सातौँ अर्घाखाँची महोत्सवको भव्य शुभारम्भ : व्यापार, कृषि र संस्कृतिको महासंगम, ४ सय स्टलबाट स्थानीय उत्पादनको प्रदर्शनी


-केशब पन्थी ,अर्घाखाँची डटकम।
सन्धिखर्क अर्घाखाँची। सातौँ अर्घाखाँची महोत्सवको औपचारिक उद्घाटन कार्यक्रम आज भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

जिल्लाको आर्थिक, सांस्कृतिक तथा व्यापारिक प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका कृषि तथा पशुपन्छी तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्नुभएको हो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पन्थीले अर्घाखाँची जिल्लामा कृषि उत्पादन, पशुपालन तथा सहकारी क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्नुभयो। यस्ता महोत्सवहरूले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, किसान तथा उद्यमीको आत्मनिर्भरता बढाउने र जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले प्रदेश सरकार स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीतिअनुसार आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले महोत्सवले अर्घाखाँचीको पहिचान राष्ट्रियस्तरसम्म स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय कला, संस्कृति र उत्पादनलाई चिनाउने अवसरका रूपमा महोत्सवलाई लिनुपर्ने धारणा राख्नुभयो।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले महोत्सवले जिल्लाको समग्र विकास, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाखाँचीलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले महोत्सव अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष गणेश खनालले यस्ता कार्यक्रमको प्रचार–प्रसारमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।


कार्यक्रम चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थाका उपाध्यक्ष बाबुराम पन्थीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष लिला बस्यालले राख्नुभएको थियो।

उद्घाटन अवसरमा स्थानीय कलाकारद्वारा प्रस्तुत विविध सांस्कृतिक कार्यक्रम तथा आकर्षक झाँकीहरूले महोत्सवलाई थप रौनक प्रदान गरेको थियो। महोत्सवमा अर्घाखाँचीमा उत्पादित कफी, तरकारी, सुन्तलाजात फलफूल, डेरीजन्य सामग्रीसहित घरेलु तथा साना उद्योगका उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।


आयोजकका अनुसार महोत्सवमा जम्मा ४ सय स्टल रहेका छन्, जसले स्थानीय किसान, व्यवसायी र उद्यमीलाई आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गर्नेछ। महोत्सवले जिल्लाको आर्थिक गतिविधि तीव्र बनाउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

व्यापार, पर्यटन, कृषि र संस्कृतिको समन्वय गर्दै सातौँ अर्घाखाँची महोत्सवले जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक तथा सहभागीहरूले व्यक्त गरेका छन्।
थप तस्बिर :








#arghakhanchicom #ArghakhanchiMahotsav #7thArghakhanchiMahotsav #LocalProducts #TradeFestival #AgricultureNepal #Sandhikharka #Arghakhanchi #LumbiniProvince #NepalFestival #EconomicGrowth



