प्रचण्डलाई विप्लवको जवाफः “माओवाद फालिँदैन–विचलनकारी एकताको अपील सुहाउँदैन”

 

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादको पक्षमा आफूहरू सधैँ अडिग रहने स्पष्ट पार्नुभएको छ ।

Nepal life insurance

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै उहाँले विचलनबाट भागेर गरिने एकताको अपील नसुहाउने बताउनुभएको हो । कार्यक्रममा विभिन्न पृष्ठभुमिबाट आएका कार्यकर्ताहरूको एकता घोषणा भएपनि विप्लवको यो सम्बोधनले माओवादी आन्दोलनभित्रको गहिरो ध्रुवीकरण र विचारधाराको शुद्धताको बहसलाई फेरि एकपटक तिखो बनाएको छ ।

उहाँले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर बनाएको पार्टी कमजोर भएको आरोप पनि लगाउनु भयो । यो जवाफले कम्युनिस्ट आन्दोलनका दुई धारबीचको तनावलाई थप उजागर गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालबाट आउनुभएका महेन्द्र पाण्डे लगायतलाई पार्टीमा स्वागत गर्दै विप्लवले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई लक्षित गर्दै आलोचना गर्नुभयो । उहाँले विचलनबाट भागेका नेताहरूलाई फर्किन अपील गर्दै विचारधाराको शुद्धता र सुदृढ एकताको आवश्यकता जोड दिनुभयो ।

नेपालको राजनीति तरंगमयः पार्टी फुट, मिलन र जनताको अलमल

विप्लवले वर्तमान राजनीति “तरंगमय” भएको बताउनु भयो । नयाँ पार्टी जन्मिने, पुराना मर्ने, सत्तासीन वर्ग विभाजित हुने, पुराना नेताहरू बदनाम हुने क्रम चलिरहेको उहाँको भनाइ छ । उहाँकाअनुसार जनतामा अलमल छ—केही नयाँ शक्तितिर, केही क्रान्तिकारीसँग एकतावद्ध हुँदैछन् । कम्युनिस्ट आन्दोलनमा पनि एकता र विभाजनको प्रक्रिया तिब्र छ । “ठूला संकटले सबै क्षेत्रमा प्रभाव पार्छ । सत्तासीन वर्ग पनि ध्रुवीकृत हुन्छन् ।” विप्लवले भन्नुभयो ।

पुराना कम्युनिस्ट पार्टीमा विचलनः सर्वहारा नेता अरबपति बने

विप्लवले पुराना कम्युनिस्ट पार्टीहरू (माओवादी केन्द्रसहित) मा आएको विचलनलाई कटु सत्यका रूपमा प्रश्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो खान–लाउन नपुग्ने सर्वहारा नेताहरू आज अरबपति बनेका छन् । जनताले उनीहरूका घर जलाउने स्थिति आएको छ ।”

उहाँले कम्युनिस्ट पार्टीहरू श्रम, मेहनत र जनतामा आधारित हुने सिद्धान्तबाट विचलित भएको आरोप लगाउनु भयो ।

प्रचण्डलाई प्रत्यक्ष अपीलः “फर्किनुस्, होइन भने विचलन जारी छ”

विप्लवले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाएपनि समाजवादी मोर्चा भन्दा कमजोर रहेको बताउनु भयो । २५ सय– तीन हजार केन्द्रिय सदस्य थुपारेर पार्टी ठूलो बनाउन नसकिने भन्दै यो घुइँचो मात्रै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाए । तर त्यो मोर्चाभन्दा पनि कमजोर छ।  २५ सय–३ हजार केन्द्रीय सदस्य थुपारेर पार्टी ठूलो बनाउन सकिँदैन । यो घुइँचो मात्र हो ।”

माओवादमा फर्किन अपिल

उहाँले होसमा भए माओवादमै फर्किन अपिल पनि गर्नुभयो । जनताको घरमा खाना खाएको याद छ भने माओवादमै फर्किन उहाँको आग्रह छ । माओवाद कसैले फालेर नफालिने उहाँको भनाइ छ । प्रचण्लाई लक्षित गर्दै विप्लवले एकताको अपील विचलनकारीहरूले गर्न नसुहाउने बताउनु भयो ।  सही बाटोमा हिँडेको, अनुशासनमा बसेको पार्टीले एकताको अपिल गर्नुपर्ने बताउनु भयो । विचार–मूल्य–अनुशासनविनाको एकता आन्दोलन विसर्जन गर्ने उहाँको भनाइ छ ।

“माओवादी होसमा छौ भने फर्किनुस् । जनताको घरमा खाना खाएको याद छ भने फर्किनुस्। सहयोद्धालाई दफनाएर हिँडेको भावना छ भने फर्किनुस् । माओवाद तिमीहरूले फालेर फालिँदैन। क्रान्तिकारी आन्दोलनबाट भागेर सिद्धिँदैन।” उहाँले भन्नुभयो । 

पार्टीको लाइनः संसद हतियार मात्र, मुख्य काम जनतामा

विप्लवले पार्टीको तर्फबाट आफ्नो स्पष्ट अडान समेत राख्नुभयो । संसद केवल हतियार रहेको र मुख्य काम पार्टी निर्माण र जनताको बीचमा बस्नु रहेको उहाँको बुझाइ छ ।

“दुई पङ्क्ति समानान्तर चल्छन्—संसदमा गएर लड्ने र जनतामा बसेर काम गर्ने । झाडु लगाउने कार्यकर्तादेखि मन्त्रीसम्म तालमेल मिलाउनुपर्छ,” उहाँले भन्नुभयो । 
एमसीसीविरुद्ध सडकबाट लडे जस्तै, संसद् बिग्रिए पनि सडकबाट देशको ड्युटी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन निष्पक्ष नहुने आशंका राख्दै उहाँले भन्नुभयो, “जनताले बुझे बहुमत ल्याउँछौं । जिते पनि नजिते पनि क्रान्ति सिधिँदैन ।”

क्रान्तिकारी एकताको अपीलः सही केन्द्रमा गोलबन्द हुनुपर्छ

विप्लवले सम्पूर्ण माओवादी तथा क्रान्तिकारी कम्युनिस्टहरूलाई सही केन्द्रमा गोलवद्ध हुन अपिल गर्नुभयो । देशमा सुदृढ एकता आवश्यक रहेकाले विचार, मूल्य, अनुशासनमा उभिएको केन्द्रमा गोलवद्ध हुन आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो, “सुदृढ एकता चाहिन्छ। विचार, मूल्य र अनुशासनमा उभिएको केन्द्रमा गोलबन्द हुनुपर्छ। युवा कार्यकर्ताहरू उत्साहका साथ काम गर्नुहोस्। माओवादी सकिएको होइन भन्ने प्रमाणित गर्नुहोस्।” 

उहाँले माओवाद सकिएको छैन भन्ने प्रमाणित गर्न आग्रह गर्नुभयो ।

#प्रचण्ड #विप्लव #माओवाद #कम्युनिष्टआन्दोलन #राजनीति #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages