

काठमाडौँ । धान बाली उत्पादन ४.२० प्रतिशतले घटेको छ । कृषि मन्त्रालयले यस बर्ष धानको उत्पादन ५७ लाख ५ हजार १२६ मेट्रिक टन भएको जानकारी दिदै गत बर्षभन्दा ४.२० प्रतिशतले घटेको हो । आर्थिक बर्ष २०८१-८२ मा धानको उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलले धान बालीको तथ्याङ्क सातवटै प्रदेशका कृषि विषय क्षेत्राधिकार भएका प्रदेश मन्त्रालयबाट प्राप्त तथ्याङ्कलाई आधार लिएर बनाएको जानकारी दिएको छ ।

आर्थिक बर्ष २०८१-८२ मा धान बाली भित्राइएको कुल क्षेत्रफल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफल रहेकोमा चालु आर्थिक बर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयले उल्लेख गरेको छ । यसै गरि आर्थिक बर्ष २०८१-८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक बर्षमा ४.२० प्रतिशतले कमी भई ५७ लाख ५ हजार १२६ मेट्रिक टन उत्पादन भएको जानकारी मन्त्रालयले दिएको छ । यसै गरी उत्पादकत्व गत आर्थिक बर्षमा ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेकोमा आर्थिक बर्ष २०८२-८३ मा उत्पादकत्व १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिक टन प्रति हेक्टर हुन पुगेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक बर्ष २०८१-८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिव २५.१६ प्रतिशत रहको छ भने कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान करिव १२ प्रतिशत रहेको छ ।

धान बालीको क्षेत्रफलमा कमी आउनुमा मुख्यगरि पहाडी क्षेत्रमा देखिएको बसाईसराई, युवाहरुको विदेश प्रतिको आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि छन् भने तराई एवं शहरी क्षेत्रमा वृद्धि भैरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको छ ।
यसै गरि मधेश प्रदेशमा विशेष गरि धान लगाउने समयमा परेको खडेरीका कारण धान लगाएको क्षेत्रफलमा कमी आई धानको क्षेत्रफल घटेको हुँदा समग्रमा धान बालीको क्षेत्रफलमा कमी आएको हो । यस आर्थिक वर्षमा उन्नत बीउ बिजन र मलखादको पर्याप्त उपलब्धता हुँदा हुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको मन्त्रालयले जनाएको छ । त्यस्तै धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालु आर्थिक बर्षमा समग्र धान उत्पादनमा कमी आएको मन्त्रालयले उल्लेख गरेको छ ।
#धान_उत्पादन #कृषि #खाद्यान्न #नेपाल_कृषि #ArghakhanchiDotCom



