एनआरएनए एनसीसी यूएसएले भन्यो- खेलकुदमन्त्री गुप्तालाई निमन्त्रणा पठाएका छैनौं

imagesimages

 

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण स्वीकृतिको विवादमा नयाँ मोड आएको छ ।

मन्त्री गुप्ताको अमेरिका भ्रमणको निमन्त्रणा गरेको भनिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण नगरिएको स्पष्ट गरेको छ । एनआरएनए एनसीसी यूएसएका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरी आफ्नो संस्थाको आयोजनामा अमेरिकामा कुनै कार्यक्रम आयोजना नगरिएको स्पष्ट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘संघले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट गर्दै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नभएको जानकारी गराएको छ ।’

साथै एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम र मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि सञ्चालन भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको समेत विज्ञप्तिमा जनाएको छ ।

नागरिक सरकारमा बसेर पार्टीको राजनीति गरिरहेको आरोप लागेपछि राजीनामा दिने दबाबमा रहेका मन्त्री गुप्ताले पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकमा आफ्नो अमेरिका भ्रमण स्वीकृत गराएका थिए । उनले अमेरिकामा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ भन्ने कार्यक्रममा सहभागी हुन जाने भन्दै भ्रमण स्वीकृत गराएका थिए ।

 

Nepal life insurance