मतदाताले घोषणापत्रका आधारमा उम्मेदवारको छनोट गर्नुपर्छः महामन्त्री पौडेल

 

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमा आवधिक निर्वाचन घोषणापत्र–केन्द्रित प्रतिष्पर्धात्मक प्रणालीमा हुनुपर्ने बताउनुभएको छ ।

आईतवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा हालसम्म घोषणापत्रको आधारमा निर्वाचन केन्द्रित हुन नसकेको बताउनु भयो । उहाँले नेपालको राजनीतिक दल र मतदाता दुबैले घोषणापत्रको आधारमा उम्मेद्वार छनौट गर्ने प्रणालीको विकास नै गर्न नसकेको उहाँको भनाई छ । महामन्त्री पौडेलले व्यक्तिको अनुहार, पद वा हैसियतका आधारमा उम्मेदवार छनोट गर्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो ।

उहाँकाअनुसार उम्मेदवारको छनोट वा मतदान घोषणापत्रका आधारमा हुनुपर्छ । उहाँले नीति–केन्द्रित प्रतिनिधि छनोटका लागि मतदाता पनि सचेत हुन आवश्यक रहेको बताउनु भयो । राजनीतिक दलहरूले पनि त्यसैअनुसार आफ्ना कार्यक्रम र प्रतिष्पर्धालाई केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महामन्त्री पौडेलले राजनीतिक दलहरूबीचको प्रतिष्पर्धा एक–अर्कालाई गाली गरेर नभई ठोस मुद्दा र कार्यक्रम प्रश्तुत गरेर हुनुपर्ने उल्लेख गर्नुभयो । मर्यादित र मुद्दा–आधारित प्रतिष्पर्धात्मक प्रणाली विकास गरेमा मतदाताले कार्यक्रमकै आधारमा मतदान गर्ने उहाँको विश्वास छ । उहाँकाअनुसार नागरिकले नेतृत्वबाट खोजिरहेको मुख्य कुरा स्पष्ट आर्थिक अवधारणा र दृष्टिकोण हो । उहाँले वर्तमान राजनीतिको मुख्य एजेण्डा आर्थिक क्षमता वृद्धि रहेको पनि बताउनु भयो । उहाँले आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयास भइरहेपनि अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक विषय, आर्थिक क्षमता वृद्धि गर्ने विषय नै आजको हाम्रो राजनीतिको प्रदान विषय हो । अब हामीले प्रतिष्पर्धा गर्ने एक अर्कालाई गाली गरेर होइन । राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिष्पर्धा गर्ने कुरा चाहीँ उपयुक्त हो । त्यसैले यो मर्यादित प्रतिष्पर्धालाई स्थापित गर्नको निम्ति मुद्दामा आधारित भएर प्रतिष्पर्धात्मक प्रणालीलाई विकास गर्नुपर्छ । मेरो कार्यक्रम भन्दा अरु कसैको कार्यक्रम राम्रो भयो भने आम नागरिक मतदाता विवेकी हुनुहुन्छ, उहाँहरुले कार्यक्रमका आधारमा मतदान गर्ने हो । त्यसैले आज नागरिकलाई चाहिएको कुरा नै नेतृत्वको आर्थिक अवधारणा हो, आर्थिक दृष्टिकोण हो । आर्थिक दृष्टिकोण नयाँ बनाउने प्रयत्न नभएको होइन, तर सफलता हासिल भइरहेको छैन । अब खासगरि निर्वाचनहरुमा दलहरुले प्रतिष्पर्धा गर्ने घोषणापत्रको आधारमा हो, त्यो अभ्यासलाई हामीले गम्भिर ढंगबाट विकसित गर्न सकिरहेका छैनौँ । घोषणापत्र केन्द्रित प्रतिष्पर्धात्मक प्रणालीलाई विकास गर्न सकिरहेका छैनौँ । वास्तवमा लोकतन्त्रमा यो आवधिक निर्वाचनहरु घोषणापत्र केन्द्रित प्रतिष्पर्धात्मक प्रणाली अगाडी बढाइनुपर्छ । व्यक्तिको अनुहार कस्तो छ ? त्यसको उचाई कत्रो छ ? त्यो कुन पदमा थियो, छ भन्ने आधारमा उम्मेद्वार छनौट गर्ने होइन । उसले ल्याएको घोषणपत्रको आधारमा उम्मेद्वार छनौट गर्ने अथवा मतदान गर्ने हो भन्ने मलाई लाग्छ । त्यसैले नितिकेन्द्रित प्रतिनिधिको छनौटलाई हामीले विकसित गर्नको निम्ति अब मतदाताहरु नि त्यतिकै सचेत हुनुपर्छ । राजनितिक दलले पनि त्यतैतिर केन्द्रित गरेर मात्रै आफूलाई प्रतिष्पर्धामा उतार्नुपर्छ । यो पक्षमा हाम्रो एकदमै कमजोरी भइरहेको स्थिति छ । हामीले जुन ढंगबाट यो विषयलाई विकसित गर्नुपर्ने थियो त्यो ढंगबाट गर्न सकेनौँ । त्यसकारण हाम्रो लोकतन्त्रभित्र धेरै गुनासाहरु छन् ।’ 

उहाँले राजनितिक दलहरुको कार्यन्वयनमुखी घोषणा पत्र बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसले गर्नसक्ने कामहरुलाई मात्रै समावेश गरेर घोषणापत्र तयार गर्न लागेको जानकारी दिनुभयो । सुशासन, रोजगारी र आर्थिक विकास काँग्रेसको मुख्य एजेण्डा हुने उहाँको भनाई छ ।

 

Nepal life insuranceimagesimages