

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै थापा नेतृत्वको नेपाली कांग्रेसले चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिकता पाएको छ ।

२- सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता जगदिश खरेलले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । त्यस्तै बैठकले मानव तथा बाघ अन्तर सम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व बन्यजन्तु कोष मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९८३ अमेरिकी डलर स्वीकृत गरेको छ । त्यस्तै सिटीइभिटीको उपाध्यक्षमा रौतहटका मोहमद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको खरेलले जानकारी दिए ।

३- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहूबीच कुराकानी भएको छ । मिडिया रिपोर्टका अनुसार, पुटिनले नेतान्याहूलाई इरानसँग सम्झौता गर्न प्रयास गर्न आग्रह गर्दै रुस मध्यस्थता गर्न तयार रहेको बताएका थिए । यसैबीच, इजरायली राष्ट्रपति नेतान्याहूले मध्यपूर्वमा शान्ति कायम राख्ने सबै प्रयासहरूलाई समर्थन गर्ने बताए । पुटिन र नेतान्याहूले वार्ता जारी राख्न सहमत भएका छन् । यसैबीच पुटिनले शुक्रबार इरानी राष्ट्रपति मसूद पजाकियानसँग पनि फोनमा कुराकानी गरेको रुसी मिडियाले उल्लेख गरेका छन् । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन इरान र मध्यपूर्वमा तनाव कम गर्न प्रयासरत रहेको बताएका छन् ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको निर्णय फिर्ता लिने निर्णय गरेपछि वेबसाइटको सूचनामा ‘सहकारी ठगी सम्बन्धमा भएको निर्णय’ शीर्षकमा ‘टिप्पणी र आदेश’ उल्लेख थियो । तर उक्त फाइल शुक्रबार हटाइएको पाइएको छ । शुक्रबार भण्डारीले लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा जीबी राईसहित सबै प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चौतर्फी आलोचना भइरहेका बेला सो फाइल हटाइएको पाइएको छ । महान्यायाधिवक्ता कार्यालयले त्रुटी सच्चाएर पुन: अपलोड गर्ने बताएको छ ।

५- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवा बनाएको छ । हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै झापा-५ मा तामाङलाई उम्मेदवार बनाएको घोषणा गरेका हुन् । झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्र हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवार बन्ने चर्चाले अहिले सबैको यस क्षेत्रमा चासो बढेको छ । धरान-११ निवासी तामाङ विगत सात आठ वर्षदेखि साम्पाङको सहकर्मीको काम गर्दै आएका छन् । उन ले गत २०७९ सालको चुनाव स्वतन्त्रबाट प्रदेश सभाको उम्मेदवार समेत बनेका थिए । सुनसरी क्षेत्र नम्बर १ को क बाट लाल्टिन चुनाव चिन्हबाट चुनाव लडेका तामाङले ४ हजार ४६३ मत प्राप्त गरेका थिए ।
६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विभाजनप्रति चिन्ता प्रकट गरेका छन् । एमालेको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेसको विभाजन लोकतन्त्र कमजोर पार्ने खेल भएको बताएका हुन् । उनले के निर्णय गर्ने भन्ने कुरा कानुन अनुसार स्पष्ट भएको भन्दै निर्वाचन आयोगले तलमाथि गर्नै नपर्ने बताए । ओलीले काँग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनमा समेत प्रश्न उठाएका छन् । उनले भने- ‘नेपाली कांग्रेसको महाधिवेशन नभनेर विशेष किन भनेको ? महाधिवेशनको मिति तोकिसकिएको छ । कसले बोलाउने भन्ने पनि थिति होला नि त । बहुमत-अल्पमतको टुङ्गो गर्ने नि थिति होला नि त । कसैले सडकमा बहुमत पुर्याएँ भनेको भरमा बहुमत पुग्छ त ?’ ओलीले नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु एमालेका लागि दु:खद भएको बताए ।
७- संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा फोर्स फर अबेइको फोर्स कमाण्डरमा बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । फोर्स कमाण्डरमा नियुक्त भएका बलाध्यक्ष रथी गणेश कुमार माघ ०३ गते मिसन इलाकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनीयो गुटरेसले गत मङ्सिर १६ गते रथी श्रेष्ठलाई उक्त मिसनको फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् । संयुक्त राष्ट्र सङ्घीय विभिन्न शान्ति मिसनहरूमध्ये अबेइ मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको नियुक्त प्राप्त गरेको हो । यस अघि सन् १९९३ बाट विभिन्न मितिमा नेपाली सेनाका सात जना उच्च सैनिक पदाधिकारीहरूले संयुक्त राष्ट्र सङ्घ अन्तर्गत रही विभिन्न पाँच वटा शान्ति मिसनहरूमा फोर्स कमाण्डरको जिम्मेवारी सफलतापूर्वक पुरा गरी सकेका छन् । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा प्राप्त यस किसिमको जिम्मेवारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको छवि उच्च पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
८- नेपाली महिला क्रिकेट टिम वार्मअप खेलमा अमेरिकासँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । अब आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अन्तर्गत आइतबारदेखि शुरु हुदैछ र नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध खेल्दैछ ।
९- दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई देशमा मार्शल ल लागू गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ । युन सुक योललाई २०२४ को अन्त्यसम्ममा देशमा मार्शल ल लागू गर्न उक्साएको आठ अभियोग लगाइएको थियो । यो आठ अभियोगहरूमध्ये पहिलो हो । उनीमाथिको सबैभन्दा गम्भीर आरोप भनेको उनले मार्शल ल लागू गर्दा विद्रोहको नेतृत्व गरेको र यसका लागि पूर्व राष्ट्रपतिले मृत्युदण्ड भोग्न सक्ने बताइएको छ । सियोलको केन्द्रीय जिल्ला अदालतले पूर्व राष्ट्रपतिलाई सजाय सुनाएको छ । शुक्रबार दिइएको आफ्नो फैसलामा, सियोलको केन्द्रीय जिल्ला अदालतले पूर्व राष्ट्रपतिलाई पक्राउबाट बच्न र पक्राउको प्रतिरोध गरेको आरोपमा सजाय सुनाएको छ । सजाय सुनाउने सम्बन्धमा पूर्व राष्ट्रपतिबाट कुनै आधिकारिक बयान आएको छैन । मुद्दाको क्रममा, अभियोजकहरूले पूर्व राष्ट्रपतिलाई १० वर्षको जेल सजाय माग गरेका थिए । यसको युनको कानुनी टोलीले आलोचना गरेको थियो, जसले १० वर्षको सजायको माग राजनीतिक रूपमा प्रेरित र कानुनी आधार नभएको आरोप लगाएको थियो । युन सुक-योललाई महाभियोगद्वारा राष्ट्रपति पदबाट हटाइयो र पछि पक्राउ गरिएको थियो । युनमाथि डिसेम्बर २०२४ मा देशमा केही समयको लागि मार्शल ल लागू गरेको आरोप लगाइएको छ । यद्यपि, युनले देशलाई सैन्य शासनमा राख्ने आफ्नो कुनै मनसाय नभएको बताउँदै आफ्नो बचाउ गरे, तर उदारवादीहरूले आफ्नो एजेन्डा पछ्याउन संसदलाई नियन्त्रण गरिरहेका छन् भन्ने कुरा जनतालाई मात्र देखाउन चाहन्थे । अनुसन्धानले निष्कर्ष निकाल्यो कि युन सुक-योलले आफ्नो शासन लम्ब्याउन मार्शल ल लागू गरेका थिए । पूर्व राष्ट्रपतिमाथि विद्रोह, शक्तिको दुरुपयोग र अन्य आपराधिक अपराधको आरोप लगाइएको छ ।
१०- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा प्रतिवादीहरु प्रदीप अधिकारी, महेश कुमार बस्नेत, अशोक कुमार सुबेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र वावुराम पौडेल समेतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध पुनरावेदन निवेदन सर्वोच्चमा दिएको जानकारी दिएको छ । अख्तियारले विमानस्थल निर्माणका क्रममा उनीहरुले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ बिगो माग गरेर दायर गरेको रिटमा विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

११- नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताबाट भएको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । बारका महासचिव केदार कोइरालाले शुक्रबार विज्ञप्ति जारी गर्दै यो निर्णयले कानुनी शासनको उल्लंघन हुने बताउदै सो निर्णय फिर्ता लिन माग गरेका हुन् । महान्यायाधिवक्ता सविता भण्डारीले देशभरका अदालतमा रहेका लामिछानेविरुद्धका दुई अभियोग संशोधनका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई अनुमति दिने निर्णय गरेकी थिइन् । विज्ञप्तिमा भनिएको छ- ‘मुद्दा फिर्ता सम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यस अघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत छ । यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायपलिकाको अवधारणामानै असर पुयाउँछ । यस विषयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनी शासनको उल्लंघन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ । अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकोले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौं ।’ बारले भनेको छ- ‘पुस ३० गतेका दिन महान्यायाधिवक्ताको कार्यालयबाट भएको …ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ…’ भन्ने निर्णयले सारतः तीनवटा मुद्दामध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय भएकाले यस सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको छ ।’
१२- नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको छ । एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ । फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
१३- काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा काठमाडौँ -४ बाट उम्मेदवारी दिने चर्चा रहेको छ । मेयर बालेन शाहले राजीनामा दिने भएपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए ।
१४- अमेरिकासँग जारी विरोध प्रदर्शन, हिंसा र तनावका बीच न्यूजिल्याण्डले तेहरानमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ । न्युजिल्याण्डको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुतबास अस्थायी रुपमा बन्द गरिएको र सबै कूटनीतिक कर्मचारीहरू तेहरानबाट बाहिरिएको बताएको छ । त्यस्तै न्यूजील्याण्डले टर्कीको अंकारामा आफ्नो वाणिज्य दूतावास स्थानान्तरण गर्ने निर्णय गरेको छ । अमेरिका र इरानबीचको तनाव कम गर्न यस हप्ता चार अरब देशहरूले सक्रिय रूपमा कूटनीतिक प्रयासहरू तीव्र पारेका छन् । यी देशहरूमा इजिप्ट, ओमान, साउदी अरेबिया र कतार रहेका छन् । यी चार देशहरू पश्चिम एसियामा अमेरिकाका सहयोगी हुन् र उनीहरूले अमेरिकालाई इरानमाथि आक्रमण नगर्न अपील गरेका छन् । उनीहरूले इरानमाथि आक्रमणले गम्भीर सुरक्षा र आर्थिक परिणाम निम्त्याउन सक्ने र सम्पूर्ण क्षेत्रलाई मात्र होइन अमेरिकालाई पनि असर गर्ने बताएका छन् । यसैबीच ट्रम्प प्रशासनले इरानमा हुने भनिएको ८०० मृत्युदण्डको कार्यान्वयन रोकिएको दाबी गरेको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले इरान मुद्दामा विज्ञप्ति जारी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीले इरानी शासनलाई सन्देश पठाएको र हत्या जारी रहेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको उल्लेख गरेकी छन् । उनले राष्ट्रपति ट्रम्पले हुने भनिएको ८०० मृत्युदण्ड रोकिएको दाबी गरेकी छन् ।
१५- नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । संघले उच्च अदालत पाटनको अन्तरिम आदेश अनुसार निर्वाचन स्थगित भएको जानकारी दिएको हो । संघले यसअघि काठमाडौँ उपत्यका बाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निर्वाचन मिति सार्बजनिक गरेको थियो । संघले यथाशिध्र अर्को सूचना प्रकाशित गरेर निर्वाचन कार्यक्रम बारे जानकारी गराउने बताएको छ ।

१६- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो । घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ ।
साथै घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराएका थिए । प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् । उनले भनिन्- ‘मुलुक चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो । भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ। अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन। युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ। तपाईँहरु पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउनुहोस्। पुरानो मानसिकताले अब देश चल्दैन। पुरानो सोच र शैलीले पनि चल्दैन। अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ। युवाको भावनाअनुसार शासन चल्नुपर्छ।’ उनले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखेकी थिइन् ।‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ। भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ। मतदाता पनि यसमा चनाखो बन्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । शुक्रबार युवराज पौडेल सफलले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट पेस गरेका हुन् । उनको निवेदन अहिलेसम्म दर्ता भने भएको छैन । रिटमा महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । साथै उनले लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरिएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ७ सयले बढेर तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले बढेर तोलाको ५६४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५४८५ रुपैयाँमा कारोबार भएको थियो ।
१९ – भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचाडोले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट गरेर आफ्नो नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएकी छन् । राष्ट्रपति ट्रम्पले माचाडोको यो कदमको प्रशंसा गरेका छन् ।उनले भनेका छन्- ‘मारिया एक अद्भुत महिला हुन्, जसले धेरै सहेकी छिन् । मारियाले मेरो कामको लागि मलाई उनको नोबेल शान्ति पुरस्कार प्रदान गरिन् । यो पारस्परिक सम्मानको अद्भुत संकेत हो । धन्यवाद, मारिया !’ दुई नेताहरू आमनेसामने भेटेको यो पहिलो पटक थियो । हालै अमेरिकी सेनाले राजधानी काराकसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हिरासतमा लिएका थिए । त्यसबेलादेखि, भेनेजुएला कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजद्वारा शासित छ । डेल्सी मादुरोको शासनकालमा भेनेजुएलाकी उपराष्ट्रपति थिइन् । ट्रम्पले भेनेजुएला सरकारको सम्बन्धमा माचाडोलाई समर्थन गर्न अस्वीकार गरेका छन् । माचाडोको आन्दोलनले भेनेजुएलाको २०२४ को चुनावमा विजय दाबी गरेको थियो, जुन व्यापक रूपमा विवादित थियो, र उनलाई नयाँ नेता घोषणा गरेको थियो ।

२०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले राष्ट्रनिर्माणको यात्रामा अगाडि बढ्ने बेला आएको बताएका छन् । रास्वपाले प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिने तयारी गरेका बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने भएको बताएका छन् । उनले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको भन्दै लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो ।’ बालेनले अहिले नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, शब्दभन्दा कामलाई प्राथमिकता दिएका र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरेको बताएका छन् । उनले भनेका छन्- संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ । नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो ।’ बालेनले आगामी निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
#आजका_समाचार #दिनभरका_समाचार #ताजा_समाचार #बुलेटिन #ArghakhanchiDotCom



