आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

Nepal life insurance

१-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका छन् । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले लामिछाने माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएकोले शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेको जानकारी दिएका हुन् । उनले भनेका छन्- ‘माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ । त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ ।’ उनले चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उनी पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराएका छन् । साथै, उनले अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआउन स्वकीय सचिव आचार्यले आग्रह गरेका छन् ।

२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल र विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ । मंगलबार लाइसेन्सको ट्रायलमा रकम असुलेको आरोपमा यातायात कार्यालयमा छापा मार्दै अख्तियारले कार्यालय प्रमुखसहित १७ कर्मचारी, तीन प्रहरी र ड्राइभिङ सेन्टरका ७ जनाको गरी कुल ३९ मोबाइल कब्जामा लिएको हो । अख्तियारले २५ थान मोबाइल, प्रहरीका तीन थान मोबाइल र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका ७ कर्मचारीका ९ थान मोबाइल नियनत्रणमा लिएको छ । लाइसेन्सको ट्रायलमा रकम असुलेको उजुरी परेपछि मंगलबार अख्तियारले छापा मारेको थियो ।

३-   इरानको मुद्रा, इरानी रियाल, तेहरानको विनिमय बजारमा अझ घटेर अहिलेसम्मकै न्यून स्तरमा पुगेको छ । मंगलबार एक अमेरिकी डलरको तुलनामा इरानी रियलको मूल्य लगभग १५ लाख रियाल पुगेको छ । यो गिरावट यस्तो समयमा आएको हो जब अमेरिकी विमान वाहक मध्य पूर्वमा आइपुगेको छ । युएसएस अब्राहम लिंकनको आगमनले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासन विरुद्ध सैन्य कारबाहीको धम्कीलाई पछ्याउन सक्ने डर बढाएको छ । यो धम्की जन विरोध प्रदर्शनको दमनको प्रतिक्रियामा दिइएको थियो । अमेरिकामा आधारित इरानी मानव अधिकार समूहले यी प्रदर्शनहरूमा लगभग ६ हजार प्रदर्शनकारीहरू मारिएको दाबी गरेको छ ।

४- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्ध टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गरेको छ । मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको वा नभएको परीक्षण गर्न विज्ञ समुह गठन गर्ने आदेश दिएको हो । विशेष अदालतले परीक्षणका लागि गठन हुने विज्ञ समूहमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ इन्जिनियर, त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक विषय विज्ञ प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विषय विज्ञ हुने आदेश दिएको छ । अधिकारिहरूले बताएअनुसार यो समूहले प्राविधिक परीक्षण पुरा गरी अदालतलाई प्रतिवेदन पेश गरेपछि विशेष अदालतले टेरामक्स प्रकरणमा निर्णय दिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री एव् कांग्रेसका नेता बस्नेतसहित १९ जनाविरुद्ध गत जेठ २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । गत असार १५ गते  थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छोड्न आदेश दिएपछि बस्नेत हाल थुनामुक्त रहेका छन् ।

५- सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताविरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको  छ । मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले पूर्ण इजलासका लागि पेस गर्ने आदेश दिएको हो । रिटमा सबै पक्षको लिखित जवाफ पेश भएको भन्दै अन्तिम फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । पुस ४ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश दिएको थियो । पुस ११ गते न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले दुई वटा रिटलाई एकसाथ राखेर पेस गर्न भनिएको थियो । त्यसपछि पटकपटक हेर्न नभ्याइनेमा पर्दै आएको उक्त रिट मंगलबार सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेन-जी प्रतिनिधिबीच भएको सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा पुस ३ मा रिट दायर भएको थियो । अधिवक्ताहरू सिलवालसहित सुदिप भण्डारी, रोहित ओझा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रविण पौडेल र स्मृति अधिकारीलगायतले उक्त सम्झौता संविधानविपरीत भएको भन्दै रिट दायर गरेका थिए । रिटमा उक्त १० बुँदे सम्झौता तथा त्यसका आधारमा राजपत्रमा प्रकाशित सूचनालाई असंवैधानिक ठहर गरी बदर गर्न उत्प्रेषणको आदेश माग गरिएको छ ।

६-युवराज पौडेल सफल पक्राउ परेका छन् । महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका छन् । महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

७- राष्ट्रिय मानवधिकार आयोगले आगामी फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभाको निर्वाचनको क्रममा निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने  घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचन नजिकिँदै गर्दा विगत केही दिनयता विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुबाट एकअर्काप्रति आक्षेप लगाउने, घृणाजन्य अभिव्यक्तिहरु दिने तथा एक अर्काप्रति गरिएको अमर्यादित आरोपप्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने  घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेका हुन् । आयोगले भनेको छ- ‘यस प्रकारका घृणाजन्य अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिने र निर्वाचनको समयमा शान्तिसुरक्षामा समेत असर पर्ने देखिन्छ । नेपालको संविधान र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले सधैँ ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।’ आयोगले कसैले पनि नेपालको संविधान, कानून र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत घृणाजन्य अभिव्यक्ति नदिन, सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट एवम् मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषाको प्रयोग गर्न, घृणायुक्त अभिव्यक्तिको प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोग राजनीतिक दलका नेता, उम्मेदवार एवम् सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, आयोगले यसप्रकारका घृणाजन्य अभिव्यक्तिले समाजमा घृणा फैलाउनुका साथै शान्तिसुरक्षामा समेत चुनौती सिर्जना गर्नसक्ने हुँदा शान्तिसुरक्षालाई थप मजबुत बनाउन आयोग सरकारलाई समेत निर्देशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

८- राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । श्रेष्ठलाई मंगलबार साम्पाङले पार्टी सदस्यता दिएर प्रवेश गराएका हुन् । रास्वपाको समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठको विवादित अडियो बाहिर आएपछि पार्टीबाट निष्कासनमा परेका थिए ।

९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको धनगढीमा भव्य स्वागत भएको छ । मंगलबार बर्दियाबाट धनगढी आएका बालेनलाई स्वागत गर्न हजारौं समर्थकहरू भेला भएका थिए । जसका कारण उनी पार्टीको सम्पर्क कार्यालयभित्र प्रवेश गर्न सक्न सकेनन् । समर्थकको नाराबाजीका बीच उनी कार्यालय बाहिरै रोकिएर हात हल्लाउँदै अभिवादन गरेपछि भीड व्यवस्थापन सम्भव नदेखेपछि बालेन सिधै कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् । कार्यतालिकाअनुसार उनी कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुगेर त्यहाँ झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् ।

१०- नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६. ५१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सप्तकोशी विकास बैंकको शेयर मुल्य सर्बाधिक ८.५६ प्रतिशतले बढेको छ भने दारमखोला हाइड्रोको शेयर मुल्य ८.४१ प्रतिशतले बढेको छ । ओम मेघाश्रीको शेयर मुल्य सबैभन्दा बढी ६.९३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढ़ी विद्युतको ५७ करोड ८५ लाख कारोबार भएको छ भने एसवाई प्यानलको ५७ करोड ६८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै अन्खु खोला हाइड्रोको ५१ करोडको कारोबार भएको छ ।

११- भारत र युरोपेली संघ (इयू) बीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्रम मोदीले भारत र इयूबीच व्यापार सम्झौता भएको घोषणा गरेका हुन् । उनले भारतले आफ्नो इतिहासको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता गरेको बताएका छन् । उनले भारतले युरोपेली संघका २७ देशहरूसँग यो स्वतन्त्र व्यापार सम्झौता गरेको बताए । सो अवसरमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन पनि यस अवसरमा उपस्थित थिए । प्रधानमन्त्री मोदीले भने- ‘यो विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको समन्वयको एक चम्किलो उदाहरण बनेको छ । यो सम्झौताले विश्वव्यापी जीडीपीको लगभग २५ प्रतिशत र विश्वव्यापी व्यापारको लगभग एक तिहाइ प्रतिनिधित्व गर्दछ । यो सम्झौताले व्यापार साथै लोकतन्त्र र कानूनको शासनप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई बलियो बनाउँछ ।’ प्रधानमन्त्री मोदीले यसले व्यापार र विश्वव्यापी आपूर्ति श्रृंखला दुवैलाई बलियो बनाउने समेत दाबि गरेका छन् । उनले यस सम्झौताबाट कपडा, रत्न तथा आभूषण, छाला र जुत्ता जस्ता क्षेत्रहरूले यस सम्झौताबाट लाभ उठाउने बताए । यो स्वतन्त्र व्यापार सम्झौताले विश्वका प्रत्येक व्यवसाय र लगानीकर्ताको भारतमा विश्वासलाई अझ बलियो बनाउने दाबि भारत सरकारको रहेको छ । युरोपेली परिषदका अध्यक्ष कोस्टाले भने- ‘विश्वव्यापी विश्व व्यवस्था परिवर्तन हुँदैछ । यस्तो अवस्थामा, भारत र युरोप बीचको यो साझेदारी ऐतिहासिक छ । भारत हाम्रो विश्वसनीय साझेदारको रूपमा देखा परेको छ। भारत द्रुत गतिमा बढ्दो अर्थतन्त्र हो, र यो सम्झौताले दुई अर्ब मानिसहरूलाई फाइदा पुर्‍याउनेछ। हामी विश्व शान्तिको लागि तपाईंमा भर पर्न सक्छौं ।’ यसैबीच, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भारत र युरोपले सँगै इतिहास रचेको बताउदै यसलाई ‘मदर अफ अल डिल्स’ भनेकी छन् ।  सोमबार भारतको गणतन्त्र दिवस समारोहमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन प्रमुख अतिथि थिए । प्रमुख अतिथिहरूको छनोटले विश्वका अन्य भागहरूसँगको रणनीतिक र व्यापारिक सम्बन्धलाई गहिरो बनाउन भारतको कूटनीतिक दृष्टिकोणलाई पनि संकेत गर्छ । अर्कोतर्फ भारत र युरोप दुवैले हाल व्यापारलाई लिएर संयुक्त राज्य अमेरिकासँग तनावको सामना गरिरहेका बेला भएको यो सम्झौतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस सम्झौता पछि युरोपेली आयोगले भारतले ईयूलाई कर छुट प्रदान गर्नेछ जुन अन्य कुनै व्यापारिक साझेदारले प्राप्त गरेको छैन । उदाहरणका लागि, कारहरूमा लाग्ने भन्सार कर क्रमशः ११० प्रतिशतबाट १० प्रतिशतमा घटाइनेछ, जबकि कारका पार्टपुर्जाहरूमा लाग्ने भन्सार कर पाँचदेखि दश वर्षमा पूर्ण रूपमा हटाइनेछ । त्यस्तै मेसिनरीमा ४४ प्रतिशतसम्म, रसायनमा २२ प्रतिशतसम्म र औषधिमा ११ प्रतिशतसम्मको भन्सार पनि धेरै हदसम्म हटाइनेछ । यसबाहेक, सम्झौताले साना युरोपेली व्यवसायहरूलाई नयाँ निर्यात अवसरहरूको पूर्ण फाइदा लिन मद्दत गर्नेछ । यो सम्झौताले सामान्यीकृत प्राथमिकता प्रणाली (जीएसपी) लाई पनि पुनर्स्थापित गर्नेछ, जस अन्तर्गत युरोपेली बजारमा प्रवेश गर्ने विकासशील देशहरूबाट धेरै उत्पादनहरूलाई आयात शुल्कबाट छुट दिइन्छ ।

१२- चितवनको भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यले सेवामा प्रवेश गरेको समय २०४८ सालदेखि २०८० सम्म कुल १० करोड २९ लाख ९९ हजार २२६ बराबरको सम्पत्ति आर्जन गरेको देखिएकोमा उनको वैध कमाई ३ करोड ५१ लाख ८ हजार २१० मात्र देखिएकाले ६ कार्ड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले सो बराबरको रकमको बिगो माग गर्दै आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

१३- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसहित चार उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बालेनसहित नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आचार संहिता उलंघन गरेको उजुरी परेपछि उनीहरुविरुद्ध स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ । उनीहरूलाई २४ घण्टा भित्र स्पष्टीकरण दिन आयोगले मंगलबार पत्र काटेको छ ।

१४- बंगलादेशको अन्तरिम सरकारले चटगाउँको मिरसराईमा प्रस्तावित भारतीय आर्थिक क्षेत्र परियोजना रद्द गर्ने घोषणा गरेको छ । यसको सट्टा रक्षा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरिएको छ । बंगलादेश आर्थिक क्षेत्र प्राधिकरण (बेजा) का कार्यकारी अध्यक्ष चौधरी आशिक महमूद बिन हारुनले यस्तो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलम पनि उपस्थित थिए । ढाकाको तेजगाउँस्थित मुख्य सल्लाहकारको कार्यालयमा बेजा गभर्निङ बोर्डको बैठकमा यो निर्णय गरिएको हो । बैठक अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसको अध्यक्षतामा भएको थियो । बेजाका कार्यकारी अध्यक्ष चौधरी आशिक महमूदले मिरसराईमा भारतको प्रस्तावित भारतीय आर्थिक क्षेत्रको लागि ठूलो क्षेत्रफल जग्गा छुट्याइएको बताए । त्यो परियोजना रद्द भएदेखि, नयाँ रक्षा औद्योगिक पार्कको लागि जग्गा प्रयोग गर्ने निर्णय गरिएको छ । हालैका विश्वव्यापी द्वन्द्वहरूलाई उद्धृत गर्दै चौधरी आशिक महमूदले कहिलेकाहीं आधुनिक लडाकु विमानको अभाव नभई गोला बारुद वा ट्याङ्कको एक्सल जस्ता आधारभूत उपकरणहरूको अभावले ठूला संकटहरू निम्त्याउने बताए । उनले यस्ता उपकरणहरू घरेलु रूपमा उत्पादन गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

१५- प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र  सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छन् । मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा आज ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले भनिन्- ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।’ प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् । उनले भनिन्- ‘प्राकृतिक विपद्को बेला खुला ठाउँ आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्ने वित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्ने गर्नुपर्छ ।’सो अवसरमा  प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्रीलगायत सहभागी थिए ।

१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ३ सयले बढेर तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर तोलाको ६८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ६७६५ रुपैयाँमा कारोबार भएको थियो ।

१७- आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सुरु भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार एक कार्यक्रमबिच छपाइ मेसिनको स्वीच अन गरेर मतपत्र छपाइ शुभारम्भ गरेका छन् । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ हुनेछ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने छ। समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सोमबार नै सम्पन्न भइसकेको छ । मतपत्र छपाइ कार्य निकै संवेनशील रहेको कुनै गल्ती गर्ने छुट नभएकाले आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गर्ने गरेको कार्यवाहक आयुक्त भण्डारीले बताए । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ। उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने छ। प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने छ ।

१८-  नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अघि दुई वार्म अप खेल खेल्ने भएको छ । आइसीसीले सार्बजनिक गरेको वार्मअप खेलका तालिका अनुसार नेपालले विश्वकप अघि युएई र क्यानडासँग खेल्ने भएको छ । जस अनुसार नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्ने छ भने यो खेल साँझ सबा ५ बजेदेखि शुरु हुने छ । त्यस्तै अर्को खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ । यो खेल दिउसो सवा १ बजेदेखि शुरु हुने छ । विश्वकपको तयारीका लागि श्रीलंका गएको नेपाली टिम भारत पुगेको छ भने अब वार्मअप खेल अघि नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने तालिका रहेको छ । नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् । आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

images

१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आउने सामानहरूमा २५ प्रतिशत कर वृद्धिको घोषणा गरेका छन् । उनले दक्षिण कोरियाले गत वर्षको व्यापार सम्झौता उचित रूपमा कार्यान्वयन नगरेको आरोप लगाउदै कर लगाएका हुन् । ट्रम्पले कार, काठका सामान, औषधि र अन्य उत्पादनहरूमा कर १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत गर्ने बताए र उनले यसलाई पारस्परिक कर भनेका छन् । यदि कुनै देशले अमेरिकी सामानहरूमा उच्च आयात शुल्क लगाउछ भने, अमेरिकाले पनि त्यो देशबाट आउने सामानहरूमा उच्च आयात शुल्क वा कर लगाउनेछ । यसलाई पारस्परिक कर भनिन्छ । ट्रम्पले दक्षिण कोरियाको संसदले सम्झौता अन्तर्गत आफ्नो कर द्रुत रूपमा घटाए पनि सम्झौता अनुमोदन गर्न ढिलाइ गरेको आरोप लगाएका छन् । यसैबीच, दक्षिण कोरियाले कर बढाउने निर्णयको बारेमा आधिकारिक रूपमा जानकारी नदिएको बताएको छ । दक्षिण कोरियाले यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्न पनि माग गरेको छ ।

२०- युरोपेली संघका सदस्य राष्ट्रहरूले २०२७ सम्ममा रूसबाट ग्यास आयात पूर्ण रूपमा प्रतिबन्ध लगाउने ऐतिहासिक कानूनलाई अन्तिम स्वीकृति दिएका छन् । ब्रसेल्समा भएको मन्त्रीस्तरीय बैठकमा यो प्रस्ताव अनुमोदन गरिएको थियो, यद्यपि हंगेरी र स्लोभाकियाले यसको विपक्षमा मतदान गरे भने बुल्गेरिया अनुपस्थित रहेको थियो । हंगेरीले युरोपेली न्याय अदालतमा यो निर्णयलाई चुनौती दिने कुरा स्पष्ट पारेको छ । यद्यपि, अन्य देशहरूको विरोधको बाबजुद पनि यसलाई लागू गर्न अनुमति दिँदै, कानूनलाई प्रबलित बहुमत मतदान प्रणाली अन्तर्गत पारित गरिएको थियो । यस सम्झौता अन्तर्गत रूसी एलएनजी (तरल प्राकृतिक ग्यास) को आयात २०२६ को अन्त्यसम्ममा बन्द हुनेछ । पाइपलाइनबाट आउने रूसी ग्यास सेप्टेम्बर ३०, २०२७ सम्ममा पूर्ण रूपमा प्रतिबन्धित हुनेछ । यद्यपि, यदि कुनै देशले जाडो अघि गैर-रूसी ग्यासले आफ्नो भण्डारण भर्न कठिनाइको सामना गर्छ भने, समय सीमा नोभेम्बर १, २०२७ सम्म विस्तार गर्न सकिन्छ । २०२२ अघि, रूसले ईयूको कुल ग्यास आपूर्तिको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । यद्यपि, पछिल्लो इयु तथ्याङ्क अनुसार, यो २०२५ सम्ममा लगभग १३ प्रतिशतमा झरेको छ। यसको बावजुद, केही देशहरूले अझै पनि रूसबाट तेल, एलएनजी र पाइपलाइन ग्यास खरिद गरिरहेका छन्, जसले युक्रेनलाई समर्थन गर्ने प्रयासलाई कमजोर बनाउँछ र रूसको युद्ध अर्थतन्त्रलाई दबाब दिन्छ । गत महिना, इयूका पाँच ठूला आयातकर्ताहरूले रूसी ऊर्जामा १.४ बिलियन यूरो खर्च गरे, मुख्यतया ग्यास र एलएनजीमा । यो जानकारी गैर-नाफामुखी ऊर्जा र स्वच्छ वायु अनुसन्धान केन्द्रको तथ्याङ्कबाट आएको हो । यसमा हंगेरी सबैभन्दा ठूलो खरिदकर्ता थियो, त्यसपछि फ्रान्स र बेल्जियम रहेका छन् । युरोपेली आयोगले आगामी महिनाहरूमा रूसी पाइपलाइन तेललाई चरणबद्ध रूपमा हटाउन र रूसी आणविक इन्धनमा निर्भरताबाट देशहरूलाई मुक्त गर्न कानून प्रस्ताव गर्ने योजना पनि बनाएको छ ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #आजका_समाचार #Top20 #डेलीबुलेटिन #समाचारअपडेट

 

Nepal life insuranceimagesimages