

-केशब पन्थी ,अर्घाखाँची डटकम।
सन्धिखर्क । चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सञ्चालन भइरहेको सातौँ अर्घाखाँची महोत्सवको चौधौँ दिन शनिबार सन्धिखर्क नगरपालिका–स्थित कुडुलेमा दर्शकको उल्लेखनीय उपस्थितिसँगै भव्य र उत्सवमय वातावरण सिर्जना भएको छ।

महोत्सवको चौधौँ दिनको मुख्य आकर्षणका रूपमा रहेका चर्चित गायक पुष्कल शर्माको दमदार सांगीतिक प्रस्तुतिले महोत्सवलाई ऐतिहासिक र अविस्मरणीय बनाएको हो।


शनिबार साँझ स्टेजमा पुष्कल शर्मा प्रवेश गर्नासाथ महोत्सव स्थल ताली, हुटिङ र उत्साहको गडगडाहटले गुञ्जायमान बनेको थियो। उनका लोकप्रिय लोकदोहोरी तथा आधुनिक गीतमा वृद्धबुवा–आमा, युवायुवतीदेखि बालबालिकासम्म एकैसाथ झुम्दै नाचिरहेका दृश्यले महोत्सवलाई साँच्चिकै महाउत्सवको स्वरूप दिएको थियो।

दर्शकले गीतसँगै ताली, हुटिङ र नृत्यमार्फत निरन्तर साथ दिँदा कुडुले पूरै संगीतमय बनेको थियो।

पुष्कल शर्माले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकसँग आत्मीय संवाद पनि गर्नुभएको थियो। सरल स्वभाव, सहज प्रस्तुति र ऊर्जाशील गायन शैलीका कारण दर्शक झनै आकर्षित बनेका थिए।

उनका एकपछि अर्को हिट गीतमा दर्शकको सहभागिता बढ्दै गएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। कतिपय दर्शकले मोबाइलमा भिडियो खिच्दै यो क्षणलाई स्मरणीय बनाएको देखिन्थ्यो।


महोत्सवको चौधौँ दिन संगीतसँगै हास्यको पनि उत्कृष्ट संयोजन देखिएको थियो। हास्य कलाकार ‘पुर्खे बा’ लगायत अन्य कलाकारहरूको प्रस्तुतीले दर्शकलाई पेट मिचिमिची हँसाउँदै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। हास्य र संगीतको सन्तुलित प्रस्तुतिले आजको कार्यक्रमलाई महोत्सवकै उत्कृष्ट दिनमध्ये एक बनाएको दर्शकको प्रतिक्रिया रहेको छ।

सातौँ अर्घाखाँची महोत्सव २०८२ अन्तर्गत सञ्चालन भइरहेको महोत्सव स्थलमा आज जिल्लाका विभिन्न पालिकाबाट आएका दर्शक, परिवार, युवायुवती तथा बालबालिकाको बाक्लो उपस्थितिले महोत्सवप्रतिको जनआकर्षण झन् बढेको देखिएको छ।

लामो समयपछि यति ठूलो संख्यामा दर्शक सहभागी भएको भन्दै धेरैले खुसी व्यक्त गरेका छन्।

महोत्सव अवलोकन गर्न आएका अर्घाखाँचीबासीले आयोजक संस्था चेम्बर अफ कमर्स अर्घाखाँचीले गरेको व्यवस्थापन, सुरक्षा, सरसफाइ तथा कार्यक्रम व्यवस्थापनप्रति सन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार महोत्सवले मनोरञ्जनसँगै स्थानीय व्यापार, पर्यटन प्रवर्द्धन तथा जिल्लाको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।


आयोजक संस्थाका अनुसार सातौँ अर्घाखाँची महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार व्यवसायको विकास, कृषि तथा घरेलु उद्योगको संरक्षण, कला–संस्कृतिको जगेर्ना र जनतालाई स्वस्थ तथा गुणस्तरीय मनोरञ्जन प्रदान गर्नु रहेको छ।

महोत्सव स्थलमा कृषि तथा घरेलु उत्पादनका स्टल, स्थानीय तथा राष्ट्रिय ब्रान्डका व्यापारिक कक्ष, विविध खानाका परिकार, बालबालिकाका खेल सामग्री तथा विभिन्न प्रदर्शनीहरूले दर्शकको ध्यान आकर्षित गरिरहेका छन्।


चेम्बर अफ कमर्स अर्घाखाँचीले सातौँ अर्घाखाँची महोत्सव आगामी दिनहरूमा पनि थप आकर्षक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, व्यापारिक गतिविधि र विविध मनोरञ्जनात्मक कार्यक्रमसहित निरन्तर सञ्चालन हुने जानकारी दिएको छ।
थप तस्बिर :






















#7thArghakhanchiMahotsav2082 | #ArghakhanchiMahotsav | #PushkalSharma | #KuduleSandhikharka | #ChamberOfCommerceArghakhanchi | #Arghakhanchi | #NepaliMusic | #LokDohori | #CulturalFestival | #PurkheBa | #LiveShow | #NepalFestival#arghakhanchicom
थप तस्बिर :



