चर्चित निर्वाचन क्षेत्र: रुपन्देही-२ को चुनावी गणित, विष्णु पौडेलको विरासत भत्काउने दाउमा काँग्रेस-रास्वपा

 

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक रुपन्देही-२ पनि रहेको छ । रुपन्देही- २ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका उम्मेदवार भएका कारण चर्चामा रहेको छ ।

Nepal life insurance

रुपन्देही क्षेत्र नम्बर २ मा सैनामैना नगरपालिकाको १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ नम्बर वडा र बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडासम्म समेटिएको छ ।

निर्वाचन आयोगका अनुसार रुपन्देही-२ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ३५ हजार ५० जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १३८ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 

२०७९ को आम निर्वाचनमा रुपन्देही-२ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी भएका थिए । पौडेलले २७ हजार १६५ मत प्राप्त गरेर विजयी भएका थिए । दोस्रो भएका स्वतन्त्र उम्मेदवारले यस क्षेत्रमा २५ हजार ७९५ मत प्रप्त गरेका थिए । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा मगरले २२ हजार २७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी २०७९ को निर्वाचनमा समानुपातिकतर्फ रुपन्देही- २ मा रास्वपाले सर्बाधिक २५ हजार ६७३ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले २१ हजार १८३ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १३ हजार ४५० मत पाएको थियो । त्यसैगरी राप्रपाले ५ हजार ६०० मत प्राप्त गरेको थियो भने राष्ट्रिय जनमुक्ति पार्टीले ४ हजार १९७ मत पाएको थियो । त्यस्तै तत्कालिन माओवादी केन्द्रले ३ हजार ४२९ मत पाएको थियो ।

उम्मेदवार- २०८२ 

यस निर्वाचनमा रुपन्देही-२ मा दल र स्वतन्त्र गरि कुल ३९ उम्मेदवार रहेका छन् ।  जस अनुसार एमालेबाट उपाध्यक्ष विष्णु पौडेल पुन: उम्मेदवार बनेका छन् । उनी शुरुमा पाल्पाबाट उम्मेदवार बन्ने निर्णय भएपनि कार्यकर्ताको विरोध र आलोचना पछि पुन: रुपन्देही फर्किएका थिए । गत निर्वाचनमा १३७० मत अन्तरले जितेका पौडेलले यस पटक चुनाव हार्ने डरले नै पाल्पा जान खोजेको विश्लेषण धेरैले गरिरहेका छन् ।

यस पटक नेपाली काँग्रेसले उद्योपति चुन्नप्रसाद पौडेललाई यस क्षेत्रबाट उम्मेदवार बनाएको छ भने रास्वपाबाट अधिवक्ता सुलभ खरेल उम्मेदवार बनेका छन् । त्यस्तै नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रबाट डा. निकोलस भुसाल पनि उम्मेदवार रहेका छन् । नेपाल जनसेवा पार्टीबाट सेतो र कालो रङको जुत्ता चुनाव चिन्ह लिएर भुसाल उम्मेदवार बनेका हुन् ।

निष्कर्ष: 

रुपन्देही-२ मा अघिल्लो निर्वाचन र अहिलेको निर्वाचनको अवस्था फरक रहेको छ । अघिल्लो चुनावमा यस क्षेत्रमा काँग्रेस-माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट संयुक्त उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धन उम्मेदवार विहिन बनेको थियो । त्यसपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशब बहादुर थापा मगरलाई समर्थन गरेका थिए । क्षेत्रमा एमालेकै हाराहारीमा मत रहेको काँग्रेस, त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादी उम्मेदवार विहिन बनेपछि यस क्षेत्रका धेरै मतदाताले स्वतन्त्र उम्मेदवार गणेश पौडेललाई समर्थन गरेका थिए ।

अब यस पटक भने सबै प्रमुख दलका आ-आफ्ना उम्मेदवार रहेका छन् । र सबै दलको असली परीक्षा यस पटक हुने देखिएको छ । अघिल्लो निर्वाचनमा भन्दा यस पटक रास्वपा नयाँ लहरका साथ आएको छ । त्यसकारण पनि रास्वपाको चुनाव जित्ने दाबी आफैमा बलियो छ । त्यस्तै काँग्रेस पनि आफुलाई बदलेर आएको दाबि गरिरहेको छ । काँग्रेसका यस क्षेत्रका उम्मेदवार चुन्न प्रसाद पौडेलको पार्टीका साथै व्यक्तिगत प्रभावका कारण पनि उनलाई नजर अन्दाज गर्ने अवस्था छैन ।

त्यस्तै विष्णु पौडेलले तुलनात्मक रुपमा अहिले विपक्षी अलग अलग भएर आएकाले आफ्ना मत जोगाउन सकेमा मात्र पनि जित्ने भरोसामा रहेका छन् । एमालेप्रति आम रुपमा देखिएको असन्तुष्टि, एमालेभित्र पौडेलको महासचिव शंकर पोखरेलसँगको अन्तरिक संघर्ष जस्ता विषयले पौडेललाई अप्ठ्यारो पार्न सक्ने विश्लेषण गरिएको छ ।

त्यसैगरी नेकपाबाट उम्मेदवार बनेका विश्वदीप पाण्डे नयाँ उम्मेदवार बनाएको छ । लामो समय बाबुराम भट्टराईसँग रहेका पाण्डे पुन तत्कालिन माओवादी केन्द्रमा प्रचन्डसँग फर्किएर अहिले उम्मेदवार बनेका छन् । तुलनात्मकरुपमा नेकपाको जनाधार कम रहेको र एक्लै चुनावमा लडेका कारण उनले अन्य उम्मेदवारलाई कतिको चुनौती दिन सक्छन् त्यो हेर्न बाँकी नै छ । त्यस्तै यस क्षेत्रमा डा. निकोलस भुसाल पनि उम्मेदवार रहेका छन् ।

अहिलेसम्मको चुनावी वातावरण हेर्दा यस क्षेत्रमा एमाले, काँग्रेस र रास्वपाबीच त्रिपक्षिय प्रतिष्पर्धा हुने देखिन्छ । तिनै दलका उम्मेदवारको आ-आफ्नै राम्रो पक्ष रहेकाले कसले बाजी मार्छ भन्ने अवस्था रहेको देखिदैन । समग्रमा यो चुनाव यस क्षेत्रमा विष्णु पौडेलले आफ्नो मत जोगाउने र काँग्रेस-रास्वपाले यस क्षेत्रमा आफ्नो झण्डा गाड्ने संघर्ष हुने देखिएको छ ।

 

#रुपन्देही२ #निर्वाचन२०८२ #चुनावीगणित #BishnuPaudel #NepalPolitics #CongressRastriyaSwatantra #PoliticalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु