

-केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउनका लागि निर्वाचनमा पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी अन्तरक्रिया तथा प्रस्तुतिकरण कार्यक्रम अर्घाखाँचीमा सम्पन्न भएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि गठित मुख्य निर्वाचन अधिकृतको कार्यालय, अर्घाखाँची को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सरोकारवाला पक्षको भूमिका तथा जिम्मेवारी, कानुनी प्रावधान, उल्लंघन भएमा लाग्ने कारबाही लगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो।


कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी तथा जिल्ला निर्वाचन अधिकृत बुद्धकृष्ण सुवेदी को उपस्थिती तथा सक्रिय सहभागिता रहेको थियो। जिल्ला निर्वाचन अधिकृत बुद्धकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रम सहभागीमैत्री र अन्तरक्रियात्मक ढंगले अगाडि बढाइएको थियो।

अन्तरक्रिया कार्यक्रममा अर्घाखाँची जिल्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरू, जिल्लाका निर्वाचित जनप्रतिनिधिहरू, नगर तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू तथा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डे ले निर्वाचन आचारसंहिता सबैका लागि समान रूपमा लागू हुने स्पष्ट पार्दै, निर्वाचन प्रक्रिया सफल बनाउन राजनीतिक दल, उम्मेदवार, कर्मचारी, पत्रकार तथा आम नागरिक सबैले आ–आफ्नो भूमिकालाई जिम्मेवार ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले निर्वाचनलाई मर्यादित बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको उल्लेख गर्दै, कसैले पनि निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह गर्नुभयो।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी ले निर्वाचन सुरक्षाका विषयमा प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै, कानूनको दायराभित्र रहेर निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो। उहाँले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा निर्वाचन आचारसंहिता अन्तर्गत उम्मेदवारले गर्न नहुने कार्य, खर्च सीमा, प्रचार–प्रसारका मापदण्ड, सरकारी स्रोतसाधनको दुरुपयोग गर्न नपाइने व्यवस्था, सामाजिक सञ्जालको मर्यादित प्रयोग, मतदातालाई प्रलोभनमा पार्न नहुने प्रावधान लगायत विषयमा प्रस्तुतीकरण गरिएको थियो। साथै आचारसंहिता उल्लंघन भएमा हुने कानुनी कारबाहीका बारेमा पनि सहभागीलाई जानकारी गराइएको थियो।

सहभागीहरूले कार्यक्रममा उठाएका जिज्ञासा तथा सुझावहरूमाथि निर्वाचन अधिकृतहरूद्वारा स्पष्टिकरण दिइएको थियो। अन्तरक्रियाका क्रममा सहभागीहरूले आचारसंहिता पालना गराउन अझ प्रभावकारी अनुगमन आवश्यक रहेको, सबै दल र उम्मेदवारलाई समान व्यवहार गरिनुपर्ने तथा सूचना सम्प्रेषणलाई अझ स्पष्ट र समयमै गरिनुपर्ने सुझाव दिएका थिए।


कार्यक्रमको समापन गर्दै मुख्य निर्वाचन अधिकृत पाण्डेले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै, सवै सरोकारवालाले सक्रिय, जिम्मेवार र निष्पक्ष भूमिका निर्वाह गरेमा मात्र निर्वाचन सफल हुने बताउनुभयो। उहाँले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि नहोस् भन्ने उद्देश्यले यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो।


यस प्रकारको अन्तरक्रिया कार्यक्रमले निर्वाचन आचारसंहिता बारे सरोकारवालामा स्पष्ट बुझाइ बढाउने, जिम्मेवारीबोध गराउने तथा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई सफल बनाउन सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।






#arghakhanchicom #arghakhanchidotcom #आचारसंहिता #निर्वाचन #अर्घाखाँची



