



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् ।
विहिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी हुन देश भरका काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेता तथा कार्यकर्तालाई आव्हान गर्दै विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका हुन् ।
महामन्त्री शर्माले पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने बताउदै काँग्रेसको विधान कार्यान्वयन गर्न र पार्टीलाई नविन आत्मविश्वास भर्न विशेष महाधिवेशन गर्न लागेको स्पष्ट गरेका छन् ।

उनले भनेका छन्- ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ। अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला । विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, बरु पार्टीको विधानको रक्षा गर्नु हो।’
महामन्त्री शर्माले अगाडी भनेका छन्- ‘यो संवेदनशील घडिमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ। अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नु परेको छ ।’
उनले भदौ २२ अगाडिको नेपाल अहिले नभएको बताउँदै समय, परिस्थिति, हाम्रो चुनौती र दायित्व सबै बदलिएको अवस्थामा नयाँ संकल्प लिनुपर्ने र विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन गर्न लागेको बताएका छन् ।
दुई महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी तिब्र पारेपछि संस्थापन पक्षले भने नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनका नाममा हुने गतिविधिमा सहभागी नहुन अपिल गरेको छ ।



