सातौँ अर्घाखाँची महोत्सवमा रामजी खाडको जोशिलो प्रस्तुति, माघ ४ गते आइतबार महोत्सव स्थल झनै उल्लासमय


केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची – सातौँ अर्घाखाँची महोत्सवअन्तर्गत माघ ४ गते आज आइतबार महोत्सव स्थल दर्शकको उत्साहले भरिएको देखिएको छ। आजको मुख्य आकर्षक कलाकारका रूपमा रहेका चर्चित गायक रामजी खाडको दमदार प्रस्तुतीले महोत्सवलाई थप ऊर्जा र रौनक प्रदान गरेको थियो।


वृद्ध बुवाआमादेखि युवायुवती र साना केटाकेटीसम्म रामजी खाडका गीतमा झुम्दै नाचिरहेका दृश्यले महोत्सवलाई साँच्चिकै उत्सवमय बनाएको थियो।

रामजी खाड स्टेजमा उक्लिनासाथ दर्शकको ताली, हुटिङ र नाराले सम्पूर्ण वातावरण गुञ्जायमान बनेको थियो। आफ्ना लोकप्रिय तथा चर्चित गीतहरू प्रस्तुत गर्दै उनले निरन्तर दर्शकलाई नचाइरहे। उनको गायन शैली, दर्शकसँगको आत्मीय व्यवहार र ऊर्जाशील प्रस्तुतीले महोत्सव स्थलमा उपस्थित सबैलाई आकर्षित गरेको देखिन्थ्यो।

आजको कार्यक्रममा वृद्ध बुवाआमाहरू समेत उत्साहका साथ नाचिरहेको दृश्यले विशेष ध्यान तानेको थियो। त्यस्तै युवायुवती र बालबालिकाले पनि रामजी खाडका गीतमा साथ दिँदै नाच्दा महोत्सव स्थल झनै रमाइलो बनेको थियो। गीत संगीतमार्फत सबै पुस्तालाई एकै ठाउँमा जोड्न सफल भएको प्रतिक्रिया दर्शकबाट आएको छ।


आजको सांगीतिक कार्यक्रममा चर्चित गायिका मन्जु भट्टराईले पनि आफ्नो विशेष प्रस्तुति दिएकी थिइन्। उनका मधुर तथा लोकप्रिय गीतमा दर्शकले ताली र हुटिङमार्फत उत्साह व्यक्त गरेका थिए। त्यस्तै कलाकार विक्रमबाबू विश्वकर्माले दिएको प्रस्तुतीले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। उनीहरूको प्रस्तुतिले आजको कार्यक्रमलाई थप विविध र आकर्षक बनाएको थियो।

कार्यक्रमको सञ्चालन कलाकार दिपु मगरले गर्नुभएको थियो। उनले कार्यक्रमलाई अनुशासित, रोचक र दर्शकमैत्री शैलीमा अगाडि बढाउँदै कलाकार र दर्शकबीच राम्रो समन्वय कायम गर्नुभएको थियो। समय व्यवस्थापनदेखि दर्शकसँगको संवादसम्म उनले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजक पक्षले जनाएको छ।


सातौँ अर्घाखाँची महोत्सवले राष्ट्रिय तथा स्थानीय कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै जिल्लाको कला, संस्कृति र मनोरञ्जन क्षेत्रको प्रवर्द्धन गर्दै आएको छ। माघ ४ गते आइतबारको कार्यक्रममा रामजी खाड, मन्जु भट्टराई र विक्रमबाबू विश्वकर्माको प्रस्तुतीले महोत्सवलाई थप स्मरणीय बनाएको दर्शकको प्रतिक्रिया रहेको छ।


महोत्सवमा दैनिक रूपमा दर्शकको उल्लेखनीय उपस्थिति देखिनुका साथै स्थानीय व्यापार, पर्यटन र सांस्कृतिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको आयोजक समितिको भनाइ छ। सातौँ अर्घाखाँची महोत्सव आगामी दिनहरूमा अझै आकर्षक कार्यक्रमसहित निरन्तर चलिरहने जनाइएको छ।
#रामजीखाड #अर्घाखाँचीमहोत्सव #माघ४ #आइतबार #उल्लासमय #सातौँमहोत्सव #ArghakhanchiDotCom



