चर्चित निर्वाचन क्षेत्र: रुकुम पूर्वको चुनावी गणित, प्रचण्डलाई प्रलोपाको चुनौती

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक लुम्बिनी प्रदेशको रुकुम पूर्व पनि रहेको छ ।

यस क्षेत्रबाट पुर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड को उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

रुकुम पूर्व संसदीय निर्वाचन क्षेत्रमा पुथा उतर गंगा गाउँपालिकाका १४ वडा, भूमे गाउँपालिकाका ९ वडा र सिस्ने गाउँपालिकाका ८ वटा वडा रहेका छन् ।

रुकुम पूर्व बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ३४ हजार ७७२ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ५६ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रुकुम पूर्वबाट तत्कालिन माओवादी केन्द्रका पूर्ण बहादुर घर्ति मगर विजयी भएका थिए । घर्ति मगरले १२ हजार २६२ मत प्राप्त गरेर विजयी भएका थिए । उनलाई नेपाली काँग्रेसले सहयोग गरेको थियो । त्यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका कैलाश कुमार मल्लले ५ हजार २११ मत प्राप्त गरेका थिए ।

त्यसैगरी २०७९ को निर्वाचनमा समानुपातिक तर्फ माओवादी केन्द्रले ८ हजार २७१ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाली काँग्रेसले ५ हजार ६९२ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले ३ हजार ६५९ मत प्राप्त गरेको थियो ।

उम्मेदवार 

यस निर्वाचनमा रुकुम पुर्वमा दल र स्वतन्त्र गरेर ११ उम्मेदवार रहेका छन् । यस क्षेत्रमा नेकपा संयोजक प्रचण्डको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ । सर्लाही, काठमाडौँ, चितवन र गोरखापछि प्रचण्ड रुकुम पूर्वमा उम्मेदवार बनेका छन् । देशभर रास्वपाको लहर देखिएका बेला प्रचण्डले सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्वबाट उम्मेदवार बनेको भन्दै उनको आलोचना समेत भइरहेको छ । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसबाट कुसुम देवी थापा र नेकपा एमालेबाट लिलामणि गौतम उम्मेदवार बनेका छन् । रुकुम पूर्वमा रास्वपाबाट लखन कुमार थापा र प्रलोपाबाट सन्दिप पुन उम्मेदवार बनेका छन् ।

निष्कर्ष

उम्मेदवार दर्ता गर्दा प्रचण्डले चुनाव जित्ने सहज अनुमान भएपनि यस क्षेत्रमा तत्कालिन माओवादी केन्द्र छोडेका हाल प्रगतिशील लोकतान्त्रिक पार्टी नेता जनार्दन शर्माको प्रभावलाई इन्कार गर्न सकिन्न । जनार्दनले प्रचण्डलाई सजिलै चुनाव जित्न नदिने विश्लेषण स्वाभाविक रुपमा भइरहेको छ । अझ जनार्दनले दुवै पूर्व र पश्चिम रुकुममा एमालेसँग सहकार्य गरेर प्रचण्डविरुद्ध मोर्चाबन्दी गरेपछि अझ प्रचण्डको मुश्किल बढ्ने अनुमान गरिएको छ ।

अघिल्लो चुनावमा काँग्रेससहितको मतका कारण १२ हजार मतले माओवादी केन्द्रका पूर्ण बहादुर घर्ति मगर विजयी भएको अवस्था थियो । समानुपातिक मत मात्रको विश्लेषण गर्दा तत्कालिन माओवादी केन्द्रको मत ८ हजारको हाराहारीमा रहेको छ । त्यसमा जनार्दन प्रभावबाट कति घट्छ भन्ने एउटा विश्लेषण रहेको छ । एमालेसँग प्रलोपाको तालमेल हुनु र प्रचण्ड एक्लै चुनाव लड़नुले उनलाई चुनाव जित्न सहज नहुने विश्लेषण गरिएको छ ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #रुकुमपूर्व #चुनावीगणित #प्रचण्ड #राजनीति #समाचार

 

Nepal life insuranceimagesimages