एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि अर्घाखाँचीमा बहुपक्षीय अभिमुखीकरण कार्यक्रम सम्पन्न


-केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची – अर्घाखाँची जिल्लामा एचआईभी तथा एड्स सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, नेपाल प्रहरी, एचआईभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूहलाई लक्षित गरी व्यापक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

समाजमा अझै पनि एचआईभी संक्रमित व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको र यसका कारण उनीहरू सामाजिक, आर्थिक तथा मानसिक रूपमा प्रभावित हुँदै आएको सन्दर्भमा यस्ता खालका अभिमुखीकरण कार्यक्रम अत्यन्तै आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।


कार्यक्रमको सुरुवात स्वागत मन्तव्यमार्फत गरिएको थियो, जसलाई अनु अधिकारीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको समग्र सहजीकरण धर्मराज भट्टराईले गर्नुभएको थियो। सहजीकरणका क्रममा एचआईभी सम्बन्धी विद्यमान कानुनी व्यवस्था, मानव अधिकार, संक्रमित व्यक्तिको गोपनीयता तथा राज्यका दायित्वबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रम अधिकृत पार्वता केसिले ‘संदेश समूहको अवस्था’ विषयमा प्रस्तुतीकरण गर्दै अर्घाखाँची जिल्लामा एचआईभी संक्रमणको वर्तमान अवस्था, संक्रमणको जोखिम, उपचारको पहुँच, परामर्श सेवा तथा रोकथामका उपायबारे विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले जिल्लामा रहेका मुख्य जोखिम समूहहरू, उनीहरूले भोग्दै आएका समस्या तथा उपचारमा देखिएका चुनौतीहरूबारे पनि प्रकाश पार्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले एचआईभी संक्रमित व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउन सबै तहका जनप्रतिनिधि, सञ्चारकर्मी र सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले लाञ्छना र भेदभावका कारण कुनै पनि व्यक्ति उपचारबाट टाढा रहनु नहुने भन्दै स्थानीय तहहरूले समेत यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई, पाणिनी गाउँपालिका उपाध्यक्ष नम्रदा पौडेललगायतले आ–आफ्नो धारणा राख्दै एचआईभी सम्बन्धी सचेतना अभिवृद्धि र भेदभाव अन्त्यका लागि सहकार्य आवश्यक रहेको बताए।

त्यसैगरी कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख जगन्नाथ तिवारीले जिल्लामा उपलब्ध उपचार सेवा, औषधि वितरण तथा स्वास्थ्य संस्थाबाट दिइने सहयोगबारे जानकारी गराउनुभयो। सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले स्थानीय सरकारको तर्फबाट एचआईभी संक्रमित व्यक्तिहरूको संरक्षण, उपचार र पुनर्स्थापनाका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष गणेश खनालले पत्रकारहरूको भूमिका सही सूचना प्रवाह, संवेदनशील रिपोर्टिङ र समाजमा सकारात्मक सन्देश फैलाउन केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले एचआईभी सम्बन्धी समाचार सम्प्रेषण गर्दा संक्रमित व्यक्तिको पहिचान र गोपनीयतालाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा एचआईभी संक्रमितको उपचार तथा सहयोगमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले एचआईभी सम्बन्धी भ्रम तोड्न र समाजमा समान व्यवहारको संस्कृति विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।


कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्षीय मन्तव्यका क्रममा प्रमुख पोखरेलले एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव अन्त्य गर्न दीर्घकालीन योजना, निरन्तर सचेतना कार्यक्रम तथा बहुपक्षीय समन्वय आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका तथ्यांक अधिकृत वसन्त पोखरेलले गर्नुभएको थियो। समापनका क्रममा सहभागीहरूले कार्यक्रम अत्यन्तै जानकारीमूलक र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए।

यस किसिमका अभिमुखीकरण कार्यक्रमले एचआईभी संक्रमित व्यक्तिहरूलाई सम्मानपूर्वक बाँच्न सहयोग पुर्याउने र समाजमा व्याप्त भेदभाव न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
थप तस्बिर :






#arghakhanchicom #arghakhanchidotcom #HIVसचेतना #भेदभावन्यूनीकरण #समावेशीसमाज #स्वास्थ्यशिक्षा #युवा_सक्रिय



