

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्ध टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गरेको छ ।

मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको वा नभएको परीक्षण गर्न विज्ञ समुह गठन गर्ने आदेश दिएको हो ।
विशेष अदालतले परीक्षणका लागि गठन हुने विज्ञ समूहमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ इन्जिनियर, त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक विषय विज्ञ प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विषय विज्ञ हुने आदेश दिएको छ ।

अधिकारिहरूले बताएअनुसार यो समूहले प्राविधिक परीक्षण पुरा गरी अदालतलाई प्रतिवेदन पेश गरेपछि विशेष अदालतले टेरामक्स प्रकरणमा निर्णय दिने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री एव् कांग्रेसका नेता बस्नेतसहित १९ जनाविरुद्ध गत जेठ २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । गत असार १५ गते थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छोड्न आदेश दिएपछि बस्नेत हाल थुनामुक्त रहेका छन् ।
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #टेरामक्स #भ्रष्टाचार #विशेषअदालत #समाचार



