

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन अनुरोध गरेको छ ।
बोर्डले अपिल जारी गर्दै सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले अधिकतम प्रयास गरिरहेको अवस्थामा समस्त सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न, बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक/स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन अनुरोध गरेको हो ।


बोर्डले सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।
बोर्डले भनेको छ:
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक स्वास्थ्य सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । सम्पूर्ण नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा स्वास्थ्य सेवा उपयोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तितर्फ नेपाललाई अग्रसर बनाउँदै दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य लिएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा अन्य नीतिगत व्यवस्थाहरूले यस कार्यक्रमलाई सामाजिक स्वास्थ्य सुरक्षा प्रणालीको मेरुदण्डका रूपमा परिकल्पना गरेको छ । सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीका बाबजुद पनि कार्यक्रम मार्फत दैनिक करिब ५० हजार नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन्, जसका कारण दैनिक औसत ८ करोड रुपैयाँ बराबरको आम नागरिकको गोजीबाट हुने खर्च जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको छ।

सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको यस स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले अधिकतम प्रयास गरिरहेको अवस्थामा “स्वास्थ्य बीमाको सही सदुपयोग गरौं” भन्ने सन्देश सहित समस्त सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुहुन, बीमा सेवाको दुरुपयोग नगर्नुहुन र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक/स्वास्थ्यकर्मीहरुलाई दबाब नदिनुहुनु अनुरोध गर्दछौ । साथै सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अनुरोध गर्दछौं ।
हाल स्वास्थ्य बीमा सेवा लिनु पर्दा असहजता देखिएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन बोर्डले निरन्तर पहल तथा छलफल गरिरहेको व्यहोरा जानकारी गर्दछौं । स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त थप व्यवस्थित, प्रभावकारी एवम् नागरिक मैत्री बनाउन बोर्ड प्रतिबद्ध छ ।
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #स्वास्थ्यबीमा #दुरुपयोग #अपिल #स्वास्थ्य



