

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन प्रचार प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार २६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएकोमा आज ६.२४ प्रतिशत बढेर कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गरेको जानकारी दिइएको छ । आजको बन्द सत्रमा दुई महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमा छलफल शुरु भएको छ । अब मंगलबार पनि बन्दसत्र जारी रहने र समुहगत छलफल जारी रहने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिएका छ । बन्दसत्रले मंगलबार नीति पारित गरेर निर्वाचनको प्रक्रिया शुरु हुने बताए । अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको र संस्थापन पक्षले ६६ प्रतिशतले नेतृत्व गर्न सक्ने भनेकोमा आफुहरुले ७० प्रतिशत कटाउने पोखरेलले दाबी गरे । उनले विशेष महाधिवेशनमा ५१ प्रतिशत भएमा पर्याप्त हुने बताउदै नेतृत्व फेर्न बहुमतले नै गर्न सक्ने बताए ।


२- जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन भएका हुन् । दुवैबीच पाँच बुँदे सहमति भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
३- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाउदै दुई महामन्त्रीलाई वार्तामा बोलाएका छन् । सभापति देउवाले पत्र पठाएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई वार्ताका लागि बोलाएका हुन् । सभापति देउवाले नेता डा. शेखर कोइरालालाई पार्टीमा एकताको पहल गर्न आग्रह गर्दै महामन्त्रीहरुसँग छलफल गर्न आग्रह गरेका थिए । सभापति देउवाले पार्टी एकता बचाउन गरेको आग्रह अनुसार कोइरालाले महामन्त्रीहरुसँग भेटे गरिरहेको बताइएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न अगाडी बढेपछि संस्थापन पक्षका नेताहरु परामर्शमा जुटेका थिए । संस्थापन पक्षका नेताहरुले अहिले पनि विशेष महाधिवेशनलाई मान्यता नदिने र चुनावपछि नै नियमित महाधिवेशन हुने बताउदै आएका छन् ।
४- नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् । दार्चुलाबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न सिफारिस भएका बडूले जिल्ला कार्यसमितिलाई पत्र लेख्दै आफु उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । बडूले सक्षम युवा पुस्ता र इच्छुक साथीलाई पालो दिएर चुनाव जिताउन लाग्ने बताएका छन् । उनी २०७९ सालको निर्वाचनमा दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
५- अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेशी तोकिएको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो । राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशन विपरित एन्फा निर्वाचन प्रक्रियामा गएपछि विवाद बढेको छ । एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका थिए । एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो । यसअघि राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । राखेपको निर्देशन विपरित एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले उच्च अदालतमा रिट दायर गरेका थिए ।
६- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते आइतबारका दिन ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने गरि राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
७- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरेका थिए । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल-इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरेकी थिइन् । राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराएका थिए । साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरु पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराए । प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराइन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरिन ।भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठका अवसरमा केही थप महत्त्वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको थियो।

८- नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न अपिल गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै खड्काले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरे पछि आगामी २०८३ बैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको बताउदै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न अपिल गरेका हुन् ।
९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्ने बताएकी छन् । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता निङले भनिन्- ‘हामीले सधैं हाम्रो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गरेका छौं । हामी विश्वास गर्छौं, सबै देशहरूको सार्वभौमसत्ता र सुरक्षा अन्तर्राष्ट्रिय कानून अनुसार पूर्ण रूपमा कायम राख्नुपर्छ ।’ इरानमा भइरहेको विरोध प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पले इरानी सरकारलाई सैन्य हस्तक्षेपको धम्की बारम्बार दिएका छन् । आफ्नो हालैका बयानहरूमा ट्रम्पले इरानी सरकारले सबै सीमा पार गरेको छ र अमेरिकाले विभिन्न विकल्पहरू विचार गरिरहेको बताएका छन् ।
१०- नेप्से आज सामान्य घटेको छ । सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज एसवाई प्यानल र श्रीनगर एग्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोको शेयर ८.५३ प्रतिशतले बढेको छ । त्यस्तै आज सुपर मादी हाइड्रोको शेयर सबैभन्दा बढी ४.२५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४२ करोड २२ लाख बराबरको कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३१ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
११- बैतडीको पाटन नगरपालिका–८ जयपृथ्वी राजमार्गअन्तर्गत विजयपुरनजिक झौलेकमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान भएको दुर्घटना हुदा तीन जनाको घरटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा र २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै र सिगास गाउँपालिका–१ की २७ वर्षीया वसन्ती ऐरको जिल्ला अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । अन्य ६ जना घाइते को उपचार भइरहेको र घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक र बाँकीको सामान्य रहेको छ ।
१२- दोलखाको मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको बारे मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष कोइरालासहित तीन जनाले मृत्यु भईसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम एक लाख ६४ हजार निकाली हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ । मुद्धा दायर हुनेमा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष इश्वर कोईराला, वडा कार्यालयका तत्कालीन वडा सचिव बिनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापा रहेका छन् ।
१३- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विधान अनुसार भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने दाबि गरेका छन् । विशेष महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने दाबि गरेका हुन् । उनले भने- ‘यो विशेष महाधिवेशन वैधानिक हो की होइन भन्ने प्रश्नमा राजनीतिक दलसम्बन्धि ऐन को आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो । आज यो विषयको बारेमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संबिधानको आधारमा निर्वाचन आयोगले एक दुई तीन हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन । ढुक्क हुनुहोला ।
१४- त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले अहिलेसम्म उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । शिक्षण अस्पतालले जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख छ। अस्पतालले मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको जनाएको छ । अहिलेसम्म ४० करोड बीम बापतको रकम भुक्तानी गर्न बाँकी रहेको शिक्षण अस्पतालले जानकारी दिएको छ । सूचनामा भनिएको छ- ‘नेपाल सरकार स्वास्थ्य वीमा वोर्ड र यस त्रि.वि. शिक्षण अस्पतालबीच सम्झौता भई विगत २०७७ साल देखि नेपाल सरकारको स्वास्थ्य वीमा उपचार कार्यक्रम निरन्तर संचालन हुँदै आएको व्यहोरा सर्वविधितै छ । स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ वृद्धि हुँदै मासिक झण्डै ५ करोड हाराहरीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृति गरी बाँकी अस्वीकृत गरिँदै आएको जानकारी गराउँदै हालसम्म अस्पतालको बीमा दाबी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको व्यहोरा जानकारी गराउँदछु ।’

१५- मलेसिया र इन्डोनेसियाले एलोन मस्कको कम्पनी एक्सको एआई च्याटबोट ग्रोकलाई प्रतिबन्ध लगाएका छन् । यो एआई उपकरणलाई प्रतिबन्ध लगाउने यी विश्वका पहिलो देशहरू हुन् । ग्रोकले प्रयोगकर्ताहरूलाई छविहरू उत्पन्न गर्न अनुमति दिन्छ । यद्यपि, हालका हप्ताहरूमा यो मानिसहरूको सहमति बिना उनीहरूको फोटोहरू सम्पादन गर्न प्रयोग गरिएको छ । मलेसिया र इन्डोनेसियाले ग्रोकलाई महिला र बालबालिकाको अश्लील र गैर-सहमतिपूर्ण छविहरू सिर्जना गर्न प्रयोग गर्न सकिने भएकाले प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । मस्कले यसअघि नै उनको प्लेटफर्मका आलोचकहरूले ‘सेन्सरशिपको लागि कुनै बहाना’ खोजिरहेको बताएका थिए ।
१६- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण भएको पीएसएलभी-सी ६२/इओएस- एन१ मिसन असफल भएको छ । सोमबार बिहान अन्वेषा उपग्रह र १४ को- प्यासेन्जर उपग्रहहरू ध्रुवीय उपग्रह प्रक्षेपण वाहन अन्तरिक्षमा प्रक्षेपण असफल भएको इसरोले जानकारी दिएको छ । मिशनमा प्राविधिक गडबडी भएको जानकारी दिदै यसको विश्लेषण भइरहेको जानकारी दिएको छ । इसरोले मिसनको तेस्रो चरणमा प्राविधिक गडबडी देखिएपछि उपग्रहलाई यसको तोकिएको कक्षमा तैनाथ गर्न नसकिएको जनाएको छ । पृथ्वी अवलोकन उपग्रह मुख्य उपग्रह हो, जुन पृथ्वीबाट लगभग ६०० किलोमिटर माथि एसएसओमा राखिने बताइएको थियो । अन्वेषा रक्षा अनुसन्धान तथा विकास संगठनद्वारा विकसित गरिएको थियो । यो उन्नत इमेजिङ क्षमताहरूले सुसज्जित एक जासूसी उपग्रह हो, जुन सटीक निगरानी र नक्साङ्कनको लागि डिजाइन गरिएको छ । यसले पृथ्वीबाट धेरै सय किलोमिटर माथिबाट पनि झाडी, जङ्गल वा बंकरहरूमा लुकेका शत्रुहरूको छविहरू खिच्न सक्ने बताइएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४१ सयले बढेर तोलाको २ लाख ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर तोलाको ५१९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४९९० रुपैयाँमा कारोबार भएको थियो ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् र त्यसको क्याप्शनमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ उल्लेख गरिएको छ । जनवरी ३ मा, अमेरिकाले भेनेजुएला विरुद्ध कारबाही गर्यो र राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेको थियो । मादुरो हतियार र लागूपदार्थ तस्करीको आरोपमा अमेरिकामा मुद्दाको सामना गरिरहेका छन् । भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ ।

१९- बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि जितेको छ । साउदी अरेबियामा सम्पन्न स्पेनिस सुपर कोपाको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक एक गोल गरेका थिए । यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका फ्रान्की डि जोंगले रातो कार्ड पाएका थिए । योसँगै बार्सिलोनाले १६ पटक स्पेनिस सुपरकोपाको उपाधि जितेको छ । रियल म्याड्रिडले भने सुपर कोपाको उपाधि १३ पटक जितेको छ ।
२०- इरानमा सरकार विरोधी प्रदर्शनहरू लगभग दुई हप्तामा पुगेका छन् र अवस्था निरन्तर बिग्रँदै गइरहेको छ । इन्टरनेट र फोन सेवाहरू बन्द छन्, सुरक्षा बलहरूले कारबाहीहरू तीव्र पारिरहेका छन् र सरकारले खुला रूपमा कडा सन्देश जारी गरेको छ । यसको बावजुद, राजधानी तेहरानसहित धेरै शहरहरूमा मानिसहरू सडकमा उत्रिरहेका छन् । बढ्दो मृत्यु र गिरफ्तारीको बीचमा, आन्दोलन कम हुनेछ वा अझ हिंसात्मक हुनेछ भन्ने अन्योल जारी रहेको छ । इरानमा विरोध प्रदर्शनहरू डिसेम्बरको अन्त्यमा सुरु भएका थिए । तिनीहरू आर्थिक संकटबाट सुरु भएका थिए, तर अब तिनीहरू प्रत्यक्ष रूपमा शासनलाई चुनौती दिइरहेका छन् । इरानी रियाल डलरको तुलनामा १.४ मिलियनको ऐतिहासिक न्यूनतम स्तरमा पुगेपछि र देशमा महंगी चरममा पुगेपछि आन्दोलन शुरु भएको हो । मुद्रास्फीति, बेरोजगारी र प्रतिबन्धहरूबाट पीडित मानिसहरू सडकमा उत्रिएका छन् । बिस्तारै, नाराहरू आर्थिक मागहरूबाट राजनीतिक परिवर्तनमा सरेका छन् । सरकारले विरोध प्रदर्शनहरू जारी रहेको स्वीकार गर्छ, तर तिनीहरूलाई विदेशी षड्यन्त्र भन्दै दमनलाई जायज ठहराउँदै छ । इरानका सर्वोच्च नेता, अयातुल्लाह अली खामेनीको संकेत पछि, सरकारले खुला चेतावनी जारी गरेको छ । महान्यायाधिवक्ता मोहम्मद मोवाहेदी आजादले प्रदर्शनकारीहरूलाई ईश्वरका शत्रु भनेका छन् । यो आरोपमा मृत्युदण्डको सजाय दिइएको छ । राज्य टिभीले कुनै पनि उदारता नदेखाइने बताएको छ । अभियोजकहरूलाई छिटो आरोप लगाउन आदेश दिइएको छ । यो सन्देशले सरकारलाई कुनै पनि हालतमा नियन्त्रण कायम राख्न चाहन्छ भन्ने कुरा जनाउँछ । सरकारले देशलाई बाहिरी संसारबाट लगभग अलग बनाएको छ । बिहीबारदेखि इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवाहरू बन्द गरिएका छन् भने विदेशी मिडियाको उपस्थिति न्यूनतम छ । त्यस्तै राज्य र अर्ध-राज्य मिडिया आउटलेटहरूद्वारा सीमित जानकारी मात्र पठाइँदैछ । यसको बावजुद, प्रमाणित भिडियोहरू बाहिर आएका छन् । उत्तरी तेहरानको सादत अबाद छिमेकमा हजारौं मानिसहरू भेला भए र खमेनीविरुद्ध नारा लगाइएको भिडियो देखिएको छ ।
#TodayTopNews #MainBulletin #NewsBulletin #BreakingNews #Top20News #DailyNews #NepalNews #LocalNews #PoliticalNews #EconomicNews #SocialNews #WorldNews #Headlines #NewsUpdate #EveningBulletin #arghakhanchicom #arghakhanchi_com



