अर्घाखाँचीको समृद्धिका लागि विष्णु मुस्कानको ‘भिजन’- शितगंगा र जुकेनाका युवाहरूको ऐतिहासिक संवाद

अर्घाखाँचीको समृद्धिका लागि विष्णु मुस्कानको ‘भिजन’ – शितगंगा र जुकेनाका युवाहरूको ऐतिहासिक संवाद

 

-अर्घाखाँची डटकम सम्बाददाता ।

नेपाली कांग्रेसका तर्फबाट अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु प्रसाद खनाल ‘मुस्कान’ ले जेन-जी सितगंगा: राइजिङ फर रिभोलुसन’ (Gen-Z Shitganga: Rising for Revolution) समूहद्वारा आयोजित एक विशेष अनलाइन संवादमार्फत आफ्नो चुनावी एजेन्डा र विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको छ।

देश र विदेशमा रहेका युवा पुस्ताको बाक्लो उपस्थिति रहेको यस कार्यक्रमको सहजीकरण अंकित बेलबासेले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन मोहन अधिकारी, रवि बेलबासे र अनिल पौडेलले गर्नुभएको थियो।

सितगंगालाई ‘विशेष क्षेत्र’ घोषणा र सुशासनको प्रत्याभूति

मुस्कानले नेपालकै सबैभन्दा ठूलो भूगोल भएको सितगंगा नगरपालिकाको चौतर्फी विकासका लागि यसलाई “विशेष क्षेत्र” (Special Zone) घोषणा गर्ने विषयलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउनुभएको छ। संवादका क्रममा उहाँले भन्नुभयो, “सितगंगालाई विशेष क्षेत्र घोषित गर्ने मेरो स्पष्ट योजना छ, जसले गर्दा यस क्षेत्रले राज्यबाट विशेष बजेट र विकासका प्याकेजहरू प्राप्त गर्न सकोस्।”

नागरिकता र राहदानीका लागि सदरमुकाम जानुपर्ने सास्ती अन्त्य गर्न सितगंगामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने उहाँको संकल्प छ। विकट क्षेत्रको समस्याबारे बोल्दै उहाँले थप्नुभयो, “गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्याएर बसाई सराई रोक्ने र आवश्यक परेको खण्डमा विकट क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्तिसहित स्थानान्तरण गर्ने नीति लिइनेछ।”

अधुरो अर्घा भगवती विमानस्थल र पर्यटन

लामो समयदेखि अलपत्र अवस्थामा रहेको अर्घा भगवती विमानस्थलको निर्माण सम्पन्न गर्नुलाई मुस्कानले आफ्नो पहिलो प्राथमिकतामा राख्नुभएको छ। उहाँले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “निर्वाचित भएको पहिलो वर्षभित्रै विमानस्थलको पिच कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउनेछु।” विमानस्थल सञ्चालनमा आएपछि सुपा देउराली, अर्घा भगवती र पाणिनी तपोभूमि जस्ता पर्यटकीय स्थलहरूमा बाह्य र आन्तरिक पर्यटक भित्र्याई जिल्लाको आर्थिक अवस्था मजबुत पार्न सकिने उहाँको विश्लेषण छ।

शिक्षा, स्वास्थ्य र कृषिमा नयाँ दृष्टिकोण

मुस्कानले शिक्षा र स्वास्थ्यलाई व्यापार नभई राज्यको पूर्ण जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभएको छ। स्नातक वा स्नातकोत्तर तहसम्मको शिक्षा निःशुल्क बनाउन र गम्भीर रोगहरूको उपचार राज्यले व्यहोर्ने गरी कानुनी लबिङ गर्ने उहाँको योजना छ। किसानहरूले भोगिरहेको समस्याबारे उहाँले भन्नुभयो, “बाँदर र बँदेलको आतंक नियन्त्रणका लागि संसद्मा ठोस कानुन र योजना लैजानेछु।” सितगंगाको अधुवा, पाणिनी र मालारानीको सुन्तला खेतीलाई प्रवर्द्धन गर्न स्थानीय स्तरमै लघु उद्योगहरू स्थापना गरी रोजगारी सिर्जना गर्ने उहाँको मार्गचित्र छ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र युवाको आवाज

‘जेन-जी’ पुस्ताले उठाएको सुशासन र पारदर्शिताको प्रश्नमा जवाफ दिँदै मुस्कानले भन्नुभयो, “भ्रष्टाचारमुक्त समाज निर्माण नै मेरो मुख्य संकल्प हो। म कर्मचारीतन्त्रलाई ‘मालिक’ नभई ‘सेवक’ को रूपमा रूपान्तरण गरी १० मिनेटमा नागरिकता पाउने सुशासनको प्रत्याभूति दिनेछु।” उहाँले नेपाली कांग्रेस आफूलाई रूपान्तरण गरेर नयाँ दृष्टिकोणका साथ जनताको बीचमा आएको दाबी गर्नुभयो।

निष्कर्ष: “कुरा कम, काम बढी”

आफू कुनै गुट वा भूगोलको नभई सिंगो अर्घाखाँचीको साझा नेता भएको बताउँदै मुस्कानले यो पटक आफूलाई “न्याय” गर्न मतदाताहरूसँग अनुरोध गर्नुभएको छ। उहाँले भन्नुभयो, “म निर्वाचित भएपछि काठमाडौँमा हराउने छैन, हरेक तीन महिनामा जनताको बीचमा आएर ‘सांसद–जनता संवाद’ मार्फत तपाईँहरूका सुझाव लिनेछु।” कार्यक्रमको अन्त्यमा आयोजक टोलीले मुस्कानको भिजनले अर्घाखाँचीको समृद्धिलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै उहाँलाई शुभकामना दिएका थिए।

Video link 👉 https://www.facebook.com/share/v/1MmG6UCzhM/

arghakhanchicom | arghakhanchidotcom | विष्णु_मुस्कान | अर्घाखाँची_समृद्धि | भिजन | शितगंगा | जुकेना | युवा_संवाद | LocalDevelopment | NepalPolitics | YouthEngagement

Nepal life insuranceimagesimages