आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

imagesimages

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१- नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको आव्हान गरेका छन् । बुधबार महामन्त्रीद्वय शर्मा र थापाले संयुक्त वक्तव्य जारी गर्दै पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनका लागि औपचारिक आह्वान गरेका हुन्  । उनीहरुले विशेष महाधिवेशन कानूनी र राजनीतिकरुपमा अपरिहार्य बनेको बताएका छन् ।

२- नेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको बताउदै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ । काँग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशन विधान विपरीत रहेको बताउँदै विशेष महाधिवेशन बोलाउन अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट गरेको छ । काँग्रेसले पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई अपिल गरेको छ ।

३- पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जना र बिज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगन्जविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको ठेक्कासम्बन्धि सूचना प्रकाशन गर्दा अनियमितता गरेको आरोपमा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र तत्कालीन लेखापाल संजय पटेल  तथा बिज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगंज, पर्सा तथा उक्त कम्पनीका संचालक कमल कुमार उपाध्यायविरुद्ध जनही ४ लाख २९ हजार चार सय बराबर बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको हो । अख्तियारले गाउँपालिकाको ठेक्का सुचना सौर्य दैनिकमा प्रकाशित गरिएको भनिए पनि अनुसन्धान गर्दा सो सुचना भनिएको दिन पत्रिकामा प्रकाशित नभएको पाइएको भन्दै मुद्धा दायर गरेको जानकारी दिएको छ ।

४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुले विष पिएर भएपनि पार्टी एकता जोगाउने बताएका छन् । बुधबार काँग्रेसका नेता चन्द्र भण्डारी र सुनिल कुमार शर्मासँग छलफल गर्दै महामन्त्री थापाले जे सुकै भएपनि पार्टी तलमाथि नहुने प्रतिबद्धता जनाएका हुन् । उनले पार्टीमा असहजिलो अवस्था आए आफू विष पिउन तयार रहेको बताए । पार्टीमा को समयसापेक्ष बनाउनको लागि आफूले अभियान चलाएको थापाको भनाई थियो । उनले भने-  हाम्रो अभियानबाट हामीले गर्ने प्रयासबाट नेपाली काँग्रेस थप मजबुत हुन्छ, कतिपयले पार्टी फुट्छ भनिरहेका छन् । तपाइँहरुलाई साक्षी राखेर भन्छु, कसैले चाहेर पार्टी फुट्दैन । यदि त्यतिकै अप्ठ्यारो अवस्था आयो भने बरु म विष पिउछु नी ।त्यो विष आफुले विष पिएर भएपनि एकतालाई जोगाउने हो । अहिले नेपाली काँग्रेसमा हामीले खोजेको प्रश्नको उत्तर खोज्ने प्रयास भइरहेको छ ।’

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूची विवादपछि उम्मेदवारले नाम फिर्ता लिनेक्रम जारी रहेको छ । पछिल्लो पटक रास्वपामा बालेन शाहको टिमबाट समानुपातिक सूचीमा रहेका डा. रामजी रामले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । रामजी रामले आफ्नो उम्मेदवारी फिर्ता लिदै दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै आफुले समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन् । उनले भनेका छन्- ‘मेरो भन्दा अझै बढी पीडित, अझै कम सुन्निएको, तर संसदभित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै कतै पछाडि छन् । यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ । म संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो । उनले आफु फरक भूमिकामा रहेर पनि राजनीति चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहने बताएका छन् । रास्वपाको समानुपातिक सूचीमा सेलिब्रेटीलाई स्थान दिएको र संबिधानले व्यवस्था गरेको समानुपातिक प्रतिनिधित्वको मर्म विपरितका उम्मेदवार सिफारिस गरेको भन्दै चौतर्फी आलोचना भएपछि उम्मेदवारहरुले नाम फिर्ता लिइरहेका छन् । यसअघि मिलन लिम्बु, डा. अरनिको पाँडे, टासी शेर्पा, गायिका त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीलगायतले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन् ।

images

६- राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्य क्लस्टरबाट धनकुटाका सुनिल बहादुर थापा निबिरोध निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली काँग्रेसबाट थापाको मात्र उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएका हुन् । नेकपाबाट उम्मेदवार बनाइएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । घिमिरेले वारेसमार्फत उम्मेदवारी दर्ता गर्न खोजेको तर वारेस दिन पत्रमा उनको हस्ताक्षर नभएको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले दर्ता नगरेको बुझिएको छ । यस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालले तालमेल गरेका छन् ।

७-  सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन् । नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उनले चुनाबमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको बताएका हुन्  । मिडियामा आएका आफ्ना समाचारकाबारे स्पष्ट पार्दै मन्त्री खरेलले भने- ‘म चुनाबमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनाबमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमामा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनेको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।’ प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वका सकरारको ध्यान सफल रुपमा चुनाब गराउनु नै रहेको बताउदै उनले आफ्नो ध्यान चुनाबमा केन्द्रीत भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे । पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई  कायम राख्नुपर्नेमा जोड दिदै उनले फागनु २१ मा निर्वाचन हुदैछ, उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताए ।

images

८- सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड आगामी शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सालापा विकास बैंकको आइपीओ शुक्रबार बाँडफाँड गर्ने जानकारी दिएको हो । पुस १६ गतेदेखि २० गतेसम्म सर्बसाधारणका लागि खोलिएको यस आइपीओमा १९.३७ गुणा आवेदन परेको छ ।  आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाको आवेदन परेको हो । उनीहरुले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यस मध्येबाट एक लाख ४३ हजार १७० जनाले जनही १०-१० कित्ताका दरले कुल १४ लाख ३९ हजार १७९ इकाई शेयर मात्र प्राप्त गर्ने भएका छन् । कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख रहेकोमा यसमध्ये ३३ प्रतिशत  अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ ।

९- नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर ५ अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ मा कारोबार भएको थियो । आज फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज नारायणी विकास बैंकको शेयर मुल्य सबैभन्दा बढी ६.०८ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ३.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज एसवाई प्यानलको शेयर सबैभन्दा बढी ८.४५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २६ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने श्रीनगर एग्रोको २३ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।

images

१०- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता भएको छ । बुधबार दुई पार्टीबीच फागुन २१ को निर्वाचन सहकार्य तथा पार्टी एकताको प्रक्रिया अघि बढाउन चार बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्ता संवाद समितिका संयोजक जनार्दन शर्माले हस्ताक्षर गरेका छन् ।

११- नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको घोषणा गरिएको हो । विशेष महाधिवेशन पक्षधरले विधान अनुसार आफुहरुले विशेष महाधिवेशन गर्न लागेको बताउदै विभिन्न समिति बनाएर तयारी तिब्र गतिमा भइरहेको जानकारी गराएको हो । उनीहरुले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी हुन पार्टीका सबै महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनीहरुले पार्टी विधान अनुसार हुने र यसले आधिकारिकता समेत पाउने दाबि गर्दै सबैको सहभागिता हुने र पार्टीको केन्द्रीय कमिटीले समेत यसको अपनत्व लिने विश्वास व्यक्त गरेका छन् । विशेष महाधिवेशन पक्षधरले व्यवस्थान र महाधिवेशन सम्पन्न गर्न १८ वटा समिति बनाएको जानकारी दिएको छ ।

१२- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धर बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेर नयाँ इतिहास बनाएको छ । फिल्म रिलिजको पाँचौं सातामा कुल ८३१.४० करोड कमाई गरेर बलिवुड इतिहासमा एक भाषामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको हो । धुरन्धरले यसअघि पुष्पा-२ को ८३०.१० करोडको किर्तिमानलाई तोडेर शिर्ष स्थानमा उक्लिएको हो । यस सूचीमा शाहरुख खानको जवान ६४३.८७ करोडसहित तेस्रो, स्त्री-२ ६२७.०२ करोडसहित चौथो र छावा ६००.१० करोडसहित पाँचौं स्थानमा रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पाँचौं साताको पाँच दिनमा ४६.९ करोड कमाई गरेको छ । यसअघि चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको थियो भने पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो । त्यस्तै दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो भने तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो । फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।

Nepal life insurance

१३- राष्ट्रिय सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै लड्ने भएको छ । नेपाली काँग्रेस र एमालेसँग तालमेलमा कुरा नमिलेपछि एक्लै चुनाव लड्ने गरि उम्मेदवार चयन गरेको हो । तालमेलमा नेकपाले ४ सिट मागेकोमा ३ भन्दा बढी दिन काँग्रेस-एमाले तयार नभएपछि कुरा नमिलेको हो । नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेश प्रदेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल,  बागमतबाट सरोज कुमारी झा, प्रेम प्रसाद सापकोटालाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै, गण्डकी प्रदेशबाट कपिल लामा, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट रोजी बस्नेत र टीकाराम जैशीलाई उम्मेदवार बनाएको छ ।

१४-  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ९ देखि १२ महिनासम्म मैदानबाट बाहिर हुने भएकी छन् । न्यूजील्याण्डको क्लब वेलिङटन फोनिक्सबाट अस्ट्रेलियामा निन्जा ए लिग खेलिरहेकी साम्बाको घुँडाको गम्भीर चोट लागेपछि उनी यो सिजन खेल्न नसक्ने भएकी हुन् । क्लबले साम्बाको इन्जुरी बारे जानकारी दिदै उनी ९ देखि १२ महिनासम्म मैदान बाहिर हुने जानकारी दिएको छ । वेलिङटन फोनिक्सले एमआरआई स्क्यानपछि साम्बाको दाहिने घुँडामा ‘एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) ग्राफ्ट’ फुटेको देखाएको छ र उनी नौ देखि १२ महिनासम्म मैदान बाहिर रहने बताएको हो । साम्बालाई ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा चोट लागेको थियो । रोअरकी गोलकिपर क्लो लिंकनसँग साम्बा ठोक्किएकी थिइन् । वेलिङटन फोनिक्स साम्बालाई धेरै धेरै धन्यवाद, शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

१५- भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि वासिङ्टन र ल्याटिन अमेरिकाबीचको सम्बन्ध झन् झन् तनावपूर्ण बन्दै गएको छ । कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले खुलेआम अमेरिकाको आलोचना गरेका छन् । पेट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष चुनौती दिँदै साहस भए आफुलाई पक्राउ गर्न चेतावनी दिए । उनले आफू कोलम्बियामै रहेको र अमेरिकाको प्रतीक्षामा रहेको समेत बताए । पेट्रोको बयानले ल्याटिन अमेरिकाभर राजनीतिक उथलपुथल निम्त्याएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछि उनले यो बयान दिएका थिए । मादुरोले अगस्ट २०२५ मा डोनाल्ड ट्रम्पलाई यस्तै चुनौती दिएका थिए । मादुरोले यदि अमेरिकासँग साहस छ आएर पक्राउ गर्नु भनेका थिए । प्रतिक्रियामा, अमेरिकाले मादुरोको गिरफ्तारीको लागि प्रस्ताव गरिएको इनाम बढाएको थियो । पेट्रोले चेतावनी दिदै अमेरिकाले कोलम्बिया वा यसको वरपरका क्षेत्रहरूमा सैन्य आक्रमण गरेमा यसको गम्भीर परिणाम हुने बताएका छन् । पेट्रोका अनुसार, अमेरिकी बम विस्फोटको घटनामा, गाउँहरूमा बस्ने किसानहरूले हतियार उठाएर पहाडी क्षेत्रहरूमा भागेर छापामार युद्ध सुरु गर्न सक्ने र जसले गर्दा सम्पूर्ण क्षेत्र अस्थिर हुन सक्ने बताएका छन् । पेट्रोले यो पनि भने कि देशको जनसंख्याको ठूलो हिस्साले माया र सम्मान गर्ने राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयासले जनआक्रोश निम्त्याउन सक्छ। गुस्ताभो पेट्रोले उनी आफैं पहिले छापामार आन्दोलनको हिस्सा थिए र १९९० को दशकमा हतियार त्यागेका थिए । उनले फेरि कहिल्यै बन्दुक नउठाउने वाचा गरेका थिए, तर आफ्नो देश र मातृभूमिको रक्षा गर्न आवश्यक परेमा फेरि हतियार उठाउन सक्ने बताउदै आएका छन् । यसअघि, ट्रम्पले कोलम्बिया विरुद्ध गम्भीर आरोप लगाएका थिए । आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कोलम्बिया एक बिरामी देश भएको जसलाई कोकेन उत्पादन गर्ने र अब अमेरिका पठाउने व्यक्तिले शासन गर्ने बताएका थिए । ट्रम्पले यो राष्ट्रपति लामो समयसम्म सत्तामा नरहने बताउदै कोलम्बिया विरुद्ध सैन्य कारबाहीलाई राम्रो विचार मान्ने बताएका थिए ।

१६- राष्ट्रिय सभाको १८ सिटको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टीले पनि तालमेल गर्ने भनिए पनि कुरा नमिलेपछि अलग भएको बताइएको छ । कांग्रेस एमाले र जसपा नेपालले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार पनि छानिसकेका छन्  । तालमेल अनुसार काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालले एक सिटमा उम्मेदवार उठाउने सहमति भएको छ । जसपा नेपालले राष्ट्रिय सभामा महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेसका उम्मेदवार:  काँग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे (जंगली) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ । एमालेका उम्मेदवार: एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचनका लागि कोशीमा रोशनी मेचे र सोम पोर्तेल, बागमतीमा डा. प्रेम दंगाल, मधेशमा रेखा झा, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन भएको हो ।

१७- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ६७ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर ४९३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो मुल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।

१८- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को टी- २० विश्वकप स्थल स्थानान्तरण गर्ने अनुरोधलाई अस्वीकार गरेको छ । आईसीसीले बंगलादेशले आफ्ना विश्वकपका सबै लिग खेलहरू भारतमा नै यस अघि सार्बजनिक गरिएको तालिका अनुसार खेल्नुपर्ने स्पष्ट गरेको छ । साथै आइसीसीले बंगलादेशले नाखेलेमा उसले अंक गुमाउने चेतावनी दिएको छ । बंगलादेश क्रिकेट बोर्डले मुस्ताफिजुर रहमानलाई आईपीएलबाट निकालिएपछि भारतमा आफ्ना खेलाडीहरु असुरक्षित हुनसक्ने भन्दै टी- २० विश्वकप खेलहरू भारतमा खेल्न अस्वीकार गरेको थियो । साथै बोर्डले आफ्ना खेलहरू श्रीलंकामा स्थानान्तरण गर्न आईसीसीलाई अपील गरेको थियो । रिपोर्ट अनुसार, आईसीसी अध्यक्ष जय शाह र अन्य अधिकारीहरू मंगलबार मुम्बईमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र बंगलादेश क्रिकेट बोर्डका अधिकारीहरुसँग यस विषयमा छलफल गरेका थिए । आईसीसीले स्पष्ट रूपमा प्रतियोगिता नजिक आइसकेका र कैयौ खेलका टिकट बिक्रि समेत भइसकेको, खेलाडी र अफिसियलका होटल र फ्लाइटका टिकटसमेत बुक भइसकेको हुनाले खेल स्थलहरूमा परिवर्तन गर्न असम्भव रहेको स्पष्ट गरेको छ । बंगलादेशमा पछिल्लो समय हिन्दूहरूमाथि लगातार भइरहेको आक्रमणपछि भारतमा त्यसको विरोध शुरु भएको थियो । विरोधको क्रममा बंगलादेशका खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गरिएको थियो । बंगलादेशलाई टी- २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।

१९- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी पछि, उनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । तस्बिरमा, मादुरोले खैरो नाइके-ब्रान्डको फ्लिस ट्र्याकसूट लगाएको देखियो । यो तस्बीर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्बजनिक गरेका थिए । तस्बिर भाइरल हुने बित्तिकै, विश्वभर सबैको उनको लुगामा ध्यान गयो । मानिसहरूले मादुरोले कस्तो प्रकारको ट्र्याक सूट लगाएका थिए भनेर खोज्न थाले । यो नाइके फ्लिस ट्र्याकसूट हो भनेर थाहा पाउने बित्तिकै, मानिसहरूले यसलाई किन्न थाले । ट्र्याकसूटको माग बढ्यो र यो धेरै ठाउँमा बिक्री भयो । कम्पनीलाई ट्र्याकसूटको विज्ञापन गर्नु परेन । भाइरल तस्बिर आफैं सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । यस सुटको मुल्य नेपाली ९ हजारदेखि १४ हजारसम्म पर्ने बताइएको छ । विश्वका कैयौं स्थानमा यो ट्रयाक सुट अहिले सोल्ड आउट भएको छ । गुगल ट्रेन्ड्सका अनुसार, गुगलमा ‘नाइके टेक’ को खोजी बढेको थियो र जुन ४ मा शिर्ष स्थानमा पुगेको थियो । यसले खैरो नाइके ट्रयाकलाई अब मादुरो ग्रे; भनेर चिनिएको छ ।

२०- जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्न ८ देशको टुंगो लागेको हो । अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुग्ने देशमा माली, सेनेगल, इजिप्ट, आइभरी कोष्ट, क्यामरुन, मोरक्को, अल्जेरिया र नाइजेरिया रहेका छन् । अब क्वाटरफाइनलमा माली र सेनेगल, इजिप्ट र आइभरी कोष्ट, मोरक्को र क्यामरुन तथा अल्जेरिया र नाइजेरिया खेल्दैछैन । क्वाटरफाइनलका खेल जनवरी ९ र १० मा हुने छन् । अफ्रिका कप अफ नेसन्सका सेमिफाइनलका खेल जनवरी १४ र फाइनल जनवरी १८ मा हुने तालिका रहेको छ ।

 

#ArghakhanchiCom #NepalNews #Top20News #BreakingNews #NepaliCongress #NepalPolice #ISO #GreenBoardingSchool #IntegratedCamp #LocalUpdates #CitizenServices #EducationNepal #TrendingNepal #StayUpdated #KhabarNepal

Nepal life insurance