

काठमाडौँ । लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयकाअनुसार दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा आठ पत्रकारसहित १९ जना घाइते भएका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेअनुसार आक्रमणले केनारित लगायतका धेरै शहर र गाउँहरूलाई लक्षित गरेको थियो । जहाँ इजरायली सेनाले निकासीको चेतावनी दिएपछि सात भन्दा बढी भवनहरूमा भीषण बमबारी गरिएको थियो ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार आक्रमणको समाचार संकलन गर्ने क्रममा आठ पत्रकार घाइते भएका छन् । इजरायली सेनाले यी रिपोर्टहरूमा हालसम्म कुनै टिप्पणी गरेको छैन ।

स्वास्थ्य मन्त्रालयको आपतकालीन परिचालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै घाइतेमध्ये दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको, तीन जनालाई अस्पताल भर्ना गरिएको र १४ जनाको आकस्मिक कक्षमा उपचार गरिएको जनाएको छ । थप हवाई आक्रमणले जार्जुवा र कफोर शहरका भवनहरू ध्वस्त पारेको छ भने खारायब र अन्सार गाउँहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ ।
दक्षिण लेबनानको गाजीह सहरका प्रमुख हसन गद्दारले आक्रमणमा आवासीय भवन र सर्वसाधारणलाई निशाना बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । लेबनानी राष्ट्रपति जोसेफ आउनले इजरायललाई व्यवस्थित आक्रामकताको नीति अपनाएको आरोप लगाउँदै युद्धविराम र अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको निन्दा गरेका छन् । अमेरिका र फ्रान्सको मध्यस्थतामा हिजबुल्लाह र इजरायलबीच २७ नोभेम्बर २०२४ देखि युद्धविराम सम्झौता लागू भएपनि इजरायली सेनाले सुरक्षा खतराको कारण देखाउँदै आक्रमण जारी राखेको छ ।
#ArghakhanchiCom #Lebanon #IsraeliAirstrike #BreakingNews #GlobalNews #JournalistInjured #ConflictUpdate #Magh09 #WorldUpdate



