

नेपाली काँग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका लागि मात्रै केही पात्रहरु एक ठाउँमा उभिएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै उक्त टिप्पणी गर्नुभएको हो । उहाँले चुनाव जित्नका लागि मात्र विगतमा दायाँबायाँ फर्किएका पात्रहरु एकै ठाउँमा जम्मा भएको आरोप लगाउनु भयो । उहाँकाअनुसार निर्वाचन जित्नका लागी हिजो दायाँ–बायाँ फर्किएका, काँग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्तिहरू एउटै उद्देश्यका लागि जम्मा हुनु नयाँपन होइन । नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ? उहाँको प्रश्न छ । उहाँले नयाँ भनिएका दलहरुसँग दृष्टिकोण र प्रतिबद्धता नभएको बताउनु भयो ।

सभापति थापाले नयाँ अनुहार हुँदैमा नयाँपन नहुने जिकिर गर्नुभयो । उहाँले यसपटक पुरानो पार्टीलाई भोट नदिने र नयाँलाई दिने भन्यो भने ‘पुरानो र नयाँको परिभाषा के हो ?’ भनेर प्रश्न गर्नुपर्ने बताउनु भयो । समयक्रममा हरेक कुरा नयाँबाट पुरानो हुने उल्लेख गर्नुहुँदै उहाँले नयाँ र पुरानोबीचको वास्तविक भिन्नता विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने बताउनु भयो । उहाँले कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी भएको दाबी गर्नुभयो । महाधिवेशनपछि काँग्रेस बदलिएको र नयाँ ऊर्जासहित अघि बढेकोले आजको दिनमा काँग्रेसभन्दा नयाँ अरु पार्टी नभएको जिकिर गर्नुभयो । उहाँले देश बनाउनका लागि सुझबुझ, धैर्यता र जिम्मेवारीबोध आवश्यक पर्ने बताउनु भयो । काँग्रेससँग मात्रै देश सम्हाल्ने क्षमता रहेको उहाँको दाबी छ । उहाँका अनसार आगो लगाउन सजिलो हुने भएपनि देश बनाउन चेतना, धैर्यता र होसमा भएको शक्ति चाहिन्छ ।
उहाँले भन्नुभयो, ‘यदी तपाईलाई कसैले यो पटक म पुरानो पार्टीलाई भोट दिन्न, म नयाँलाई दिन्छु भन्छ भने तपाई एकछिन् अडिएर उसलाई एउटा प्रश्न सोध्नुहोस् । पुरानो र नयाँको परिभाषा के हो ? प्रत्येक कुरा पहिला नयाँ हुन्छ, समयक्रममा त्यो पुरानो हुन्छ । पुराने र नयाँ बीचको भेद के हो ? तपाईहरु अडिएर त्यहाँ प्रश्न गर्नुपर्छ । यदी नयाँ नै खोजेको हो भने आजको दिनमा फागुन २१ गते चुनावको मैदानमा आउँदै गर्दा नेपालको सबैभन्दा नयाँ पार्टी माघ ६ गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएर आएको पार्टी काँग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी हो । यो भन्दा नयाँ पार्टी कुन चाँही छ अहिले ? नयाँ भनेको अनुहार नयाँ होइन, यो बदलेर आएको पार्टी हो । पार्टीहरु रातारात जम्मा एउटा प्रयोजनको लागी हिजोसम्म दायाँ र बायाँ फर्किएको मान्छे जम्मा एउटा प्रयोजनको लागी एक ठाउँमा आएको छ, त्यो जम्मा एउटा उद्देश्य छ, चुनाव जित्ने हो । त्यही हो नयाँको परिभाषा ? चुनाव जित्नको लागि हिजो काँग्रेस छाडेर आएको मान्छे भए पनि भयो, एमाले छाडेर आएको मान्छे भए पनि भयो, माओवादी छाडेर आएको मान्छे भएपनि भयो । नयाँको परिभाषा के हो ? नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ? चुनाव जित्न त माओवादीले पनि जित्यो नी । नयाँ भएर जित्यो । तर त्यो होईन नी, कमिटमेन्ट के हो ? दृष्टिकोण के हो ? यो प्रश्न घर घर लिएर जानुपर्छ । नयाँ खोजेको हो भने काँग्रेस हो । यो पुरानो काँग्रेस होइन, बदलिएको काँग्रेस हो । तपाईहरुले घरघर गएर बताउनुपर्छ यो काँग्रेसले देश समाल्छ, देश समाल्ने शक्ति चाहिएको छ । आगो लगाउन बडो सजिलो हुन्छ, भाद्र २४ गते लाग्यो त एकै दिनमा । के बाँकी छ, खरानी भएको छ । तर बनाउनलाई सुझबुझ भएको शक्ति चाहिन्छ । बनाउनलाई होसमा भएको शक्ति चाहिन्छ । बनाउनलाई समाल्ने शक्ति चाहिन्छ, धैर्यता चाहिन्छ, चेतना चाहिन्छ । यो काँग्रेससंग त्यो उर्जा पनि छ, काँग्रेससँग आँखामा सपना पनि छ । पेटमा भोक पनि छ, आगो पनि छ । ’
कांग्रेससँग देश बनाउने ऊर्जा, सपना र प्रतिबद्धता रहेको र यही सन्देश घरघरमा पु¥याउन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
#लक्षितथापा #रास्वपा #राजनीतिसमाचार #NepalPolitics #ElectionUpdate #PoliticalComment #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



