मेलन गर्दै घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको र बाँकीको अन्य अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ । साथै धेरै घाइतेको अवस्था गम्भीर रहेको छ । दक्षिणपश्चिम स्विट्जरल्याण्डको क्रान्स-मोन्टानास्थित स्की रिसोर्टमा नयाँ बर्ष मनाइरहेका बेला सो घटना भएको थियो । स्वीजरल्याण्डका राष्ट्रपतिले यस घटनालाई देशले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो त्रासदीहरू मध्ये एक भनेका छन् । आगलागीको कारण अझै पुष्टि भएको छैन । प्रहरीले यो घटना आतंकवादी घटना नभएको स्पष्ट गरेको छ ।



