

छत्रदेव – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमाले गाउँ कमिटीको तेस्रो पूर्ण विस्तारित बैठक भव्य रूपमा सम्पन्न भएको छ। बैठक नेकपा एमाले केन्द्रीय सदस्य सरिता भुसालको प्रमुख आतिथ्यता तथा विशेष अतिथि नेकपा एमाले अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालको उपस्थितिमा सम्पन्न भएको हो।


आगामी निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित उक्त बैठकमा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, पार्टीको कार्ययोजना कार्यान्वयन तथा मतदाता केन्द्रित अभियान सञ्चालनका विषयमा व्यापक छलफल गरिएको थियो।

बैठकले पार्टी संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै जनताको घरदैलोमा पुग्ने रणनीति तय गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरिता भुसालले नेकपा एमाले जिल्लाबासीको शीर झुक्न नदिने गरी जिम्मेवार, अनुशासित र परिणाममुखी काममा निरन्तर लागिरहेको बताउनुभयो। उहाँले जनताको भरोसा जित्न पार्टीले विकास, सेवा र सुशासनलाई केन्द्रमा राखेर अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।

विशेष अतिथि तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले राजनीतिक दलले जनताको विश्वास जित्नका लागि सेवा, विकास र सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो। उहाँले पालिका कमिटीले स्पष्ट र व्यवहारिक कार्ययोजना बनाएर जनताको घरदैलोमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै जनताको आवश्यकता र चाहनाअनुसार कार्यक्रम तथा विकास निर्माणका काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।


बैठकमा गाउँ कमिटी अध्यक्ष रामजी पाण्डेले आगामी निर्वाचनलाई केन्द्रमा राखेर तयार गरिएको कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले संगठनलाई वडा तहसम्म मजबुत बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने र मतदाता केन्द्रित अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा गाउँ कमिटी उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव उपसचिव टिन प्रधानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। बैठकमा गाउँ कमिटी अन्तर्गतका ८ वटै वडा कमिटीका प्रतिनिधिहरूले आ–आफ्नो वडाको संगठनात्मक अवस्था, जनताको अपेक्षा, स्थानीय समस्या तथा समाधानका उपायसम्बन्धी प्रतिवेदन र सुझाव प्रस्तुत गरेका थिए।



बैठकले पार्टी संगठनलाई थप सशक्त बनाउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने तथा आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। बैठकबाट पारित निर्णय तथा भावी कार्ययोजना छिट्टै कार्यान्वयनमा लगिने गाउँ कमिटी सचिव प्रकाश पौडेलले जानकारी दिनुभएको छ।

नेकपा एमाले छत्रदेव गाउँ कमिटीको उक्त बैठकले आगामी निर्वाचनका लागि संगठनलाई थप सक्रिय र एकताबद्ध बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #छत्रदेव #नेकपाएमाले #गाउँकमिटी #बैठक



