अर्घाखाँचीका स्वतन्त्र उम्मेदवार खनालको टिम र मेयर बालेन शाहबीच भेटघाट




-अर्घाखाँची डटकम संबाददाता।
काठमाडौँ । अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवार नारायणप्रसाद खनालको टिमले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटघाट गरेको छ। भेटघाटमा स्थानीय नेतृत्व, सुशासन, विकास व्यवस्थापन र वैकल्पिक राजनीतिबारे विस्तृत छलफल भएको थियो।

मेयर शाहले “इमानदार र परिणाममुखी नेतृत्वले जनताको विश्वास जित्न सक्छ, र स्वतन्त्र उम्मेदवारीबाट पनि सकारात्मक परिवर्तन सम्भव छ” बताउनुभयो। खनालको टिमले अर्घाखाँचीको बेरोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका चुनौती प्रस्तुत गर्दै दीर्घकालीन विकास योजनाका बारेमा धारणा राखेको छ।


दुवै पक्षले सुशासन, भ्रष्टाचार नियन्त्रण, स्थानीय स्रोतको सदुपयोग र जवाफदेही नेतृत्वका विषयमा अनुभव साझा गर्दै वैकल्पिक राजनीतिका लागि सकारात्मक संवादको महत्त्व औँल्याएका छन्।
यो भेटघाटले स्वतन्त्र उम्मेदवारहरूको मनोबल बढाउने र देशभर वैकल्पिक राजनीतिप्रति आमचासो बढाउने अपेक्षा गरिएको छ।



