

दक्षिण कोरियाको अत्याधुनिक प्रविधि र व्यवस्थित विकास देख्दा मनमा सधैँ एउटै प्रश्न खेलिरहन्छ— “मेरो शितगंगा, मेरो जुकेना र मेरो अर्घाखाँचीमा यस्तो परिवर्तन कहिले होला?” “नेताज्यू, दक्षिण कोरियामा एउटा सानो गाउँमा पनि २४ घण्टा पानी, बिजुली र उच्च गतिको इन्टरनेट छ। हाम्रो जुकेनामा ‘एक घर, एक धारा’ त भनियो, तर मुहान सुकेर धारामा हावा मात्र आउँछ। तपाईंसँग यसको ‘इन्जिनियरिङ सोलुसन’ के छ?”

अर्घाखाँचीको शितगंगा नगरपालिका, भूगोलले देशकै ठूलो तर अवसर र न्यायमा सधैँ किन पुछारमा? हामी जुकेनाका युवाहरूले अब यो प्रश्नको उत्तर खोज्ने मात्र होइन, उत्तर नदिनेलाई बाटो छेक्ने निर्णय गरेका छौँ। हामीले बनाएको समूह ‘Gen-Z Shitganga: Rising for Revolution’ अब अर्घाखाँचीको राजनीतिमा एउटा ‘ब्रेक थ्रु’ हुनेछ। हामी चुपचाप सहने पुस्ता होइनौँ, हामी ‘सिस्टम’ मा प्रश्न गर्ने पुस्ता हौँ। विकासको परिभाषा: पाइप बाँड्नु कि बजार व्यवस्थापन?

हाम्रो गाउँमा विकास भनेको चुनावको अघिल्लो वर्ष बाटो सोहोर्ने र दुई-चार जनालाई खानेपानीको पाइप बाँड्नु मात्र भएको छ। के यो नै विकास हो? धेरै युवाले आश गरेर पशु फार्म र कृषि फार्म खोले, तर केही समयमै ती बन्द भए। किन? किनभने उत्पादन त भयो तर बजारको ग्यारेन्टी भएन। बिचौलियाले नाफा खाए, किसान ऋणमा डुबे। यसको जवाफदेहिता कसले लिने? नेताको काम भोट माग्नु मात्र हो कि किसानको पसिनाको मूल्य सुरक्षित गर्नु पनि हो?
जुकेना सुधार्न विदेशमा रहेका अर्घाखाँचीका युवाहरूले आफ्नो गास काटेर कम्प्युटरहरू पठाए। आज ती कम्प्युटरको अवस्था के छ? धूलो लागेर थन्किएका छन्, सामानहरू ‘खाइला-बाइला’ पारिएको छ। विद्यालय व्यवस्थापन समितिमा कुन दलको मान्छे हाल्ने भन्ने खिचातानीमा शिक्षाको घाँटी निमोठिएको छ।
नगरपालिकाले दिने भनिएका पुस्तकहरू समयमा वितरण हुँदैनन्। यो स्थानीय सरकारको जिम्मेवारी होइन? अनि यसलाई नियमन गर्न प्रदेश र केन्द्रका प्रतिनिधिहरूले के हेरेर बसिरहेका छन्?

हामीले त्यो दिन पनि बिर्सेका छैनौँ जब कोरोना महामारीले गाउँ आक्रान्त थियो। मान्छे मर्नु र बाँच्नुको दोसाँधमा हुँदा एम्बुलेन्समा व्यापार भयो। बिरामी बोक्न छाडेर पैसाको बार्गेनिङ गरियो। मान्छेको ज्यानभन्दा पैसा ठूलो ठान्ने त्यो कस्तो राजनीति थियो? त्यसको नियमन कसले गर्यो? कोही जवाफदेही भयो?
हामीले माननीय पुष्पा भुसालको पालादेखि नै राजनीतिलाई नजिकबाट नियालिरहेका छौँ। उहाँ माननीय भएपछि उहाँको अनुहार देख्न र सम्पर्क गर्न त परको कुरा, गाउँको समस्या सुनाउने ठाउँसम्म पाइएन। शितगंगालाई केवल एउटा ‘भोट बैंक’ सम्झिने यो प्रवृत्ति अब स्वीकार्य छैन।
नेपालमा रोजगारी भनेको कि त लोकसेवामा मरिहत्ते गर्नु, कि त विदेशिनु मात्र भएको छ। कोरिया जानका लागि हजारौँ युवाले EPS परीक्षा पास गर्छन्, तर वर्षौँसम्म उड्न पाउँदैनन्। यता घरमा ऋण बढिरहेको छ, उता उमेर ढल्किरहेको छ। यो अनिश्चितताको बीचमा राजनीति गर्नेहरूले कहिल्यै सोचेका छन् एकजना युवाको मनमा कति फ्रस्ट्रेसन छ?


आगामी चुनावमा उठ्ने उम्मेदवारहरूलाई हाम्रो स्पष्ट सन्देश छ- कृपया अलिकति अध्ययन गरेर र हाम्रो घर-दैलोको वास्तविक दुःख बुझेर मात्र आउनुहोला। हामी अब तपाईंका चिल्ला भाषणमा अल्मलिने छैनौँ।
म दक्षिण कोरियामा बसेर केवल डिग्री मात्र होइन, एउटा ‘सिस्टम’ सिकिरहेको छु। म मेरो प्राविधिक ज्ञान (Chemical Engineering) मेरो गाउँको फोहोर व्यवस्थापन, पानी शुद्धीकरण र साना कृषि प्रशोधन केन्द्रहरू स्थापना गर्न लगाउन चाहन्छु। तर त्यसका लागि मलाई एउटा यस्तो नेतृत्व चाहिन्छ, जसले मेरो सीपलाई चिन्न सकोस्।
हामी जुकेनाका युवाहरू अब कसैको ‘भोट बैंक’ मात्र हुनेछैनौँ। हामी ‘चेन्ज मेकर’ हौँ। जो उम्मेदवारले हाम्रा यी प्रश्नहरूको इमानदार जवाफ दिन्छ र हामीसँगै बसेर काम गर्ने प्रतिबद्धता जनाउँछ, हाम्रो समर्थन उसैलाई हुनेछ।
चुनाव पछि पनि हाम्रो सम्वाद टुट्ने छैन। हामी एउटा ‘Youth Advisory Committee’ बनाएर आफ्नो क्षेत्रको विकासमा चौबीसै घण्टा ‘वाचडग’ बनेर बस्नेछौँ।
म दक्षिण कोरियामा केमिकल इन्जिनियरिङ पढ्दै गर्दा यहाँको सिस्टम देख्छु र मेरो गाउँको अवस्था सम्झिँदा मन रुन्छ। ‘Gen-Z Shitganga: Rising for Revolution’ ले अब यो बेथितिको विरुद्ध आवाज उठाइरहनेछ। हामी सकारात्मक प्रभाव (Positive Impact) चाहन्छौँ र त्यो ल्याउने नेतृत्वलाई मात्र हाम्रो साथ रहनेछ।
– अंकित बेलबासे #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #अर्घाखाँची #शितगंगा #GenZ #युवाविद्रोह #राजनीति



