

-केशब पन्थी ,अर्घाखाँची डटकम।
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क संगठन कमिटीको आयोजनामा उमेदवारसँग अन्तरक्रिया कार्यक्रम आज शनिबार माघ १७ गते राजधानी काठमाडौंको क्वालिटी ब्याङ्क्वेटमा भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। आसन्न निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमले काठमाडौंमा बसोबास गर्दै आएका अर्घाखाँचीवासी एमाले नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई एकै ठाउँमा एकताबद्ध गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।


कार्यक्रममा एमालेका तर्फबाट अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसाल, एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय तथा जिल्ला तहका नेता बोम बहादुर विकलगायतका नेताहरूले आफ्नो धारणा राखेका थिए। साथै कार्यक्रममा अर्घाखाँची–काठमाडौं सम्पर्क संगठन कमिटीका पदाधिकारी, सदस्यहरू, पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक सत्रमा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालले अर्घाखाँची जिल्लाको समग्र विकास, भौतिक पूर्वाधार, सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, कृषि आधुनिकीकरण तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरे। उनले एमाले नेतृत्वमा भएका विगतका विकास निर्माणका कामहरूको चर्चा गर्दै आगामी दिनमा अझ योजनाबद्ध र दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। साथै काठमाडौंमा रहेका अर्घाखाँचीवासीहरूको सुझाव र साथले आफ्नो अभियानलाई थप ऊर्जा मिलेको उल्लेख गरे।


एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले एमाले जनताको पार्टी भएको उल्लेख गर्दै संगठनलाई बलियो बनाउँदै उम्मेदवारलाई विजयी गराउनु अहिलेको प्रमुख दायित्व भएको बताए। उनले अर्घाखाँची–काठमाडौं सम्पर्क संगठनले पार्टी र जनताबीच पुलको काम गरिरहेको भन्दै यस किसिमका अन्तरक्रिया कार्यक्रमहरूले राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै संगठनात्मक एकता मजबुत बनाउने धारणा राखे।

त्यसैगरी नेता बोम बहादुर विकले पार्टीको वैचारिक स्पष्टता, अनुशासन र एकताको आवश्यकता औंल्याउँदै निर्वाचनको यस महत्वपूर्ण घडीमा सबै नेता–कार्यकर्ताहरू आ–आफ्नो जिम्मेवारीका साथ मैदानमा उत्रिनुपर्ने बताए। उनले अर्घाखाँची जिल्लाको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरे।

कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले उम्मेदवार तथा नेताहरूसँग प्रत्यक्ष प्रश्न–उत्तर गरेका थिए। सहभागीहरूले अर्घाखाँची जिल्लाको विकास, युवाको रोजगारी, वैदेशिक रोजगारबाट फर्किएका युवाको पुनःस्थापना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर, स्थानीय उत्पादनको बजारीकरण लगायतका विषयमा प्रश्न उठाएका थिए। सो क्रममा वक्ताहरूले उठाइएका प्रश्न र सुझावलाई आगामी कार्ययोजना तथा घोषणापत्रमा समेटिने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले अर्घाखाँची–काठमाडौं सम्पर्क संगठनको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै काठमाडौंमा रहेका अर्घाखाँचीवासी एमाले कार्यकर्ताहरूले जिल्लाको राजनीति, विकास र संगठन निर्माणमा खेलेको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन सम्पर्क संगठनले अझ सक्रिय र सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले एमालेका उम्मेदवारलाई भारी मतले विजयी गराउने सामूहिक प्रतिबद्धता जनाएका थिए। सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण, उत्साहपूर्ण र राजनीतिक रूपमा अर्थपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क संगठन कमिटीले जनाएको छ।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले पार्टी संगठनलाई थप मजबुत बनाउने, उम्मेदवार र मतदाताबीच प्रत्यक्ष संवाद स्थापित गर्ने तथा आगामी निर्वाचनमा सकारात्मक परिणाम हासिल गर्ने विश्वास लिइएको छ।
#नेकपाएमाले #अर्घाखाँचीकाठमाडौंसम्पर्कसंगठन #अन्तरक्रियाकार्यक्रम #राजनीतिसमाचार #NepalPolitics #ElectionUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



