प्रचण्डको घोषणापत्रः जनयुद्धको ऐतिहासिक विरासतदेखि समृद्धि र समाजवादको नयाँ मोडेलसम्मको यात्रा

 

काठमाडौँ ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रतिनिधि सभा निर्वाचन (फागुन २१, २०८२) मा पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको छ ।

काठमाडौंमा बसेका पूर्वी रुकुमका कार्यकर्ता, जनसमुदाय, समर्थक तथा विभिन्न पेशा व्यवसायमा संलग्न नेकपा सदस्यहरूसँगको विशेष भेलामा उहाँले गरेको विस्तृत सम्बोधनले यस क्षेत्रलाई जनयुद्धको केन्द्रिय आधार इलाका, गणतन्त्रको घोषणा स्थल तथा क्रान्तिकारी विचारधाराको महत्वपूर्ण केन्द्रको रूपमा स्मरण गर्दै अब यसैबाट समुदायमा आधारित समाजवादको नमूना मोडेल खडा गर्ने ठोस प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यो सम्बोधनले पूर्वी रुकुमलाई विकास, समृद्धि, पहिचान र शहीद सम्मानको नयाँ अध्याय शुरु गर्ने महत्वपूर्ण सन्देश बोकेको छ ।

ऐतिहासिक महत्व र उम्मेदवारीको गहन पृष्ठभूमि

प्रचण्डले पूर्वी रुकुमलाई जनयुद्धको केन्द्रिय आधार इलाका मात्र नभई नेपालको गणतन्त्र स्थापनाको निर्णायक स्थलको रूपमा चित्रण गर्नुभयो । चुनबाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र अपरिहार्य भएको घोषणा भएको उहाँको भनाइ छ । बैठकले महिलाहरू, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू लगायत उत्पीडित समुदायको लागि समावेशी र पहिचानसहितको अधिकार सुनिश्चित गर्ने उद्घोष गरेको थियो। यसैगरी लाबाङ बैठकमा पार्टीभित्र चलेको विचारधारात्मक बहस र सङ्घर्षलाई पनि उनले अविस्मरणीय घटनाको रूपमा उल्लेख गर्नुभयो । विभिन्न निर्वाचन क्षेत्रहरू (रोल्पा, सिराहा, चितवन, गोरखा आदि) बाट निर्वाचित हुँदै तीन पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डले पार्टीको वर्तमान आवश्यकता, राष्ट्रिय राजनीतिक परिस्थिति र पूर्वी रुकुमका नेता, कार्यकर्ता तथा जनताको भावना र चाहनालाई आत्मसात गर्दै यो क्षेत्र रोजेको बताउनु भयो । उहाँले अन्य धेरै जिल्लाबाट सिफारिस आए पनि पूर्वी रुकुमलाई ऐतिहासिक जिम्मेवारी ठानेर आएको स्पष्ट पार्नुभयो ।

जनयुद्धका शहीद, बेपत्ता योद्धा तथा घाइतेहरूको सम्मान र न्याय

प्रचण्डले जनयुद्धका शहीदहरू, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गहरूलाई नयाँ उचाईमा सम्मानित गर्ने उद्देश्य राखेको जोड दिनुभयो । प्रधानमन्त्रीकालमा शहीद घोषणा गर्ने, विधेयक बनाउने काम भए पनि पूर्ण कार्यान्वयन बाँकी रहेको उनको गुनासो छ । अब केन्द्रिय आधार इलाकाबाट नै शहदि परिवारका एक सदस्यलाई राज्यबाट रोजगारी, आर्थिक परिपूर्ण सहयोग, शहीद पार्क निर्माण, प्रतिमा स्थापना जस्ता व्यवस्था कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विकट हुकाम, माइकोट जस्ता ठाउँहरूले युद्धकालमा अविचलित रूपमा साथ दिएको स्मरण गर्दै ती परिवारहरूसँग मिलेर विधेयक कार्यान्वयन गर्ने योजना सुनाउनु भयो ।

विकास र समृद्धिको ठोस तथा बहुआयामिक मोडेल

पूर्वी रुकुमलाई समुदायमा आधारित समाजवादको नमूना जिल्ला बनाउने प्रचण्डको मुख्य सपना छ । यसका लागि उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पहिचानसँग जोडिएका ठूला योजनाहरू प्रस्तुत गरे। कोइलाबासदेखि तिब्बत जोड्ने चुनमाङ–रुकुमकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च प्राथमिकतामा राखेर पूर्णता दिने, मध्यपहाडी लोकमार्गको स्तर उन्नति गरी पूर्व–पश्चिम आवागमन सहज बनाउने, जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सुविधा पु¥याउने सडक सञ्जाल विस्तार गर्ने योजना अघि सार्नुभयो । गुणस्तरीय शिक्षा लागि प्रविधियुक्त विद्यालय, दक्ष शिक्षक र शैक्षिक गुणस्तर सुधार्ने नीतिगत पहल गर्ने बताउनु भयो । स्वास्थ्य क्षेत्रमा २४ घण्टा नै चिकित्सकसहितको आधुनिक जिल्ला अस्पताल विकास गरी सामान्य उपचारका लागि हेलिकप्टर खोज्ने बाध्यताबाट मुक्त गर्ने उद्देश्य उहाँको छ । फलामखानी तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी रुकुमलाई नमूना औद्योगिक जिल्ला बनाउने र रोयल्टीबाट प्राप्त राजस्वले नेपालकै समृद्ध जिल्ला बनाउने विश्वास व्यक्त गर्नुभयो । खाम मगर सभ्यताको आधारमा संविधानअनुसार स्वायत्त क्षेत्र घोषणा गरी पहिचान र अधिकार सुनिश्चित गर्ने, चुनबाङ, लाबाङ जस्ता युद्ध स्थलहरूलाई गोरिल्ला ट्रेल, जनयुद्ध स्मृति संग्रहालय तथा पर्यटकीय गन्तव्य बनाएर रोजगारी सृजना गर्ने योजना पनि समावेश छन् । लुम्बिनी प्रदेशबाट घोषित अर्गानिक जिल्लालाई कानून, नीति, प्रमाणीकरण र बजार सुनिश्चिततासहित कार्यान्वयन गरी उत्पादनलाई प्रिमियम ब्रान्ड बनाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, “रुकुम पूर्वबाट विकासको मोडेल खडा गरेर सिंगो राष्ट्रलाई ‘रुकुम पूर्व हेरौं’ भन्ने बनाउने मेरो सपना छ।”

भ्रष्टाचार विरोधी अभियान, अधुरा सपना पूरा गर्ने र राष्ट्रिय एकता

प्रचण्डले प्रधानमन्त्रीकालमा शुरु गरेका भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक विभेदविरुद्ध सामाजिक न्यायको अभियान तथा आर्थिक विकास र समृद्धिका योजनाहरू अधुरा रहेको बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको सन्तुलित सम्बन्ध र सुशासन मन नपराउने तत्वहरूले सरकारबाट बाहिर जान बाध्य पारेको आरोप लगाउनु भयो । अब यी अधुरा अभियान पूरा गर्न र राष्ट्रलाई एकताबद्ध गरी नयाँ आन्दोलन शुरु गर्न पूर्वी रुकुमबाट नै आधार तयार पार्ने बताउनु भयो । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी बनाई सबै वामपन्थीलाई समेट्ने र चुनाव चिन्ह तारालाई संकल्प, उद्देश्य तथा सपनाको प्रतीक बनाएको उल्लेख गर्नुभयो ।

निर्वाचन परिचालन, संगठनात्मक अपिल र भविष्यको विश्वास

काठमाडौं बस्ने पूर्वी रुकुमका कम्युनिस्टहरू, विभिन्न पेसा व्यवसायमा संलग्न जनसमुदायलाई संगठित रूपमा निर्वाचनमा परिचालन गर्न प्रचण्डले विशेष अपिल गर्नुभयो ।  सोसल मिडियाबाट फैलाइएका भ्रम चिर्ने, सत्य तथ्य जनतासमक्ष पु¥याउने, विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरी जनतालाई उत्प्रेरित गर्ने आग्रह गर्नुभयो । निर्वाचनपछि कम्तीमा हप्ता दिन आठ दिन सबै पालिका तथा सम्भव भए वडाहरूमा पुगेर जनतासँग भेटघाट गर्ने योजना सुनाउनु भयो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएमा नेपाली कम्युनिस्ट पार्टी प्रत्यक्ष र समानुपातिक दुवैमा बलियो मत प्राप्त गरी देशको एक नम्बर पार्टी बन्नसक्ने उहाँको दाबी छ ।

#प्रचण्ड #घोषणापत्र #जनयुद्ध #समृद्धि #समाजवाद #राजनीति #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages